arrow

निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा श्रेष्ठ र उपाध्यायले दिए उम्मेदवारी 

पाँच जना निर्बिरोध निर्बाचित

logo
सौरभ गिरी,
प्रकाशित २०७८ पुष २३ शुक्रबार
bake-karmachari.jpg

नेपालगञ्ज । नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । कार्यवहाक अध्यक्ष उद्धब प्रसाद श्रेष्ठ र कृष्णप्रसाद उपाध्यायको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले प्रकाशन गरेको प्रथम नामावली अनुसार एक जना निर्वाचित हुने खुला उपाध्यक्षमा पनि दुई जनाको उम्मेदवारी परेको छ । पिताम्बर आचार्य र बेदेश्वर गौतमले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यसअघि उम्मेदवारी दिने घोषणा गरेका जागेश्वर बस्नेत, गौरव कुमार लामिछाने, सागर आचार्य र राजेश सेनले अध्यक्ष पदमा उम्मेदवारी फिर्ता गरेका छन् ।

एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा भने दुर्गादेवी गौतमको मात्र उम्मेदवारी परेको छ । उनी निर्विरोध भएकी छिन् । एक जना निर्वाचित हुने समावेशी उपाध्यक्षमा दयाराम चौधरी र सुरेन्द्रकुमार गुप्ताको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत अधिवक्ता प्रभाकर भट्टराईका अनुसार एक सचिवका लागि पवन बुढा र लोकेन्द्र चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।

एक सहसचिव (युवा)मा भने काशीराम रिजालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध भएका छन् । एक जना निर्वाचित हुने कोषाध्यक्षमा रमेशकुमार रेग्मी र श्यामबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सदस्यहरुमा जयबीर खत्री, दिपकुमार मल्ल, पवनकुमार भट्ट, प्रकाश पाण्डे, भिवबहादुर ठाडा मगर, राजनकुमार थापा र लोकेन्द्र बुढाको उम्मेदवारी परेको छ । खुला सदस्यमा चार जना निर्वाचित हुने व्यवस्था छ ।

महिला सदस्यमा कल्पना दुलाल र गिता शाहीको मात्र उम्मेदवारी दर्ता भएपछि उनीहरु निर्विरोध भएका छन् । समावेशी सदस्यमा गोकुल चिडिमार, प्रेमबहादुर शाही र रामकिशुन थारुको उम्मेदवारी दर्ता भएको छ । यसमा दुई जना निर्वाचित हुन्छन् ।

३ जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधि खुलामा किरण डाँगी, देवेन्द्रकुमार केसी, नगेन्द्रबहादुर शाही, नैनबहादुर कार्की, तिलकप्रसाद आचार्य, यमकान्त कँडेल, मुकुन्दराज जिसी र राजेशकुमार सेनको उम्मेदवारी परेको छ । महिला महाधिवेशन प्रतिनिधिमा लक्ष्मी केसीको मात्र उम्मेदवारी पर्दा उनी निर्विरोध भएकी छिन् । एक जना निर्वाचित हुने समावेशी महाधिवेशन प्रतिनिधिमा कृष्णबहादुर रोकाया र जयन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारले नाम फिर्ता लिने समय ९ बजेसम्मलाई तोकिएको छ । साढे ९ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । यद्यपी अहिले पनि सहमतिको प्रयास भइरहेको छ । सहमति हुन नसकेमा भने भोलि शनिबार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । बाँकेमा ४३४ मतदाता छन् । आठौं जिल्ला अधिवेशनले १५ सदस्यीय जिल्ला कार्यसमिति र ५ जना महाधिवेशन प्रतिनिधि चयन गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ