arrow

आम नेपालीलाई रैतीबाट नागरिक बनाउने नै शहीद : प्रधानमन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
sher-bahadur-deuba-congesss-nc.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुन सकेको उल्लेख गरेका छन् । 

शहीद दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले विसं २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२–६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन शहीदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको बताए ।

प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै शहीद मुलुकका सच्चा सपूत भएको बताएका छन् । “आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौँ, राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच स्थापित हुनसकेको छ, तथा जे–जस्तो शासकीय व्यवस्थाबाट मुलुकलाई अघि बढाइरहेका छौँ त्यो सबै सहिदहरूको योगदानबाट नै सम्भव भएको हो”, उनले उल्लेख गरेका छन् ।  

प्रधानमन्त्री देउवाले शहीदले आम नेपालीलाई रैतीबाट नागरिक बनाउन, मुलुकमा राजनीतिक सामाजिक परिवर्तन ल्याउन तथा नागरिकलाई स्वतन्त्र र अधिकारसम्पन्न तुल्याउन गरेको उच्च योगदानको कदर गरेका छन् । 

उनले विसं २००७ को आन्दोलनमा मुलुकमा प्रजातन्त्र स्थापना गर्न ज्यानको आहुति दिने महान् शहीद दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठदेखि विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदमा श्रद्धासुमन अर्पण गरेका छन् । 

प्रधानमन्त्री देउवाले यस दिवसले शहीदहरूले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिँड्न तथा उनीहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ