arrow

नेविसंघका नेताले शुरु गरे दबाबमूलक अभियान, भ्रातृ संगठनलाई गतिशील बनाउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
NSU-velaaa.jpg

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अधिवेशन माग विद्यार्थीहरुले दबाबमूलक अभियान शुरु गरेका छन् । नेविसंघ अध्यक्ष राजीव ढुंगानाले कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नेतृत्व अवैधानिक भएको भन्दै संस्थापनइतर समूहका विद्यार्थीले अधिवेशन गर्न माग गर्दै विभिन्न कार्यक्रमहरु शुरु गरेका हुन् ।

केही दिनअघि मात्र नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाल, पूर्वसहमहामन्त्री ललिता सुनार, पूर्व केन्द्रीय सदस्यहरु प्रेमिका राना मगर, पुजन गन्धर्व, जानुका पन्त, रत्नहरि ढुंगेललगायत ५५ जना नेताले तत्काल अधिवेशनको माग गरेका थिए । उनीहरुले नेविसंघको १२औँ महाधिवेशन गर्न माग गरेका हुन् ।

अधिवेशनको माग गर्दै आफूहरु दबाबमूलक कार्यक्रमको खाका बनाइरहेको र पार्टी समक्ष ज्ञापन पत्र बुझाइने तयारी भइरहेको दोलखा अध्यक्ष भीम खड्काले जानकारी दिए ।

कांग्रेसको विधानको धारा ४२ मा भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भए निजको भ्रातृ संघको पद स्वतः रिक्त हुने उल्लेख छ ।

विधान बमोजिम पद रिक्त भएपछि नेविसंघका नेताहरुले अधिवेशनमार्फत नयाँ नेतृत्वका लागि दबाबमूलक कार्यक्रमहरु शुरु गरेका हुन् । ६ महिनाभित्र अधिवेशन गर्ने गरी २०७६ साउनमा राजीव ढुंगानाको नेतृत्वमा २ उपाध्यक्ष र ८ महामन्त्रीसहितको नेविसंघको तदर्थ समिति बनाइएको थियो तर तदर्थ समितिको पटक-पटक म्याद थपिए पनि अधिवेशन हुन सकेको थिएन । अहिले अध्यक्ष नै पार्टी केन्द्रीय सदस्यमा निर्वाचित बनेपछि नेविसंघ नेतृत्वविहीन बनेको छ ।

यता, पार्टीका अन्य केही भातृ संगठनका अध्यक्षहरु पनि पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ति भातृ संगठन नेतृत्वविहीन बनेका छन् । १४ औं महाधिवेशनबाट तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार, नेविसंघ अध्यक्ष ढुंगाना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

त्यस्तै नेपाल दलित संघका महाधिवेशन आयोजक समिति संयोजक मीन विश्वकर्मा र नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी पनि पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

नेविसंघकै पृष्ठभूमी हुँदै पार्टीको महामन्त्रीमा विजयी भएका गगन थापाले भ्रातृ संस्था गतिशील बनाउन र बैधानिक तरिकाले संचालन गर्न पार्टी सभापति शेरबहादुर देउवासँग छलफल भइरहेको बताइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ