arrow

किसानका पीडा

‘भोको पेट भर्न अदुवा बिक्री गर्न भन्दा खोल्मामा भएको मकै भुटी खानु बेस हुन्छ’

उत्पादित बस्तुले बजार नपाएपछि किसान परम्परागत खेतीतर्फ फर्किने अवस्था 

logo
केदार कटुवाल, 
प्रकाशित २०७८ माघ ८ शनिबार
aaduwa.jpg

उदयपुर । जिल्लाका विभिन्न स्थानलाई खेतीको पकेट क्षेत्रका रुपमा लिइए पनि उत्पादित बस्तुले बजार नपाउँदा किसानहरु मर्कामा परेका छन् । सर्लाही, रौतहट, महोत्तरीमा उखुको चर्चा चलिरहँदा उदयपुरका किसान भने अदुवा–बेसारले उपयुक्त बजार पाउन नसक्दा चिन्तामा छन् । 

दुई तिहाइ भू–भाग पहाड ,चुरे र महाभारतले घेरेको यस क्षेत्रको प्रमुख बालीका रुपमा अन्नमा मकै, कोदो, गहुँ, धान र फलफूल तथा नगदेबाली नै रहेका छन् । नगदेबालीका रुपमा अदुवा, बेसार, बहुबाली, फलफूल, नगदेबालीका रुपमा विभिन्न कार्यक्रम संचालन भए पनि भण्डारण, बजारीकरण र उचित मूल्यको अभावमा कौडीका दाममा बिक्री गर्नु पर्दा त्यस खेतीप्रति किसानको मोह भंग भएको छ । 

‘अन्न त कम्तीमा बिक्री हुन्छ । भएभरको जमीनमा अदुवा–बेसार लगाएका छौं । न भोक टर्छ न भनेको बेला बिक्री । कसरी मात्र धान्न सकिन्छ यस्तो खेती गरेर । दुःख कष्ट सहेर छ महिनापछि बजार लान तयार हुने अदुवा तथा बेसार डोका र बोरामा हालेर बेच्न साप्ताहिक हाट बजारसम्म ल्यायो । खेती गर्दाको मेहनत त परको कुरा बोकेको ज्यालासमेत उठ्दैन’, चौदण्डीगढी नगरपालिका १ की किसान सानूमाया नेपाली दुखेसो पोख्छिन् ।
 
चौदण्डीगढीको १–८ लाई अदुवा बेसार जोनको रुपमा विकास गरिएको छ । उत्पादन अत्यन्तै सन्तोषजनक छ । तर बजार कस्ले खोजिदिने ? डोकामा र बोरामा ल्याएका सामान बिक्री गर्न हम्मे छ ।

‘१५–२०किलोमिटर ढुवानी गरेर ल्याएका बस्तु ३०–४० रुपैयाँ प्रति केजीका दरमा बेच्न वाध्य छौं । हाम्रा दुःख बुझिदिने को होला ?’ वीरबहादुर तामाङ भन्छन् । 

औषधि र मसलाका रुपमा प्रयोग हुने अदुवा केही महिनापछि यसको बिक्री मूल्य प्रतिकेजी २ सय रुपैयाँसम्म हुने गरेको छ । 

किसान फेरि परम्परागत खेती अन्न बालीतर्फ फर्किए अनौठो मान्नुपर्ने अवस्था छैन । 

‘भोको पेट भर्न अदुवा बिक्री गर्न भन्दा खोल्मामा भएको मकै भुटी खानु बेस हुन्छ’, तामाङले गुनासो पोखे । 

प्राविधिकको सल्लाह, मल बिउका साथै भण्डारण र बजारीकरणको अभावमा किसानहरुको उन्नति प्रगतिमा दुई मत नरहेको पुराना राजनीतिकर्मी तथा किसान लोकबहादुर सेडाइ बताउँछन् ।
                                                          



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ