arrow

अनियमितताको हद

खोला एकातिर, पुल अर्कैतिर

logo
विवेक मिश्र, 
प्रकाशित २०७८ माघ ९ आइतबार
271911993_640935767054661_69175196875557319_n.jpg

लक्ष्मीमार्ग । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ मा पर्ने कुइरी खोलामा निर्माण भएको फलामे पुल निर्माणका क्रममा ब्यापक अनियमितता भएको स्थानीय वासिन्दाहरुले आरोप लगाएका छन् । 

सोही खोलामा पुल निर्माणका लागि संघीय सरकारको १० लाख, बेलबारी नगरपालिकाको ७ लाख ४५ हजार र स्थानीय जनश्रमदानबाट १ लाख ५२ हजार गरी १८ लाख ९७ हजार रुपैयाँ जुटेको थियो । तर पुल निर्माण सम्पन्न नहुँदै निर्माण सम्पन्न भएको कागजपत्र तयार गरी रकमसमेत निकासा भइसकेको छ । 

सो स्थानमा एकातिर खोला बगेको छ भने पुल अर्कैतिर निर्माण गरिएको छ । २०७८ साल असार ३ गते निर्माण शुरु भई असार २३ गते निर्माण सम्पन्न भएको भनिएको पुलमा सूचना पाटीसमेत राखिएको छैन । 

कल्भर्ट निर्माण गरेजस्तो गरी करिब १ सय मिटरमा पर्खाल उठाएर त्यसमाथि फलामको पुल हालिएको छ । तर खोला भएको ठाउँतिर भने पर्खालसमेत निर्माण भएको छैन । 

स्थानीय वासिन्दाहरु पुल निर्माणमा ब्यापक भ्रष्टाचार भएको तर कसैले आवाज उठाउन नसक्दा र सम्बन्धित क्षेत्रबाट अनुगमन नहुँदा कुइरी खोलाको पुल अलपत्र बनेको बताउँछन् ।

बेलबारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनपति गौतम पुल निर्माणका विषयमा आफूलाई जानकारीसमेत नदिइ पुल निर्माण गरेको र २ लाखको काम गरेर बाँकी रुपैयाँ झ्वाम पारेको आरोप लगाउँछन् । 

उनले सो पुल निर्माण गर्दा आफूलाई जानकारीसमेत नदिइ बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले तोक आदेश दिई काम गर्न लगाएको र पुल निर्माणमा ब्यापक भ्रष्टाचार भएको बताए ।

सोही पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विद्यापति अधिकारी भने पुल निर्माणमा अनियमितता नभएको, पुल निर्माण सम्पन्न गरी बजेटसमेत निकासा भइसकेको र नगरपालिकाका ईन्जिनियरहरुले पुल निरीक्षण गरी पाससमेत गरिसकेको बताउँछन् । 

उनले सूचना पाटी राखेको भए पनि स्थानीयले नै च्यातेर फ्यालेको दाबी गर्छन् । 

पुल निर्माणमा भ्रष्टाचार भएको र पुलको काम हेर्दा चित्तबुझ्दो रहेनछ नि भन्ने प्रश्नमा उनले समितिले एकदमै राम्रोसँग काम गरेको र निर्माण सम्पन्न गरेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ