arrow

तस्करी जालो, राजश्व चुहावट

मधेसका आठ जिल्लाको भन्सारमा कुन व्यापारीलाई तस्करीको कुन लाइन खुला ?

सशस्त्रका डीआईजी गणेश ठाडामगरमाथि लाभ लिएर लाइन खुलाएको आरोप, नेपाल प्रहरीका उमेश रंजितकार पानी माथिको ओभानो बन्दै

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७८ माघ ८ शनिबार
madhes-taskari-security.jpg

वीरगंज । सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार रोक्न सरकारले अत्याधुनिक हतियार र बन्दोबस्तीका सम्पूर्ण सामान दिएर सशस्त्र प्रहरी बललाई खटाएको भए पनि उनीहरुकै प्रत्यक्ष संलग्नतामा मधेस प्रदेशका आठ वटै जिल्ला तस्करहरूलाई जिम्मा लगाएको पाइएको छ । सीमामा तस्करहरुलाई आफ्नो अनुकूल गर्न दिए बापत प्रत्येक महिना मासिक २ करोड रुपैयाँ सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले बुझ्दै आएको गम्भीर आरोप सरोकारवालाहरुले जनाएका छन् । सो बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर छन् । 

सशस्त्रका डीआईजी मगरले आधा दर्जनभन्दा बढी मधेसी समुदायका सशस्त्र प्रहरी हवल्दार एवं सहायक हवल्दारलाई आठ वटै जिल्लाबाट तस्करहरूलाई ‘लाइन’ दिएर महिनावारी असुल गर्न टोली खटाएको स्रोतको दाबी छ । रविकान्त मिश्र, आत्माराम पटेल, गगनदेव साह, रामखेलावन यादव, वशिष्ठ पटेल, सुकदेव बैठा र अशोक साहलाई मधेस प्रदेशमा परिचालित गरी रकम संकलन भइरहेको बाहिनी निकट स्रोतले जनाएको छ । 

वीरगंजबाट प्रायः सबै नाका तस्करहरूको लागि खुल्ला गरिएको छ । मदन रून्चे समूहले टाटा मोबाइलबाट खलवाटोला सिर्सिया हुँदै जगरनाथपुर गोदाममा अनलोड गरी भुजा हालेको बिल बनाई ट्रकमा कपडा लोड गरी काठमाडौं पठाउने गरेको छ । भिस्वा नाकाबाट किशोर, पप्पु र उमेश तेलीलाई भारततर्फ निकासीको लागि छोकडा, मरीच र रक्सीको लाइन उपलब्ध गराइएको छ । यसैगरी हरिन्द्र पटेल जटाधारीलाई कपडा, मुन्ना मियालाई हार्डवेयर भित्र्याउन लाइन दिइएको छ । 

बारा जिल्लाको कचोर्वा, सिमरौनगढ, मटिअर्वा र मुसहर्वालगायत सम्पूर्ण नाका तस्करहरुका लागि खोलिएको छ । बाराका रविन्द साह, भोला यादव, प्रभु यादव, बच्चा यादव, दीपक यादव, छोटेलाल पटेललाई कपडा भित्र्याउन ‘लाइन’ उपलब्ध गराइएको छ भने नुनुलाई भारतबाट खसी ल्याउन लाइन दिइएको छ । प्रकाश सहनीलाई भैंसी राँगाको लाइन दिइएको छ । 

रौतहट जिल्लाको सम्पूर्ण नाका प्रयोग गरी शम्भु साह, मनोज साह, कौशल साह, सुरेश यादव, ब्रह्मदेव यादव, वीरेन्द्र सिंहलाई निष्फिक्री छोडिएको छ । गौरको मुख्य नाकाबाट कपडा भित्र्याउन लाइन दिइएको छ । रौतहटका मोतिम अन्सारीलाई कुखुराको चल्ला, कटहरिया नगरपालिकाको उपप्रमुखका श्रीमान नसरुद्दिन मियालाई पनि स्पेशल ‘लाइन’ उपलब्ध गराइएको छ । उनी सिजनअनुसार सबथोकको कारोबारमा संलग्न छन् । 

यसैगरी सर्लाही जिल्लाको संग्रामपुर, मधुवन भन्सार, गोरखकाली, परसा, बारा उदोरणलगायत सम्पूर्ण नाका तस्करहरूलाई उपलब्ध गराइएको छ । सर्लाही जिल्लाबाट प्रकाश यादव, विजय साह, पुकार यादव, परमहंस साह, हीरालाल साह, श्याम साह, अन्तोष साह, रामेश्वर यादव, गुलाम, चन्देश्वर चौधरी, दिनेश महतो, मुन्सीलाई भारतबाट कपडा नेपाल भित्र्याउन लाइन दिइएको छ । विनोद साहलाई कुखुराको चल्ला, उमेश पटेललाई केराउ र मरीचको लाइन दिइएको छ । 

महोत्तरी जिल्लाको धिरापुर, भिट्ठामोड, सम्सी, मटिहानी, रामगोपालपुर, खैरमणी, इटहर्वा, पोखरभिण्डा, रघुनाथपुर लगायतका नाकाहरू खोलिएको छ । यस जिल्लाबाट राजा, कालिया, सिकेन्द्र यादव, मेथुर मण्डल र लक्ष्मी चौधरी, बाला दास तत्मा, सन्दीप यादव, रामकेवल मण्डल, विवेक मण्डल, राजेश यादव, रामविनय यादव, तुफान, रामछबिला यादव, मोती अन्सारी, मोदसिर, विनोद यादव, सरीफुल, बिन्देश्वर नायक लगायतका गिरोहलाई लागुऔषध, गाँजा, कपडा, केराउ, मरीच, छोकडा, खसी, गाईको लाइन उपलब्ध गराइएको छ । 

जनकपुर नाकाको जटही, जयनगर, हर्ने हरलाठी, फुलगान्वा, धनौली, ठान्डी, खजुरी, इनर्वा, दुभी, बहुअर्वा, मुखिया पट्टी नाकाबाट मोहन जालान, राजीव महासेठ, धर्मेन्द्र यादव, लेंगडा भन्ने राजु, चाची, सुरेश साह, उमेश साह, जय कुमार, कलामलगायत गिरोहलाई कपडा, रजनीगंधा, रक्सी, मोटर पार्ट्स, मरीच, केराउको लाइन दिइएको छ । 

सिराहा जिल्लाका तस्कर मुसहर यादव, आजाद यादव, धीरज यादव, मोहन यादव, उपेन्द्र, नन्दालाई कपडा लत्ता, सन्तोषलाई किराना र कलामलाई गाईको लाइन वितरण गरिएको छ । माडर, ठान्डी, बियापट्टी, सखीपुर, झाझपट्टी गरुी सिराहा जिल्लाका प्रमुख चारवटै नाका तस्करहरूलाई जिम्मा लगाइएको छ । 

यसैगरी सप्तरी जिल्लाको सखडा, तिलाठी, बेलाही, हनुमाननगर, झुटकी, कोदरट्टी, सरठी, पातो लगायतका नाकाहरू ओमप्रकाश यादव, जाकिर मिया, हरिसुदन यादव, ओमप्रकाश यादव, धुरन साह, मुकेश सिंह, बुटुल सिंह, शम्भु, भुनेश्वर, मनोज, मनिर मिया, सद्दामको गिरोहलाई गाई, गोरु, कपडा, केराउ, मरीच, छोकडा, सुपारी, रक्सीको लाइन दिइएको छ । 

आठवटै जिल्लाबाट दिनहुँ १० करोड रुपैयाँ भन्दा बढीको सरकारी राजश्व चुहावट भैरहेको छ । हरेक जिल्लाको घरेलु मदिराको भट्टी र वैध रक्सी उद्योगलाई भारततर्फ रक्सी निकासी वापत सशस्त्र प्रहरीले छुट्टै रकम असुल्ने गरेको छ । 

गणेश ठाडा मगर तत्कालीन सीमा सुरक्षा बल पर्सामा सशस्त्र प्रहरी उपरीक्षक, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भएको बेला वरिष्ठ प्रहरी उपरीक्षक भएर छिन्नमस्ता बाहिनी मुख्यालयमैं बसेको अनुभवको आधारमा असुली पक्षलाई गतिशील बनाएको बाहिनी स्रोत बताउँछ। सबै शक्ति केन्द्रलाई रिझाउन सफल गणेश ठाडा मगरले सिंगो संगठनलाई आफ्नो स्वार्थसिद्ध गर्नको निम्ति बदनाम गराएको प्रहरी अधिकारीहरु नै बताउँछन् । 

सशस्त्रसँगै नेपाल प्रहरीले पनि भरपुर फाइदा उठाएको छ । नेपाल प्रहरीको काम शान्ति सुरक्षा कायम गर्ने हो तस्करी नियन्त्रणको जिम्मा त सशस्त्र प्रहरीको हो भन्दै पानीमाथिको ओभानो बनेर नेपाल प्रहरीका मधेस प्रमुख उमेश रंजितकार अवकाश पछिको जीवन सुधार्न लागिपरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ