arrow

यूएई प्रहरीले पक्रेका पत्रकार पाण्डेलाई रिहाइको पहल गर्न यूनिमीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
umakanta-pandey-patrakar-uae.jpg

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको प्रहरीले हिरासतमा राखेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहाइका लागि पहल गरिदिन यूनिमी नेपालले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई अनुरोध गरेको छ । 

मिडियाकर्मीहरुको अन्तर्राष्ट्रिय संस्था यूनिमी नेपालका अध्यक्ष गोविन्द धिताल नेतृत्वको टोलीले मन्त्री खड्कालाई ज्ञापनपत्र बुझाएर पत्रकार पाण्डेलाई तत्काल रिहाइका लागि पहल गर्न आग्रह गरेको महासचिव जीवन भण्डारीले जानकारी दिए । 

युएईमा रहेर पत्रकारितामार्फत नेपाल र नेपालीको पक्षमा आवाज उठाउँदै आएका युवा पत्रकार पाण्डेलाई लेखेकै आधारमा पक्राउ गरिनु अत्यन्त दुःखद भएको यूनिमीको भनाइ छ । 

‘पत्रकार पाण्डेको पक्राउका सम्बन्धमा यूएईस्थित नेपाली दूतावासमा पटकपटक जानकारी गराई रिहा गर्न पहल गरिदिन परिवारका सदस्यहरुले आग्रह गर्दासमेत दूतावासले बेवास्ता गरेको थाहा हुन आएको छ’, ज्ञापनपत्रमा लेखिएको छ । 

नेपाली व्यवसायी र कामदारको संरक्षण गर्नुपर्ने दूतावासले नै त्यहाँ कार्यरत सञ्चारकर्मी नियोजितरूपमा पक्राउ पर्दासमेत बेवास्ता गर्नु अर्को आपत्तिजनक विषय बनेको युनिमीले जनाएको छ । 

युनिमीको ज्ञापनपत्र बुझेपछि मन्त्री खड्काले पत्रकार पाण्डेलाई रिहा गर्न आफ्नो तर्फबाट पहल भइरहेको र थप पहल गर्ने प्रतिबद्धता जनाएका थिए । उनले कुनै पनि नेपालीलाई विदेशी भूमिमा दुःख पर्दा नेपाली दूतावासले सहयोग र समन्वय गर्नु आधारभूत दायित्व भएकाले सोहीअनुसारको प्रयास हुने जानकारी दिए ।

परिवारजनले दिएको जानकारी अनुसार त्यहाँको स्थानीय निकायले उनलाई सोधीखोजीका लागि बोलाएपछि गत मंगलबार बिहान १० बजे उनी आबुधाबीको सीआर्इडी कार्यालय गएका थिए । करिब ११ः३० बजेबाट उनको मोवाइलमा सम्पर्क हुन छोड्यो । 

पटकपटक सम्पर्क प्रयास गर्दा पनि सम्पर्कमा नआएपछि परिवारले स्थानिय निकायमा गएर उनको खोजी प्रयास गर्यो । साँझ ६ बजेतिर उनी आफैंले सम्पर्क गरेर आफू स्थानीय निकायको निगरानीमा रहेको मात्र जानकारी गराएका थिए । 

किन र के कारण भन्नेबारे पछि खुलाउने बताए । त्यसपछि परिवारले नेपाली दूतावास, सामाजिक संस्था लगायतमा खबर गर्यो । दूतावासमा जानकारी गराएपछि उनको विषयमा बुझ्न दूतावासले पीआरओ खटाएको जनाएको थियो । 

बुधबार साँझ पुनः उनले सम्पर्क गर्दा आफूलाई सामाजिक संजालमा भिजिट भिषाका बारेमा लेखिएको स्टाटसलाई आधार मानेर दूतावासले उजुरी गरेको खुल्यो । 

उक्त उजुरी दूतावासले फिर्ता लिएमा आफूलाई तत्काल छोड्ने तर नलिएको अवस्थामा जेल चलान गर्ने र डिपोर्ट गर्ने जनाए । उनको भनाइलाई आधार मानेर दूतावासमा बुझ्दा दूतावासले आफूहरुले उजुरी नगरेको जनायो । 

राजदूत आफैंले पनि दूतावासबाट यस्तो हुन नसक्ने बताउँदै आएका छन् । गत शुक्रबारदेखि उनी परिवारको सम्पर्कमासमेत छैनन् । परिवारले उनको अवस्था, उनी विरुद्घको मुद्दा कसले र किन लगाएको बारेमा जानकारी गराइ उनलाई सकुशल फर्काइदिन माग गर्दै दूतावासमा आग्रह गरेको छ ।
 
परिवारले दूतावासमा दिनहुँ सम्पर्क गर्दा उनीमाथि अनुसन्धान भइरहेको र अन्य विषयमा केही नभनेको जवाफ दिने गरेको छ । 

परिवारले उनी कहाँ छन् रु अवस्था के छ रु किन सम्पर्क हुन सकेको छैन ? भन्दा आफूहरुलाई पनि भेट्न नदिएको र शुरुमा स्थानीय निकायले बोलाएकै ठाउँमा राखेको र अनुसन्धान चलिरहेको जवाफ दिने गरेको छ । 

तर अन्य माध्यमबाट बुझ्दा उनी दूतावासले भनेको स्थानमा नरहेको र उनलाई आबुधाबीको केन्द्रीय कारागार अल वत्तत्तामा राखिएको खुलेको छ । स्थानीय प्रहरीका अनुसार उनीविरुद्घ सामाजिक संजालमा दूतावासका बारेमा लेखेको आधारमा साइबर क्राइमको मुद्दा देखिएको छ । 

उनको तुरुन्त रिहाइका लागि पहल गरिदिन परिवारजनले सबैलाइ आग्रह गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ