arrow

यसरी अन्तिम समयमा भयो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
maobadi-kendra-8th.jpg

काठमाडौं । ३२ वर्षदेखि माओवादीको नेतृत्व गर्दै आएका पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने गरी शुरुबाटै राष्ट्रिय सम्मेलन गर्ने बताएका थिए । माओवादी केन्द्रका भदौ यताका हरेक बैठक र कमिटीहरुले राष्ट्रिय सम्मेलनकै रुपमा तयारी गर्दै आएका थिए । तर उद्घाटनको एक दिनअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको नेकपा माओवादीले महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गर्यो । पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेपछि नेता, कार्यकर्ता सबै अन्येलमा परे । 

२०६९ माघमा हेटौंडामा सातौं महाधिवेशन गरेको माओवादीले नेतृत्व छान्न सकेको थिएन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संस्थापन र बाबुराम भट्टराई पक्षबीच सहमति जुट्न नसकेपछि अध्यक्षमा प्रचण्डलाई पुनः निर्वाचित गरेर फर्केको थियो । अर्को वर्ष विराटनगरमा राष्ट्रिय सम्मेलन गर्दै पदाधिकारी छानेको थियो । त्यतिबेला पनि माओवादीमा लफडा भएको भए पनि विराटनगरको राष्ट्रिय सम्मेलनले बहुपद सिर्जना गर्यो । 

त्यसपछि मोहन वैद्य ‘किरण’ र रामबहादुर थापा बादलहरु अलग भएकाले २०७० सालको निर्वाचनमा माओवादीका लागि निकै चुनौती बन्यो । २०७४ को निर्वाचनको ठीक अघि रामबहादुर थापाको नेतृत्वको मोहन वैद्यसँग अलग्गिएको समूह, मातृका यादव र मणि थापासहितको समूहसँग एकीकरण गरेर नेकपा (माओवादी केन्द्र) बन्यो ।  एमालेसँग एकीकरणको शून्य अवधि गणना गरेर यसै वर्ष नेतृत्व छनोटका लागि महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्नुपर्ने बाध्यतामा थियो । 

वैचारिक र तयारीको विषयमा समय पर्याप्त नभएको भन्दै माओवादीले महाधिवेशन नभई राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनले पनि राजनीतिक दलहरुलाई ५ वर्षमा महाधिवेशन वा राष्ट्रिय सम्मेलनबाट नेतृत्वको निर्वाचन हुनुपर्ने व्यवस्था गरेपछि माओवादीले यसलाई राष्ट्रिय सम्मेलनको नाम दिने र पछि महाधिवेशन गर्ने जनाएको थियो । यसअघि २०६९ माघमा हेटौंडामा भएको महाधिवेशनलाई माओवादी केन्द्रको सातौं महाधिवेशन मानिएको छ । 

माओवादीले दुई वटा महाधिवेशनको बीचमा राष्ट्रिय सम्मेलन गर्ने अभ्यास गर्दै आएको छ । वडा, पालिका हुँदै प्रदेशस्तरमा समेत कतिपय ठाउँमा चुनावै भएर प्रतिनिधिहरु राष्ट्रिय सम्मेलनका लागि तयार भएर आएका थिए । माओवादी नेतृत्वले आगामी वर्ष निर्वाचनको वर्ष भएको र त्यस कारणले अहिले नै महाधिवेशनका लागि जुन उपयुक्त समय भएको निष्कर्ष निकालेपछि प्रतिनिधि छनोट र वैचारिक विषयमा समेत छलफल गर्ने गरी महाधिवेशन गर्न  पुगेको हो । स्थायी समितिको बैठकअघि माओवादीका नेताहरुले निर्वाचन आयोगसँग परामर्श गरेका थिए । पूर्वमहान्यायाधीवक्ता मुक्ति प्रधानसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । 

निर्वाचन आयोगले पनि राष्ट्रिय सम्मेलनलाई महाधिवेशनको रुपमा लिनेसक्ने भनेर ग्रिन सिग्नल दिएपछि माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणाम गरेको स्रोतले जनायो । ‘शुरुदेखि नै महाधिवेशन भनेको भए अर्कै माहोल हुन्थ्यो र यसमा अलिकति रणनीतिक रुपमा पनि परिवर्तन भएको हो । महाधिवेशनमा विचारदेखि नेतृत्वसम्मको विषयमा चुनौती पनि आउसक्ने संभावना हुन्थ्यो । अन्तिम समयमा रुपान्तरण गर्दा कसैले केही भन्ने अवसर नै नपाउने भए,’ एक नेताले भने । 

महाधिवेशन सबैभन्दा माथिल्लो तहको केन्द्रीकरण हो । त्यस अन्तर्गतको राष्ट्रिय सम्मेलन हो । महाधिवेशनको आयतन, छलफल र बहसको प्रक्रिया नै फरक हुन्छ । कसैले भनिदिएर उत्तिनै खेर सम्मेलन महाधिवेशनमा परिणत भइहाल्ने भन्ने हुँदैन भन्दै केही असन्तुष्टि समेत जाहेर भएपनि नेतृत्वले त्यसलाई बेवास्ता गर्यो  । 

हतारमा निम्तो 
नेकपा माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटीको बैठकले राष्ट्रिय सम्मेलनलाई राष्ट्रिय महाधिवेशनमा परिवर्तन गरेपछि शुभकामना मन्तब्यका लागि सबै राजनीतिक दललाई निम्ता पठाएको छ । राष्ट्रिय सम्मेलन भएकाले कोही कसैलाई पनि निम्ता नगर्ने, भीडभाड नगर्ने भनेको माओवादी केन्द्रले महाधिवेशनमा परिणत गरेपछि सबै दललाई निम्ता गरेको हो ।  

यसअघि एमालेलाई बोलाउनु पर्ने र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई निम्ता गर्नुपर्ने भएपछि राष्ट्रिय सम्मेलनमा कोही कसैलाई पनि निम्ता नगर्ने मुडमा पुगेको माओवादीले अचानक महाधिवेशनमा परिणत गर्ने भएपछि सबै दललाई निम्ता पठाएको हो । ‘निम्ताको विषयमा जानकारी छैन निम्ता आएको भए अध्यक्ष आफै जानुपर्छ भन्ने पनि छैन’, ओलीको नीजि सचिवालय स्रोतले भन्यो । तर अध्यक्ष प्रचण्डले ओलीलाई फोन गरेर निम्ता गरेका थिए । जवाफमा आफू नआए अरु कोही आउने जानकारी दिएका थिए । 

आज दिउँसो  काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आठौं महाधिवेशन उद्घाटन समारोहमा आतिथ्यका लागि माओवादी केन्द्रले ११ राजनीतक दललाई निमन्त्रणा गरेको हो ।  माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत ११ पार्टीलाई निमन्त्रणा गरिएको हो । 

‘पहिला कसैलाई पनि निमन्त्रणा नगर्ने भनिएको थियो तर महाधिवेशन हुने भएपछि सबै दललाई निमन्त्रणा गरिएको हो’, ढकालले भने । एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीसँग दूरी बढ्दै गएपछि प्रचण्डले कुनै पनि दललाई निम्ता नगर्ने नीति लिएका थिए । तर संसदमा एमालेले लगातार अवरोध गरेका कारण उसलाई फकाउनु पर्ने बाध्यता रहेका कारण पनि सत्तारुढ दलका नेताहरुसँगै ओलीलाई पनि निम्ता दिइएको हो । 

यसअघि गत मंसिरमा नेकपा एमालेले आफ्नो १०औं महाधिवेशनमा नेकपा माओवादी केन्द्रलाई बोलाए पनि अध्यक्ष प्रचण्ड गएनन्, नेता लीलामणि पोखरेललाई पठाएका थिए । पोखरेलले चितवनमा छोटो मन्तब्य राखेर फर्केका थिए । नेपाली कांग्रेसको महाधिवेशनमा ओली र प्रचण्डबीच सामान्य बोलचालसमेत भएन । तर प्रचण्डले ओलीको नमस्ते फर्काएनन् । अब अहिले माओवादी केन्द्रको महाधिवेशन उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली जान्छन् कि जाँदैन भन्ने कौतुहलता उत्पन्न भएको छ । हिजो मात्रै प्रचण्डले गरेको पत्रकार सम्मेलनमा ओली र एमालेलाई गाली गर्न भ्याएका थिए । 

सरकारको नेतृत्वमा रहँदा दुईपटकसम्म संसद् विघटन गरेको एमाले अहिले प्रमुख प्रतिपक्षीका रुपमा फेरि पनि संसद् विघटनको खेलमा लागेको आरोप दाहालले लगाएका थिए । ‘तर हामी त्यो प्रयास सफल हुन दिँदैनौं’, प्रचण्डले भने, ‘हामी कुनै पनि हालतमा संसद् विघटन हुन दिँदैनौं’, उनले भनेका थिए ।  अहिलेको राजनीतिक संघर्ष जटिल र चुनौतीपूर्ण रहेको बताउदै प्रचण्डले यसको जड ओली नै भएको आरोप लगाएका थिए । 

पदाधिकारी चयनमा अवरोध आउने संकेत 
नेकपा माओवादी केन्द्रले महाधिवेशनबाट अध्यक्ष बाहेकका पदाधिकारीमा ढिलाई गर्ने संकेत दिएको छ ।राष्ट्रिय सम्मेलन आयोजना गर्ने भनेको माओवादी केन्द्रले उद्घाटन हुनुभन्दा एक दिन अघि सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको र तयारी नपुगेको भन्दै अध्यक्षमात्रै चयन गरेर अन्य पदाधिकारीहरु केन्द्रीय समितिबाट चयन गर्ने स्रोतले दाबी गरेको छ । 

तर नेताहरुले सबै पदाधिकारीहरु महाधिवेशनको हलबाटै गर्नुपर्ने जनाएका छन् । महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समितिमात्र चयन गर्ने र अन्य पदाधिकारी पछि चयन गर्ने सम्भावना स्रोतको दाबी छ ।  अध्यक्ष प्रचण्डले तत्काल पदाधिकारीलाई पूर्णता दिन अनिच्छा व्यक्त गरिहरेका छन् । 

महाधिवेशन नेतृत्व चयन भन्दा पनि विचारको बहसमा केन्द्रीत गर्नुपर्ने प्रचण्डको भनाइ छ । उनले महाधिवेशनमा पेस गर्ने प्रस्तावसमेत स्थायी कमिटीमा पेस गरेका थिए । बहस र छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको माओवादीले जनाएको छ । 

केहीलाई हलमा र केहीलाई टेन्टमा बहसको व्यवस्था गरिएको छ भने ८–९ वटा छलफल पार्टी कार्यालय पेरिसडाँडामा गर्ने तयारी गरेको छ । पदाधिकारीमा नेताहरु आकांक्षी बढी हुँदा त्यसको व्यवस्थापनमा प्रचण्डलाइ चुनौती बढेपछि तत्कालै पदाधिकारी चयन नहुने गरी महाधिवेशन गर्न लागिएको हो ।   

तत्कालका लागि अध्यक्ष र केन्द्रीय समिति मात्र चयन गर्ने र अन्य पदाधिकारी पछि घोषणा गर्ने तयारी गरेका भएको छ । यसअघि २०६९ माघमा मकवानपुर जिल्लाको हेटौंडामा आयोजना गरिएको सातौं महाधिवेशनको मोडेलमा नेतृत्व चयन गर्ने तयारी प्रचण्डले गरेका छन् । 

प्रचण्डलाई चुनौती दिने नेतृत्व माओवादीमा तयार नभएकाले उनले चाहे अनुरुप पदाधिकारी चयन गर्ने दाबी गरिएको छ । यसअघि एमालेमा पनि केपी शर्मा ओलीले चाहेकै पदाधिकारीहरु नेतृत्वमा आएका थिए । महाधिवेशनमा नियमित प्रक्रियाबाट कूल एक हजार ४८३ जना प्रतिनिधि चयन भएका छन् । 

त्यसको कूल १० प्रतिशत मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको थियो ।



नयाँ