arrow

 अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
arjun-narasingh-kc-book-release.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले लेखेको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ बजारमा आएको छ । नेपाली कांग्रेसको बारेमा इतिहास, संरचनागत संगठन, इतिहास निर्माता नेताहरूको वीरतापूर्ण योगदान, पार्टीको झण्डा, निर्वाचन चिन्ह लगायतका ऐतिहासिक विषयमा गहिरो ज्ञान लिन चाहनेको लागि पुस्तक उपयोगी हुने निश्चितप्रायः छ । 

पार्टी नेताले नै आफ्नो पार्टीको यति प्रभावशाली समीक्षात्मक इतिहास पुस्तकाकारमा लेखेको सम्भवतः यो नै पहिलो भएको प्रकाशक अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन प्रालिको दाबी छ । पुस्तकको भूमिका पूर्वराष्ट्रपति डा रामवरण यादव र प्राडा लोकराज बरालले लेखेका हुन् । 

विचारमुलक राजनीति गर्न चाहने कांग्रेसका कार्यकर्ताहरूका लागि यो पुस्तक उपयोगी जानकारीमात्र होइन जरुरतको ज्ञान–भण्डार जस्तै बनेको छ । नेपाली राष्ट्रिय कांग्रेसको स्थापना, नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना, दुवै कांग्रेसको एकीकरण, कांग्रेस स्थापनाभन्दा अघिका विद्रोह र विद्रोहीको रोचक-रोमाञ्चक परिचय, कांग्रेसले उनीहरूको योगदानलाई विरासतको रूपमा ग्रहण गर्नुको कारणबारे अत्यन्त रोचक इतिहासको प्रस्तुति यसमा छ । 

खासगरी इतिहासका विभिन्न कालखण्डमा परिवर्तनको निम्ति संलग्न, त्याग, योगदान र जीवन उत्सर्ग गरेका हराएका, ओझेलमा परेका, बिर्सिएका प्रजातान्त्रिक आन्दोलनका उल्लेखनीय क्रान्तिकारीहरूलाई चिनाउने जमर्को यस पुस्तकमा भएको छ ।

कांग्रेस इतिहासमा १४ वटा उच्च आदर्श र उदाहरण स्थापना गर्ने पहिलो पार्टी भएको प्रमाण वा कांग्रेसमा आफूले पाएको पद साथीलाई सहजै हस्तान्तरण गरेका करिब १० वटा ऐतिहासिक र आदर्शवान घटना वा कांग्रेसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सक्रियता जस्ता प्रमाणसिद्ध इतिहासलाई पनि यस पुस्तकले समेटेको छ। 

२००७ सालको क्रान्ति कसरी सम्पन्न भयो, २००७ सालपछि २०१५ सालसम्म कांग्रेस कसरी सक्रिय रह्यो, २०१५ सालमा आमनिर्वाचन सम्पन्न भएपछि पहिलो जननिर्वाचित सरकार गठन गर्न कांग्रेसले गर्नुपरेको सङ्घर्ष र सामना गर्नुपरेको व्यवधान आदिका बारेमा यस पुस्तकमा विचारोत्तेजक कहानी वा उपन्यास पढेजस्तो महसुस हुन्छ ।

२०१७ सालपछि पार्टीहरूले भोग्नुपरेको प्रतिबन्ध र निषेधको अवस्थामा कांग्रेसको गतिविधि र भूमिका के थियो ? प्रजातन्त्र पुनः स्थापनाको लागि हतियार उठाएर क्रान्ति गरेको पार्टी राष्ट्रिय मेलमिलापको अभियन्ता कसरी भयो ? त्यसमा भित्री रूपबाट के–कस्ता खेल भए, मेलमिलाप नीति लागु गर्न क–कसले अहम् भूमिका निर्वाह गरे, इतिहास खोतलेको तथ्य यो पुस्तकले समेटेको छ ।

कांग्रेसको स्थापना सञ्चालन र प्रजातन्त्रको निम्ति समर्पित भएर होमिएका वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, गिरिजाप्रसाद कोइरालादेखि योगेन्द्रमान शेरचन, दिवानसिंह राई, सरोज कोइराला, तेजबहादुर अमात्य, एनडी प्रकाश जस्ता नेताहरूको उल्लेख गरिएको छ । 

तर पार्टीका कार्यकर्तादेखि नयाँ पुस्तासम्मले चिन्नुपर्ने यस्ता इतिहास निर्माता क्रान्तिकारी नेताहरू, वीर सहिदहरू गरी करिब एकसय व्यक्तिहरूको युगान्तकारी योगदान र परिचयको चित्ताकर्षक विवरण पाइन्छ । कांग्रेस इतिहासको स्रोतको रूपमा पनि पुस्तकमा समेटिएका छन् ।

कांग्रेसका महाधिवेशन, महासमिति बैठक, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, मजदुर सङ्गठन आदि भातृसंस्था स्थापनाको युगप्रवर्तक पक्षलाई पनि पुस्तकले समेटेको छ । 

२०१७ सालपछि निर्वासित अवस्थामै स्थापित प्रजातान्त्रिक समाजवादी युवा दल र राष्ट्रिय विद्यार्थी तथा युवा लिगको स्थापना कसरी भयो ? आदि कांग्रेस इतिहासका अनेकौँ अध्याय यो पुस्तकका आकर्षणको रूपमा समेटिएका छन् ।

२०३३ सालमा प्रतिपादित राष्ट्रिय मेलमिलाप तथा एकता नीति, २०३६ सालको जनमत सङ्ग्रह, त्यसअघिको देशव्यापी विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन, २०४७ को संविधान, राजाको प्रत्यक्ष शासन, माओवादीलाई शान्तिपूर्ण खुला राजनीतिमा ल्याउँदाका गतिविधि, शान्ति प्रक्रियामा नेतृत्व, २०६२–६३ को जनआन्दोलन, अन्तरिम संविधानदेखि २०७२ को संविधान जारी गर्नमा सम्म कांग्रेसको भूमिका के रह्यो ? विवरण पुस्तकले सविस्तार उल्लेख गरेको छ ।

आदिवासी, जनजाति, दलित, मधेसी, मुसलमान, सुदूरपश्चिम, मजदुर, किसान आदि वर्ग र समुदायसँग कांग्रेसको सम्बन्धको बारेमा पुस्तकले कांग्रेसको नीति स्पष्ट पारेको छ । 

साथै कम्युनिष्ट पार्टीहरूलाई हेर्ने दृष्टिकोण, कम्युनिष्टहरूका नीतिगत खोटहरूलाई लोकतान्त्रिक मूल्य–मान्यताको कसीमा हेरिएको विवरण, समाजवादबारे, कांग्रेसको मध्यमार्ग, कांग्रेसविरुद्ध चलाइएका अनर्गल प्रचारबाजी तथा भ्रम आदिको बारेमा पनि पुस्तकले धेरै कुरा स्पष्ट पारेको छ ।

पुस्तकको अन्तिम खण्डमा २००३ सालदेखि २०७८ सम्मका कांग्रेसका ऐतिहासिक गतिविधि वा घटनाहरूको तिथि मितिसहित उल्लेख र पार्टीका महत्त्वपूर्ण नेताहरूको निधनलाई पनि उल्लेख गरिएको, पुस्तकको नवीन विशेषता भएको छ ।

ऐतिहासिक दस्ताबेज, समाजवादबारे वीपीका विचार, कार्यकर्ताहरूलाई वीपीको आलोचनात्मक चर्चित पत्र, अन्त्यमा लेखक स्वयंबाट पार्टीका साथीहरूमा विचारोत्तजक आह्वानले पनि पुस्तकलाई थप रोचक तथा गहकिलो बनाएको छ ।

पुस्तकको पछिल्लो पृष्ठमा लेखक स्वयंद्वारा हिन्दी भाषामा रचित नेपाली कांग्रेसको झण्डा-गान पनि अतिरिक्त मौलिक आकर्षणको रूपमा राखिएको छ ।

४८४ पृष्ठ लामो पुस्तकको मूल्य रु ७५० तोकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ