arrow

नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि धर्ना जारी, आन्दोलनकारीले उठाए व्यवस्थामाथि नै प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
kurmi1.jpg
तस्वीर सौजन्य : एलिजा ढकाल

काठमाडौं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका पीडित तथा अधिकारकर्मीहरुको माग अझै सम्बोधन हुन सकेको छैन ।

नेपालगन्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका पीडितहरुले धर्ना दिन थालेको ३६ औं दिन बिते पनि माग सुनुवाइ हुन नसकेको अधिकारकर्मी निर्ग नवीनले जानकारी दिए । पहिलो चरणको आन्दोलन पछि चार बुँदे माग राखेर उनीहरु दोस्रो चरणको आन्दोलनमा छन् ।

पुसको चिसोमा पनि अधिकारकर्मी रुबी खानलगायतसहित पीडितका आफन्तले धर्नालाई निरन्तरता दिइरहेका छन् । उक्त प्रकरणबारे छानबिन गर्न सरकारद्वारा गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाए पनि भरपर्दो रुपमा कारवाही अघि नबढेको पीडित तथा अधिकारकर्मीहरुको भनाइ छ ।

समितिले तयार पारेको प्रतिवेदनमा उक्त प्रकरणका आरोपित व्यक्तिलाई तत्काल पक्राउ गरी गहिरो अनुसन्धान गर्न सुझाव दिइसकेको छ । प्रतिवेदनमा पूर्वसांसद एवं बाँकेका कांग्रेस नेता बादशाह कुर्मीसहित आठ जनालाई यथासक्य छिटो पक्राउ गरी अनुसन्धान अगाडि बढाउन सुझाव दिइएको छ । तर उक्त अनुसन्धान फितलो भएको अधिकारकर्मीको भनाइ छ । प्रतिवेदन बुझाएपछि भएको वार्ता निष्कर्षमा नपुगेपछि अधिकारकर्मी रुबी खानलगायत १६ जनाले दोस्रो चरणको आन्दोलन शुरु गरेका थिए ।

तर आन्दोलनकारीहरुले शक्तिको आडमा अपराधीलाई लुकाउन खोजेको आरोप लगाएका छन् । अधिकारकर्मी निर्ग नवीन भन्छन्,‘सरकारले बनाएको प्रतिवेदन सकरात्मक भए पनि अनुसन्धानका लागि सीआइबीको टोली पठाउनु पर्ने र पीडित तथा आन्दोलनकारीको सुरक्षा हुनुपर्ने माग छ । त्यस्तै प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्ने उहाँहरुको माग छ ।’

उक्त घट्नाका विषयमा प्रहरीले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । मुद्दामा मुख्य अभियुक्त भनिएका कांग्रेस नेता तथा पूर्वसांसद बादशाह कुर्मीलाई प्रहरीले पक्राउ गर्नुको साटो संरक्षण गरेको महिला अधिकारकर्मीहरुको भनाइ छ।

त्यस्तै फर्जी कागज गराएर पीडकलाई न्याय दिने गरी प्रहरीले प्रमाण जुटाएको भन्दै उनीहरु आरोप लगाएका छन्। प्रहरीले निर्मला कुर्मीको हत्या नभई प्राकृतिकरुपमा मृत्यु भएको भन्दै आएपछि पीडित परिवार र महिला अधिकारकर्मीहरु संशकित हुँदै आएका छन्। दोस्रो चरणको आन्दोलन मंसिर ९ गतेदेखि जारी छ ।

गत ५ साउनमा बाँके जिल्ला जानकी गाँउपालिका-२ स्थित आफ्नै घरमा झुण्ड्याइएको अवस्थामा भेटिएकी नकुन्नी धोबी र नेपालगञ्ज उपमहानगरपालिका–१७ परमपुरकी निर्मला कुर्मीलाई आफ्नै घरबाट बेपत्ता बनाइ हत्या गरिएको थियो ।

धर्नामा समर्थन जनाउँदै अधिकारकर्मी तथा विद्यार्थी नेतृ एलिजा ढकालले पीडितको माग तत्काल सुनुवाइ गर्न आग्रह गरेकी छन् । उनले यस्तो प्रकृतिको घट्ना व्यवस्था माथिकै प्रश्न भएकाले महिलाहरू अझैसम्म घरेलु हिंसाको शिकार बन्नुपरेको र मारिनुपरेको भन्दै ‘यो राज्य व्यवस्था पीडितको कि पिडकको पक्षमा ?’ प्रश्न पनि उठाएकी छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ