arrow

शहिद धर्मभक्त माथेमाको सम्झना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
dharma-bhakta-mathema-sahid.jpg

काठमाडौं । शहिद सप्ताहको चौथो दिन आज शहिद धर्मभक्त माथेमाको शालिकमा माल्यापर्ण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गरेको स्थलमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण गरी उनलाई स्मरण गरिएको छ ।

माथेमा जन्मिएको ठाउँ काठमाडौंको ओमबहाल र अमरत्व प्राप्त गरेको ठाउँ सिफल उकालोमा महानगरले माथेमाको पूर्णकदको शालिक प्रतिस्थापन गरिसकेको छ । आज उनको उक्त शालिकमा नै माल्यापर्ण गरेर स्मरण गरिएको हो । 

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, वडा ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल तथा वडा सदस्य र सीमित कर्मचारी सहभागी भएर शालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो । कोरोना महामारी भएकाले यस वर्ष शहिद सप्ताहका कार्यक्रम सीमित व्यक्तिका बीच आयोजना भइरहेका छन् ।

विसं १९६६ असोज १ गते काठमाडौंको ओमबहालमा जन्मिएका माथेमालाई तत्कालीन शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई विसं १९९७ माघ १३ गते काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।

काठमाडौं महानगरले शहिद माथेमाको सम्मानमा ‘धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण गर्दैछ । नागार्जुन नगरपालिकाले उपलब्ध गराउने वडा नं ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब १८ रोपनी जग्गामा आश्रम निर्माण हुनेछ । यसका लागि महानगरपालिकाले नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन बुझाइसकेको छ । 

तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेरले विसं १९९७ माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यान दण्ड दिने निर्णय गरेको थियो । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुण्ड्याएर, सात दिनपछि माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र नौ दिनपछि दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ