- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस महिनामा मात्र ५१ अर्ब बढीको कारोबार भएको छ । पछिल्लो समय विद्युतीय कारोबार तीब्र रूपमा बढिरहँदा फोन पे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो ।
पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढीको कारोबार भएको फोनपेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको हो । फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरुले क्यूआर कोड भुक्तानी, अन्तर बैंक पैसा ट्रान्सफर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानी लगायतका कार्यबाट यो रकम कारोबार भएको हो ।
आधा खर्ब भन्दा माथिको आँकडा पूरा गरेपछि सोमबार फोन पेले डिजिटल नेपाल निर्माणको साझा उद्देश्य पूरा गर्न सहयोगी भूमिका खेल्ने फोनपेका सदस्य बैंक, वित्तीय संस्था र डिजिटल वालेटलाई धन्यवाद दिएको छ ।
फोनपेमार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु १० मै सहज रुपमा रकम पठाउन सकिन्छ । साथै मर्चेन्टले निःशुल्क क्यूआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा पनि कुनै शुल्क लाग्दैन ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्समा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ ।
फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने अन्तर्राष्ट्रिय भुक्तानी पार्टनरमा चाइना युनियन पे र अलि पे आवद्ध छन् ।
यस्तै फोनपेमा हालसम्म ५ लाख ७० हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । फोनपेमा ई–सेवा, आईएमई पे र सेलपे जस्ता भुक्तानी सेवा प्रदायक आवद्ध छन् ।
एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ६० लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको जनाएको छ ।