सुशील कोइरालाको स्मृतिमा पशुपति क्षेत्रका ब्राह्मण वटुकलाई भोजन, साँझ अन्तरक्रिया कार्यक्रम
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
798
Shares
तस्बिर– फाइल
काठमाडौं । संविधानका पिता सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा पशुपति क्षेत्रस्थित राम मन्दिरमा रहेको स्वर्गद्वारी आश्रमका ब्राह्मण वटुकलाई भोजन गराइएको छ ।
सुशील कोइराला मेमोरियल फाउण्डेशनको आयोजनामा आश्रमले सञ्चालन गरेको गुरुकुलका ५० जना ब्राह्मण वटुक र आगन्तुकलाई भोजन गराइएको सदस्य सचिव अतुल कोइरालाले जानकारी दिए ।
विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका तत्कालीन प्रधानमन्त्री कोइरालाको त्यसै वर्ष माघ २५ गते निधन भएको थियो ।
सादगी नेताको परिचय बनाएका कोइरालाले ७० वर्षअघि बिपी कोइरालाले अघि सारेको संविधानसभाबाट संविधान जारी गर्ने मुद्दालाई कार्यान्वयन गर्न सफल भएका थिए ।
कोइरालाले आफ्नो प्रधानमन्त्रीत्वकालमा भ्रष्टाचार नियन्त्रण गर्न सरकारले गरेका खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटबाट सार्वजनिक गर्न शुरु गरेका थिए ।
यस अवसरमा बुधबार बेलुकी जुम माध्यमबाट अन्तरक्रिया कार्यक्रम आयोजना गरिने फाउण्डेशनले जनाएको छ ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला, पूर्वमुख्यसचिव लीलामणि पौडेल, कोइरालाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईलगायतले विचार राख्ने कार्यक्रम रहेको छ ।