arrow

नाडाले मन्त्रालय तथा विभागसँगको छलफललाई दियो तीव्रता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
dhruba-thapa-nada-president.jpg
तस्बिर– नाडा अध्यक्ष थापा ।

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवसँग भेटी सो मन्त्रालयले ल्याउन लागेको नेपाल सवारी प्रदूषण मापदण्ड बीएस–६ को कार्यान्वयनका सम्बन्धमा छलफल गरेको छ । 

सो छलफलमा अध्यक्ष थापाले सरकारको सम्पूर्ण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागु गर्ने प्रस्तावलाई नाडाले सकारात्मक रुपमा लिएको जनाउँदै यसको समग्र पूर्वाधार तयारीका लागि चरणबद्ध रुपमा लागु गर्दै जानुपर्ने भएकाले अहिले त्यसका लागि देशमा आवश्यक पूर्वाधारहरुलगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभइसकेको सन्दर्भमा यसलाई चरणवद्ध रुपमा लागु गर्ने व्यवस्थाका लागि अनुरोध गरेको नाडाले जनाएको छ ।


भेटघाटलाई निरन्तरता दिने क्रममा उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग भेटी चालुपूँजी कर्जा मार्गदर्शन २०७८ को मस्यौदाका सम्बन्धमा छलफल गर्दै तत्सम्बन्धमा पत्रसमेत बुझाएको थियो । 

सो भेटघाटमा उपाध्यक्ष श्रेष्ठले बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत कायम गर्ने व्यवस्थाका लागि अनुरोध गरेका छन् । 

त्यसैगरी हालै नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा सवारी साधनहरु आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा १० प्रतिशतबाट वृद्धि गरेर ५० प्रतिशत पुर्याएको सन्दर्भमा यस्तो व्यवस्थाले सवारी साधनहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधनहरुको मूल्यसमेत बढ्न गई उपभोक्तालाईसमेत असर पर्ने भएकोले पूर्व व्यवस्था अनुसारको न्यूनतम मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने व्यवस्थालाई निरन्तरता दिन अनुरोध गरे । 

उपाध्यक्ष श्रेष्ठले एलसी मार्जिनको लागि राखेको धितो रकममा बैङ्कहरुले व्यवसायीहरुलाई व्याजसमेत दिने व्यवस्थाका लागिसमेत अनुरोध गरेका छन् । 

नाडाले आफ्ना सम्बद्ध मन्त्रालय तथा विभागसँगको भेटघाट तथा छलफललाई अघि बढाउने क्रममा भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटासँग भेटी भन्सार मूल्याङ्कन, भन्सार प्रक्रियाका सन्दर्भमा देखिएका समस्याहरुलगायत ७० औं विश्व भन्सार दिवसलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने भन्ने विषयमा समेत छलफल गरेकोे जनाएको छ । 

यसै क्रममा नाडा प्रतिनिधिमण्डलले आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटी कर सम्बन्धी तालिम सम्पन्न गर्ने, बिक्रीको बिलिङ्ग पनि एचएस कोडमै गरिनु पर्ने लगायतका विभिन्न विषयहरुमा छलफल भएको नाडाले जनाएको छ ।

नाडाले माघ महिनादेखि आफ्ना सम्बद्ध मन्त्रालय तथा विभागसँगको भेटघाट तथा छलफललाई तिब्रता दिँदै आएको जनाएको छ । यसै क्रममा नाडा प्रतिनिधिमण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठसँग भेटी एजेन्सी, फर्म दर्ता एवं नवीकरणलगायत आधिकारिक बिक्रेताले मात्र अटोमोबाइल बस्तुहरु आयात गर्न पाउने व्यवस्थाबारे छलफल गर्दै सो सम्बन्धमा पत्रसमेत बुझाएको नाडाले जनाएको छ ।

भेटघाटलाई निरन्तरता दिने क्रममा नाडा प्रतिनिधिमण्डलले उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसँग भेटी नेपालमा सवारी साधनको ऐसेम्बली प्लाण्टको स्थापना, त्यसको प्रक्रिया र व्याख्याबारे धेरै अन्यौलता भएकोले त्यसमा स्पष्टताको लागि नाडाले अनुरोधसमेत गरेको जनाएको छ । 

यसै क्रममा नाडा प्रतिनिधि मण्डलले राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलसँग भेटी नेपालमा स्वच्छ व्यवसायलाई प्रेणित गर्न एक आपसमा सहकार्य गर्ने, व्यवसायीहरुलाई परेको समस्याहरुको बारेमा सहजीकरण गर्ने लगायत नाडाको पहलमा निकट भविष्यमा हुने भीसीटीएस सम्बन्धी तालिम कार्यक्रमका लागि विभागले सहयोग गर्ने विषयमा छलफल भएको नाडाले जनाएको छ । 

त्यस्तै नाडा प्रतिनिधिमण्डलले मिति २०७८ माघ ७ गते यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेसँग भेटी सवारी साधनको इम्बोष्ड नम्बर प्लेट, भारतबाट सवारी साधन पैठारी गर्दा ६–६ महिनामा सीओपी बुझाउनु पर्ने व्यवस्थालगायत सरकारले हालै ल्याउन लागेको नेपाल सवारी साधन प्रदूषण मापदण्ड बीएस–६ को विषयमा विस्तृत छलफल भएको नाडाले जनाएको छ । 

त्यसैगरी सोही दिन नाडाको एक प्रतिनिधिमण्डलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख उमेशराज जोशीसँग पनि द्धिपक्षीय सम्बन्ध विस्तारका सम्बन्धमा विस्तृत छलफल गरेको छ । 

उक्त सबै छलफल तथा भेटघाट कार्यक्रमहरुमा नाडाका पदाधिकारीहरुलगायत सम्बन्धित समितिका सभापतिहरुको उपस्थिति रहेको नाडाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ