विधानको वाध्यतामा देउवा, केन्द्रीय समितिमा १४ महिला थप्नै पर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
838
Shares
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय समितिमा १३४ जना अनुहार निर्वाचित भइसकेका छन् । सो संख्यामा महिलाको प्रतिनिधित्व ४१ छ। कांग्रेस विधानमा केन्द्रीय समिति १६७ सदस्यीय हुने उल्लेख छ। विधानको व्यवस्था अनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनैपर्छ।
कांग्रेस विधानको व्यवस्थालाई हेर्ने हो भने महिलाको प्रतिनिधित्व पुर्याउन केन्द्रीय समितिमा ५५ जना पुग्नु पर्छ। यो भनेको अहिले भएको संख्या हेर्दा १४ जना कम हो। यो संख्या थप भए कांग्रेस केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत पुग्छ।
विधान अनुसार निर्वाचित सभापतिले ३३ जना मनोनित गर्न पाउँछन् । यो सुविधा प्रयोग गर्दा अब सभापतिले १४ जना महिलालाई केन्द्रीय समितिमा ल्याउनै पर्छ।
कांग्रेस केन्द्रीय समितिमा पहिलो पटक निर्वाचित नानु बास्तोला कांग्रेसको विधानलाई पहिलो पटक नै समावेशी सिद्धान्त अनुरुप संविधानको परिधि भित्रबाट लागू गर्ने सभापति शेरबहादुर देउवाले विधानको व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गर्छिन् ।
‘शेरबहादुर देउवाले संविधानको परिधि भित्रबाट विधानमा समावेशी सिद्धान्तको व्यवस्था सुनिश्चित गराएरै महाधिवेशनमा सोही अनुसार नेतृत्व चयन भएको छ, अब पनि विधानको व्यवस्थालाई उहाँबाट कार्यान्वयन हुनेमा कुनै शंका छैन, सभापति यसमा चुक्नुहुन्न र हुँदैन,’ नवनिर्वाचित केन्द्रीय सदस्य बास्तोलाले हाम्राकुरासँग भनिन् ।
कांग्रेसले यसै पटकदेखि विधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्दै पदाधिकारीमा सहमहामन्त्रीतर्फ महिलालाई समावेश गराएको छ। कांग्रेसको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डीना निर्वाचित भइसकेकी छन् ।
यसैगरी ९ जना खुलातर्फ केन्द्रीय सदस्यको व्यवस्था भइसकेको छ भने सातै प्रदेशबाट एक एक जना गरी ७ जना महिलाको केन्द्रीय समितिमा प्रतिनिधित्व भएको छ।
यसैगरी दलिततर्फ ४, आदीवासी जनजातितर्फ ७, खसआर्यतर्फ ६, मधेसीतर्फ ४, थारुतर्फ २, मुस्लिमतर्फ १ जना महिलाको केन्द्रीय समितिमा प्रतिनिधित्व निर्वाचनमार्फत भइसकेको हो।
सभापति देउवाले कोषाध्यक्षमासमेत निर्वाचित केन्द्रीय सदस्य मध्येबाटै एक जनालाई मनोनित गर्न सक्ने छन् । सो पदमासमेत यसअघिको कार्यसमितिमा महिलाकै प्रतिनिधित्व रहेकाले फेरि पनि सो जिम्मेवारी महिलालाई नै दिन देउवामाथि दबाब छ।