arrow

बाँके कांग्रेसमा रस्साकस्सीः सभापतिमा सात भाइ प्रत्यासी 

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ पुष १४ बुधबार
banke-congress-adhiveshan-221.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन यही पुस २७ गते हुँदैछ । जिल्ला अधिवेशन तोकिएपछि बाँकेमा कांग्रेसको आन्तरिक माहोल फेरि गर्माएको छ । प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको धपेडीले केही शिथिल भएका नेता कार्यकर्ता फेरि जुर्मुराएका छन् । सोमबार साँझ केन्द्रीय निर्वाचन समितिले अधिवेशनको मिति तोकेपछि नेताहरुको छलफल, भेटघाट र अन्तरक्रिया बाक्लिन थालेको छ । 

आफ्नो पक्षमा माहोल बनाउन उम्मेदवारहरुको दौडधुप शुरु हुनेछ । यद्यपि अनौपचारिक रुपमा भेटघाट र छलफल भइरहेकै छन् । यसअघि मंसिर १४ गतेका लागि तोकिएको जिल्ला अधिवेशन प्रदेश अधिवेशनसंग जुध्ने अवस्था आएपछि स्थगित गरिएको थियो । उम्मेदवारी मनोनयनपत्र वितरण भइसकेको अवस्थामा अन्तिम समयमा आएर हठात् अधिवेशन रोकिएको थियो ।

बाँके कांग्रेसको नेतृत्वमा ७ जना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । जिल्ला पार्टी सभापतिका लागि लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, वर्तमान उपसभापति सुनिलनरसिंह राणा, संविधानसभा सदस्य बादशाह कुर्मी, नेताहरु राजकुमार बर्मा, निरन्जनसिंह सिजापति, नारायण गौडेल र लक्ष्मीनारायण शाहले उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

सातै जना नेताले आफूहरु सभापतिको उम्मेदवार भएको बताए । उनीहरुको एउटै स्वर छ ‘म कुनै पनि हालतमा ब्याक हुन्नँ ।’

यी मध्ये सिजापति, गौडेल र शाह १३ औं महाधिवेशनमा पनि सभापतिमा चुनाव लडेका थिए । पहिलो चरणमा दोस्रो बनेका सिजापति दोस्रो चरणमा भने अहिलेकी पार्टी सभापति किरण कोइरालासँग पराजित भएका थिए । 

बर्मा १२ औं अधिवेशनमा पूर्व सभापति स्वर्गीय डा. अरुण कोइरालासँग चुनाव लडेका थिए । हमाल, राणा र कुर्मी पहिलोपटक सभापतिमा भिड्न लागेका हुन् । यी सात आकांक्षीमध्ये गौडेल बाहेक सबै सभापति शेरबहादुर देउवा पक्षीय नेताहरु हुन् । गौडेल भने डा. शेखर कोइराला निकट हुन् । 

गौडेल आफ्नो समूहबाट सभापतिको एकल उम्मेदवार भएका कारण प्रचारप्रसारमा जुटिसकेका छन् । राणा केही समय अघिसम्म पार्टी सभापति कोइरालासँग निकट भए पनि महाधिवेशन प्रतिनिधि लड्दा देउवा समूहतिर खुलेका थिए । बर्मा देउवा निकट भए पनि जिल्लाका स्थानीय तथा क्षेत्रीय अधिवेशनहरुमा फरक समीकरणमा रहेर भूमिका निभाएका कारण उनको भूमिका अझै प्रष्ट छैन ।

तर उनले आफू देउवा पक्षको पुरानो नेता भएको बताए । देउवा समूहका नेताहरु समूहको आधिकारिक उम्मेदवार बन्न भगीरथ प्रयत्न गरिरहेका छन् ।

सबैले आफू नै आधिकारिक उम्मेदवार बन्ने दाबी गरिरहे पनि अन्तिममा केन्द्रको ग्रिन सिग्नल पाउने नेता निर्वाचनमा हाबी हुने निश्चित छ । यद्यपि नवनिर्वाचित सहमहामन्त्री बर्दियाली नेता किशोरसिंह राठौर र नेपालगञ्जको हमाल परिवारको शक्ति संघर्षले लिने रुपले देउवा समूहको आगामी समीकरण र रणनीति तय गर्दछ ।

आफू सभापतिमा लड्ने निश्चित भए पनि उम्मेदवारहरुले प्यानल अझै बनाएका छैनन् । यद्यपि गौडेल समूहका अधिकांश पदाधिकारी उम्मेदवारहरुको भने करिब टुंगो लागेको बताइएको छ । 

उनको प्यानलबाट उपसभापति एक जना राजकुमार मौर्यको टुंगो लागिसकेको छ । अर्को एक जना उपसभापतिमा गोपाल अधिकारीको उम्मेदवारी रहने सम्भावना प्रबल भएको बताइन्छ । 

एक जना सचिवमा सुधांशु कोइराला हुने निश्चित छ । अर्को एक जना सचिवको टुंगो भने लागेको छैन । दुई सहसचिवमध्ये एक जना रेणु सिंहको टुंगो लागे पनि अर्को उम्मेदवारको टुंगो नलागेको बताइएको छ । 

जिल्ला सदस्यका उम्मेदवारहरु टुंगिन भने बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ