arrow

राजनीतिमा गाली र संकृति मन्त्री आलेको असांस्कृतिक र अनागरिक भाषाशैली

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७८ फागुन ७ शनिबार
rajendra panthi article 23.jpg

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  प्रेमबहादुर आलेको अश्लील अडियो रेकर्ड बाहिरिएको छ । उनको त्यो रेकर्डलाई स्वयं मन्त्रीले आफूले बोलेको भनी विभिन्न सञ्चारमाध्यममा  स्वीकारेका छन् । जुन रेकर्ड सुन्न नसकिने किसिमको छ। मन्त्रीको बोलीमा हुनुपर्ने संस्कार र नागरिक दायित्व उनमा देखिएको छैन । संस्कृति मन्त्री भएर असांस्कृतिक क्रियाकलाप र छाडा प्रवृत्ति उनमा देखिएको छ । नेपाल सरकारको मन्त्री जस्तो गरिमामय पदमा पदासिन भएको व्यक्तिले यस्तो तुच्छ र अश्लील भाषा प्रयोगले नेपाल सरकारकै र मन्त्रीहरूको हैसियत, योग्यता र क्षमतामाथि ठूलो प्रश्न चिन्ह खडा भएको छ । देशकै बेइज्जत हुन पुगेको छ । यसबाट सरकार र राजनीतिक दलका नेताहरूको आचरणको थप वास्तविक यथार्थ तस्बिर देखिन्छ ।

नाटकीय रुपमा भ्रष्टाचारविरुद्ध मैदानमा उत्रिएका आलेको छाडा रुप पनि राम्रै देखियो । आलेले अछाम घर भइ भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको अश्लील गाली सामाजिक संजालमा भाइरल हुँदा नेपाली जनता लज्जित हुनु परेको छ । कस्तो नेतालाई जनप्रतिनिधि बनाइएछ भनेर धिक्कार्नु पर्ने अवस्था देखा पर्यो । विगतमा कहिले कसको पुच्छर कहिले कसको पुच्छर बनी वन मन्त्री हुँदा कार्बनडाइअक्साइड मन्त्री भनेर कमाइएको नाममा पुनः अर्को नामले चिनिने भएका छन् । गाली गर्दा कसैलाई जन्म दिएकी आमालाई तोकेर तथानाम गाली गर्ने मन्त्रीबाट नेपाल आमाको भलो होला भनेर विश्वास गर्ने ठाउँ नै छैन । जगत ओलीलाई गाली गर्दै आलेले सुन्नै नसकिने गरी अश्लील भाषाको प्रयोग गर्दै त्यहीँबाट उडाइ दिने, हातखुट्टा काटिदिने धम्की दिएको सुनिन्छ । अर्कोले केही भन्यो भनेर मन्त्री जस्तो व्यक्तिले त्यही आचरण देखाउन खोज्नु उनको गलत क्रियाकलाप र शैली हो ।

उनको अडियो बाहिरिएपछि मन्त्रीको प्रतिक्रियामा मान्छे हो सधै एकनाश हुँदैन नितान्त व्यक्तिगत कुराहरू बाहिरिएको हो भनेर स्वीकार गरेको सुनिन्छ । उनको प्रतिक्रियामा यति लाचारीपन छ कि एउटा जिम्मेवार मन्त्री र नेताले बोल्ने भाषामा स्तरीयता र शिष्टता हुनुपर्छ भन्ने कुरा ध्यान नै छैन र लाज पचाइएको छ । देश हाँक्छु भन्ने नेताले जे मन लाग्यो त्यही बोल्नु र सार्वजनिक ओहोदामा बसेको जिम्मेवार मन्त्रीले यस्तो तुच्छ भाषाको प्रयोगले नेपाली जनतामा नेताप्रति कस्तो सम्मान आउन सक्ला । राजनीतिमा दुर्गन्ध फैलिने भनेको यस्तै जिम्मेवार व्यक्तिले गर्ने व्यवहार र बोल्ने शैलीले स्पष्ट देखाउँछ । खासगरी यस अडियोबाट मन्त्री आलेको योग्यता र क्षमताको घृणित रुप स्पष्ट देखिएको छ । मन्त्री आलेले वर्तमान सरकारमा रहेर गरेका केही सकारात्मक कामको उदाहरणले उनको यो बोलीको अश्लील दाग मेटिँदैन । नेपाली जनताको जनप्रतिनिधि र नेपाल सरकारको जिम्मेवार मन्त्री भएको हुनाले उनका यस्ता गलत आचरणको टिप्पणी र आलोचना गरिनुपर्छ ।

नेपाली समाजमा नेता र मन्त्रीले बोल्ने गाली र बेइज्जत भन्दा बित्तिकै परम्परा र संस्कारका रुपमा स्थापित नै भएको देखिन्छ। नेकपा एमाले नेता गोकुल बाँस्कोटाको विवादित अडियोमा बोलिएको भाषामा अश्लील भाषाको प्रयोग गरिएको थियो । कसैले बोल्न नहुने अति तुच्छ यस्ता अश्लील शब्दको प्रयोग गर्ने यस्ता मन्त्रीलाई पहिले कस्तो भाषा बोल्नुपर्छ भनेर सिकाउनु पर्ने देखिन्छ । मन्त्री जस्तो जिम्मेवार व्यक्तिले औपचारिक वा अनौपचारिक ठाउँमा कस्तो भाषा बोल्नुपर्छ भनेर सधै ख्याल गर्नु पर्नेमा लाजलाग्दो र घृणित आवाज  सुनिन्छ । मन्त्री भनेको व्यक्ति होइन सार्वजनिक पद हो । उसका हरेक क्रियाकलाप जनसरोकारका विषय हुन्छन् । ऊ जहिले पनि जनताप्रति उत्तरदायित्व निर्वाह गर्ने किसिमको हुनुपर्छ । मन्त्री जहिले पनि जिम्मेवार र शालीन हुनुपर्छ ।

नेपाली राजनीतिमा एक अर्कोलाई गरिने गालीको संस्कार असाध्यै छ । नेपाली लोकसाहित्यको लोकवार्ता अन्तर्गत गालीलाई पनि राखिएको छ। नेपाली शब्दकोश अनुसार गाली भनेको कसैप्रति रिसाएर वा क्रोधले गरिने अश्लील वा अपमानजनक वचन हो । बेइज्जत भनेको अनादर वा अपमान भनेर बताइएको छ। नेपाली समाजमा थुप्रै प्रकारका श्लील, अश्लील गाली प्रयोग गरिएको पाइन्छ । मन्त्री आलेले प्रयोग गरेको गाली अत्यन्तै अश्लील गाली अन्तर्गत पर्दछ । जुन सामाजिक प्रचलनमा पाच्य हुँदैन। 

अहिले स्वतन्त्रताको नाममा नेपालका नेताले जनताको ताली खान विपक्षीलाई  सत्तोसराप हुने गरी गाली गर्ने परम्परा नै बसेको देखिन्छ । वास्तवमा नेपाली राजनीतिमा गाली र बेइज्जत परम्परा त अहिले चरम रुपमा नै पुगेको देखिन्छ । गालीका सम्बन्धमा डा. खगेन्द्र घोडासैनी (अछामी गालीको अध्ययन, दोस्रो संस्करण, २०७७) लेख्छ्न् – गालीको प्रयोग आवेशको शमन र दोषीलाई दण्ड दिनको लागि गरिन्छ । 

नेपाली राजनीतिमा केबल आवेशको शमन गर्न गाली गरिएको देखिन्छ । सभा समारोहमा उपस्थिति समूह वा भेलालाई उत्तेजित पार्न, समर्थकको ताली खान र हाइहाइ हुन आफ्नो विपक्षीलाई राजनीतिक गाली दिएको पाइन्छ । एकले अर्कोलाई  अस्तित्व नै स्वीकार नगरी नाङ्गेझार पारेर गाली र बेइज्जत नगरेसम्म कुनै सम्वाद, कुराकानी, वार्ता र भाषण नै हुँदैनन् । आफू असाध्यै राम्रो अर्को अति नै अगतिलो, तुच्छ र घृणित भनेर सत्तोसराप गर्छन् । यिनीहरूका बोलीमा चरम अश्लीलता नै देखिन्छ । जस्तैः अर्काकी छोरीलाई बोकेर हिँड्ने, राष्ट्रपति उतै गए भइहाल्यो, लालगद्दार, फोँफोँ गर्दै हिँड्ने आदि तमाम शब्दहरू छन् । आफ्नो उचाई बढाउन अर्कोलाई जतिसक्दो तल गिराउने प्रवृत्ति नै राजनीतिमा स्थापित भयो । जनताले राम्रो, सुख, शान्ति र विकासका कुरा सुन्नु छैन। चौबीसै घण्टा, सातै दिन, महिनाभरि र वर्षसम्म एकअर्काको गाली र बेइज्जत सुनिरहेका छन् । एकअर्काबीचमा भनाभन, गाली गलौज, असंसदीय प्रवृत्ति जस्ता अमर्यादित क्रियाकलाप देखिन्छ । 

समय समयमा देशको जिम्मेवार व्यक्तिले बोल्ने बोलीमा देखिने यस्ता अश्लील गाली पनि राजनीतिमा देखिएको दुर्गन्धको परिणाम नै हो । नेतामा देखिएको चरम छाडापन नै हो । नेतामा हुनुपर्ने राजनीतिक, नैतिक, आचरणगत संस्कार छैन अनि कसरी सभ्य र शिष्ट बोल्न सकुन् । जहिले पनि राजनीतिक अस्थिरता सिर्जना गरी राजनीतिक खिचातानी भन्दा अरु केही हुन सक्दैन । जसले आफूलाई सर्वेसर्वा भन्छन् र आफूलाई राजनीतिक ‘बा’ भनेर देवत्वकरण  गर्छन् । जो जिम्मेवार पदमा रहेर देशको शासन सत्ता चलाउँछन् तिनीहरूमा नै राजनीतिक संस्कार छैन । मनपरि बोल्छन् । आफूले कुर्सी प्राप्त गर्नको लागि विपक्षीलाई तथानाम गाली गर्छन् । शीर्षस्थ लगायत सबैको मुखमा झुण्डिएको कुरा भनेका बेइमानी, राष्ट्रघाती, भस्मासुर, प्रतिगामी, लालगद्दार, देशद्रोही जस्ता असाध्यै नीच शब्दको प्रयोग बारम्बार दोहोर्‍याएका हुन्छन् । 

एक आपसमा चोँचोमोँचो मिलाउँदा त्यहाँ कुनै किसिमको आलोचना हुँदैन । सबभन्दा गतिला र उदाहरणीय बनेर देखा परिरहेका हुन्छन् । अनि अलिकति खटपट भयो त्यहाँ कुनै राजनीतिक संस्कार देखिँदैन । बडो आश्चर्यलाग्दो दृश्य  बारम्बार देख्नुपर्छ । प्रत्येक ठूला नेताले अर्को नेतालाई वा अर्को दललाई धोखेबाज, मूर्ख, गधा आदि भनेर बेइज्जत नै गर्दछन् । प्रत्येक नेता वा तिनका चम्चा आ–आफ्नै ढंगले मौलिक पाराले गालीका गोली बनाएर झोलामै बोकेर हिँड्ने गर्दछन् अनि पुच्छरेहरूले त्यही कुरा सिको गर्छन् । 

नेता गालीको लागि शब्दकोश पनि बोकेर हिँड्छन् कि जस्तो छ । किनकि बेलाबेलामा गालीका नयाँ नयाँ गोली फुत्त फुत्त निकालिरहन्छन् । अनि मौका पर्नासाथ स्वाट्ट ठोक्दिहाल्छन् । कतिखेर कुन नेताले वा चम्चाले वा टीकेले कसलाई गालीको गोली हान्छन्, कसैलाई थाहा पत्तो हुन्न । त्यसैले सबै प्रकारका दल र तिनका रंगीबिरंगी नेताहरूका लागि सबै किसिमका माहौलमा विविध प्रकारका गालीहरूको आवश्यकता हुन्छ । चाहे कुनै दलको मिटिङ होस्, संसद्मा होस् वा चुनावी सभा, यी सबैमा प्रत्येक माइकको आवाजमा गालीबिना नेताले आफ्नो  सम्बोधन नै अपूर्णजस्तो  मान्छ र गाली बेइज्जतको बर्षा गरि ताली खान्छ । 

हरेक नेताले गालीलाई आफ्नो मौलिकता नै बनाएको हुन्छ । आफ्नो कुरा राख्नु भन्दा अर्कोलाई गाली गरेर समय बिताउँछ । गाली पनि नेता र पार्टीले  एक कलाको रुपमा विकास गरेका छन् । गालीको ओज अनुसार नै यसले नेता र दलको महत्ता प्रदान गर्दछ । अर्थात् जति धेरै गाली गर्न सक्ने हुन्छ, ऊ उति नै ठूलो नेतामा दरिन्छ । जति बढी गाली गर्‍यो, चुनावमा भोट पनि त्यति नै बढी आउँछ भनी जनभ्रम सिर्जना गरी गालीकोश नै बोकेर हिँड्छन् ।

सभा समारोहमा गालीको मात्रा अनुसार तालीको गड्गडाहट हुन्छ । बिना गाली त ताली बज्दैन नि हाम्रो नेपालमा । त्यसैले अर्कालाई गालीको हिलो छ्याप्न सक्ने, अर्कालाई नीच देखाएर बोल्न सक्ने नेताहरूलाई नै महान् क्रान्तिकारी र स्पष्ट वक्ताको पगरी गुथिदिने प्रचलन छ । यसरी हेर्दा हाम्रो देश गालीका गोली निर्यात गर्न सक्ने हैसियतमा पुगिसकेको देखिन्छ। राजनीतिमा भित्रिएको गाली संस्कृतिको एउटा रुपको प्रयोग आलेको गाली हो । म को बोलिरहेको छु भनेर होश नै गुमाएको अवस्था आलेमा देखिन्छ । म जस्तो जिम्मेवार मन्त्रीले यस्तो अश्लील बोल्दा भविष्यमा कस्तो परिणाम आउन सक्ला भन्ने आँकलन गर्न नसक्ने क्षमता उनमा देखियो ।
  
देशको नीति निर्माण गर्ने जनप्रतिनिधि  र राज्य संचालन गर्ने मन्त्रीमा नै राजनीतिक, सामाजिक, सांस्कृतिक र नैतिक आचरण छैन भने आम नेपाली जनताको भविष्य के होला। यस्ताबाट के आशा गर्ने र यस्ताले कस्तो देश बनाउलान् भनेर भरोसा गर्ने ? सधैभरि प्रश्नचिन्ह खडा भएको छ। देशको जिम्मेवार मन्त्रीले गरेको यस्तो घृणित क्रियाकलापलाई माफी दिने ठाउँ छैन । नैतिकता र आचरणका आधारमा जनप्रतिनिधि र नेपाल सरकारको मन्त्रीमा एक मिनेट बस्ने हैसियत मन्त्री आलेमा छैन । यस्ता मन्त्री भन्दा नेपाली जनताहरू धेरै माथि छन् । मुखमा जे आयो त्यही बोल्ने नेतालाई नेता मान्नुपर्छ भन्ने छैन । जनप्रतिनिधि भनेको सदाचार, शालीन, सभ्य, जनउत्तरदायी र भरोसा गर्न योग्य हुनुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ