arrow

अलमलमा देउवा : केन्द्रीय सदस्यमा पराजितलाई ल्याउन विधान संशोधन गर्ने कि सीधै मनोनित गर्ने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
congress-party-office.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनले केन्द्रीय कार्यसमितिका लागि एक सय ३४ जनालाई निर्वाचित गरेको छ । कांग्रेस विधानअनुसार केन्द्रीय समिति १६७ सदस्यीय हुन्छ । सभापति शेरबहादुर देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउँछन् । उनलाई विधानले नै त्यो अधिकार दिएको छ । 

तर महाधिवेशन अन्तर्गतको निर्वाचनमा चुनाव हारेका नेतालाई केन्द्रीय सदस्य बनाउन मिल्ने कि नमिल्ने विधानमा केही उल्लेख छैन । सोही कारण देउवाले गत १० पुसमा बसेको पहिलो बैठकमा केही नेतालाई केन्द्रीय सदस्य बनाउने तयारी गरे पनि सकेनन् । उनले पराजित उम्मेदवारलाई मनोनित गर्न विधानले केही असर गर्छ कि गर्दैन भनेर आफू निकट कानून व्यवसायीहरुसँग पनि राय लिएका छन् ।

सभापति देउवा निकट नेता मीन विश्वकर्मा पदाधिकारीमा चुनाव लडेका र केन्द्रीय समितिमा आवश्यक महसुस भएका नेताहरुलाई सभापतिले मनोनित गरेर ल्याउने बताउँछन् । ‘विधानमा चुनाव हारेकालाई ल्याउन मिल्ने नमिल्ने केही उल्लेख छैन, ल्याउनै पर्नेलाई सभापतिले समेट्नु हुन्छ, सबै चुनाव हारेका नेताहरु नअट्न पनि सक्नुहुन्छ, ल्याउनै पर्ने नेताहरु आउनुहुन्छ’, विश्वकर्माले हाम्राकुरासँग भने ।

तर सभापतिमा दोस्रो स्थानमा परेका डा. शेखर कोइरालालाई भने विधानले नै स्वतः केन्द्रीय सदस्य बनाउँछ । उनलाई देउवाले मनोनित गरिरहनु पर्दैन । अन्य चुनाव हारेका नेताहरुलाई भने कसरी केन्द्रीय समितिमा ल्याउने भन्नेमा देउवा अलमलमा छन् ।

देउवालाई पहिलो चरणमा सभापतिमा हारेर दोस्रो चरणमा आफूलाई सघाएका प्रकाशमान सिंह, विमलेन्द्र निधीलाई केन्द्रीय सदस्य बनाउनै पर्ने बाध्यता छ । यसैगरी आफ्नै टिमबाट उपसभापतिमा चुनाव हारेका विजयकुमार गच्छदार, महामन्त्रीमा हारेका डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई पनि केन्द्रीय सदस्य बनाउनु पर्नेछ ।

पौडेल र सिटौला पहिलो रोजाइ
सभापति देउवाले नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई केन्द्रीय सदस्यमा केही दिन भित्रै ल्याउने तयारी गरेका छन् । पौडेल सभापतिको रेसबाट बाहिरै बसेकाले समेत देउवाले उनलाई केन्द्रीय सदस्यमा समेट्नै पर्ने नैतिक वाध्यता छ । 

पछिल्लो समय उनी निष्क्रिय जस्तै छन् । तर उनले आफू राजनीतिबाट अलग नहुने बताउँदै आइरहेका छन् । सिटौलाले भने देउवालाई १४ औं महाधिवेशनमा खुलेरै सहयोग गरेका कारण सिटौलासँगको सम्बन्धलाई सुमधुर बनाउने देउवाको इच्छा छ । पौडेल र सिटौला दुवै नेतालाई केन्द्रीय सदस्य बनाउन देउवालाई कुनै समस्यासमेत छैन । 

वाध्यता ३३ प्रतिशत महिला
कांग्रेस विधान अनुसार केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुग्नै पर्छ। हाल केन्द्रीय समितिमा निर्वाचित १३४ मध्ये ४१ जना महिला छन् । ३३ प्रतिशत पुर्याउन अब १४ जना मनोनित गर्नैपर्छ । महिला पनि हुने र समेटेको जस्तो पनि हुने भएसँगै उपसभापतिकी उम्मेदवार सुजाता कोइरालाको पनि सम्भावना देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ