काठमाडौं । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले आफ्नो आम्दानी र आफूसँग भएको सम्पत्ति सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै अभियन्ता शाहीले १ वर्षको अवधिमा प्रत्यक्ष रूपमा राज्यलाई आफुले ५७ हजार २ सय ८० कर तिरेको बताएका छन् । उनले उक्त कर मध्ये ३० हजार तलब कर, २५ हजार ५ सय सवारी साधनको कर र १७ सय ८० रुपैयाँ बिमा कर बुझाएको जानकारी दिए । उनले उने,‘एक वर्षमा बुझाएको ५७ हजार २ सय रुपैयाँमा ३० हजार तलब, २५ हजार ५ सय सवारी साधन र १७ सय ८० रुपैयाँ बिमा करबापत बुझाएको छु ।’
आफ्नो आयस्रोतको बारेमा बताउँदै वार्षिक रूपमा ६ लाख रुपैयाँ आम्दानी रहेको शाहीले सुनाए । उनले भने,‘महिनाको ५० हजार रुपैयाँ तलब खान्छु ।’ उनले अन्य अनलाइन व्यवसायबाट ५६ दिनको आम्दानी १ लाख ६३ हजार २ सय ९१ रुपैयाँ गरेको पनि स्पष्ट पारे ।
उनले आफूसँग भएको सम्पत्तिको नाममा ५औं ह्यान्ड गाडी ५ लाख रुपैयाँमा खरिद गरेर प्रयोग गर्दै आएको बताए । पैतृक सम्पत्ति आफ्नो जन्मस्थान जुम्ला र सुर्खेतमा नै भएको उनले सुनाए ।
आफ्नो संस्था देशको हित तथा सामाजिक सेवामा आबद्ध भएको भन्दै उनले कतार उड्ने जहाजलाई तत्कालीन उपप्रधानमन्त्री उपेन्द्र यादवले ३ घण्टा रोकेको उदाहरण दिँदै उनले त्यस्ता बेतिथिको अन्त्य आफूहरूले गरेको बताए । अझै पनि आफ्नो संस्थाले विदेशमा अलपत्र भएका नागरिकहरूको उद्धार गरिरहेको बताए । उनले भने,‘आजकै दिन पनि २० जना अलपत्र परेका नागरिकहरूको उद्धार गरेका छौ ।’
दोस्रो पटक कोरोनाको लहर आउँदा आफ्नो संस्थाले २ लाख नागरिकहरूलाई अक्सिजन र उपचारको व्यवस्था गरेको जिकिर गरे । त्यस्तै, उनले ४ सय जनालाई अक्सिजन कन्स्ट्रक्सन व्यवस्था गरेको भन्दै उनले दूर दराजको जनताहरूलाई सहयोग गरेको बताए ।