- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिमा सबैभन्दा बढी ताली र गाली पाएका नेता रहे । निर्भिक, निडर र अडानी नेताको छवि बनाएका उनलाई आमजनतासँग घुलमिल हुने शैलीले नै एक राजनेताका रूपमा स्थापित गराएको भन्दा अत्युक्ति नहोला । लामो समय नेपालको राजनीति आफ्नै वरिपरि घुमाएका पूर्वप्रधानमन्त्री कोइरालाको निधन भएको पनि १४ वर्ष भइसकेको छ । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको निधन भने ८५ वर्षको उमेरमा २०६६ साल चैत ७ गते भएको थियो ।
शुरुमा कम्युनिष्टप्रति असाध्यै घृणा गर्ने उनले बोलेको ‘माले, मसाले, मण्डले’ एकै हुन् भन्ने शब्दावली निकै चर्चित बन्यो । त्यसैका कारण उनीप्रति नेपालका सबैजसो कम्युनिष्ट पार्टी र तिनका नेताले आगो ओकल्ने आलोचना गरे भने देशको विभिन्न स्थानमा पुग्दा भौतिक आक्रमण नै गरे । केही स्थानमा त बाल बाल बाँच्ने अवस्था आयो । २०४६ को जनआन्दोलनपछि मृत्युपर्यन्त २० वर्षे नेपाली राजनीति कोइरालाकै वरिपरी घुमिरह्यो । संवैधानिक राजतन्त्रको पक्षपाती नेपाली कांग्रेस लोकतान्त्रिक गणतन्त्र स्वीकार्ने स्थानमा पनि उनकै निर्णयका कारण पुग्यो ।
कोइरालाकै राजनीतिक रजगजका समयमा मुलुकमा संसदीय राजनीतिक व्यवस्था अन्त्य गर्ने उद्घोषका साथ थालिएको माओवादी हिंसात्मक द्वन्द्व अन्ततः उहाँकै आड, भरोसा र विश्वासमार्फत् शान्तिपूर्ण राजनीतिमा अवतरण हुन पुग्यो । कोइरालाको औंला समातेर मूल राजनीतिको राजमार्गमा आएको त्यही माओवादी र तिनका नेता प्रचण्डले जीवनको उत्तरार्धमा कोइरालालाई नराम्ररी धोका दिए ।
२०६२–०६३ को आन्दोलनपछि राजालाई शक्तिहीन बनाइएसँगै राष्ट्राध्यक्षको अधिकारसमेत प्रयोग गरेका कोइरालालाई मुलुकको पहिलो राष्ट्रपति बन्नबाट भने रोकियो । शुरुमा प्रचण्डलगायत माओवादी नेताले पहिलो राष्ट्रपति बनाउने भनेर कोइरालालाई आश्वासन दिएको भए पनि पछि बाहिरी शक्तिसमेतको दबाबमा प्रचण्ड आफ्नो बाचाबाट पछाडि हटे र गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनेर इतिहास लेखाउने उनको धोको त्यत्तिकै रह्यो ।
२०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि पाँच पटक मुलुकको प्रधानमन्त्री बनेका उनी २०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएलगत्तै पहिलो पटक सिंहदरबारको कुर्सीमा पुगेका थिए । पछिल्लो पटक भने २०६३ माघ १ देखि २०६५ साउन ८ सम्म राष्ट्राध्यक्षको समेत अधिकार प्रयोग गर्ने हैसियतमा रहे । २०५३ सालदेखि मृत्यु नहुँदासम्म उनी लगातार पार्टी सभापति रहे ।
राजनीतिको शिखरमा रहँदा कोइराला विवादको घेराबाट भने उम्कन सकेनन् । सत्तामा रहँदा भ्रष्टाचारका अनेकन काण्डको दोष बोक्नुपरेका उनले पार्टी नेतृत्वमा रहँदा संस्थापक नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई पार्टीबाट बाहिरिन बाध्य बनाएको आरोप खेप्नुपर्यो । पार्टीभित्रको विवादमा आफ्नै बहुमतको सरकार भंग गरी मध्यावधिमा लगेर राजनीतिक अस्थिरता निम्त्याएको दोष पनि उनीमाथि लाग्ने गरेको छ ।
यद्यपि जीवनको उत्तरार्धमा माओवादी हिंसा अन्त्य गराई मुलुकमा शान्तिपूर्ण राजनीति बहाली गराउन महत्वपूर्ण भूमिका खेलेको जस उनलाई नै जान्छ । साथै आफ्नै दाजु बीपी कोइरालाले देखाएको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको वैचारिक बाटो त्यागेर मुलुकमा राजतन्त्र अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्णायक कदम चालेको जस पनि उनलाई नै जान्छ ।
राजाको रीसले कम्युनिष्टको बुइ चढेर मुलुकलाई कम्युनिष्ट कित्तामा हुत्याएको भन्ने आरोप उनीमाथि नलागेको भने होइन । सत्ता सञ्चालनमा पटक– पटक राजाले दिएको धोखाधडी, प्रजातन्त्रप्रति राजाहरूको कुदृष्टि, कांग्रेस सकाउन कम्युनिष्ट पाल्ने राजदरबारको शैली जस्ता कारणले कोइराला अन्ततः कम्युनिष्ट कित्तामा पुगेको भन्नेहरू पनि छन् ।
यस आलेख नेपाली राजनीतिका तिनै मूर्धन्य व्यक्तित्व गिरिजाप्रसाद कोइराला ‘गिरिजाबाबु’ लाई दृश्य क्यामेरा चलाउन सिकाउन पाएको क्षणको सम्झनामा केन्द्रित छ । प्रसंग आजभन्दा करिब २० वर्ष अगाडि २०६० सालतिरको हो । ढ्याक्कै मिति त यकिन गर्न सकिन । यो पङ्तिकार ईमेज च्यानलमा संवाददाताका रुपमा काम गर्दै थियो । नेपालमा निजी टेलिजिनहरूले समाचारसहितको आफ्नो सेवाको प्रसारण थालेको भर्खर भर्खरै थियो । त्यतिबेला निजी क्षेत्रमा ईमेज च्यानल, कान्तिपुर टेलिभिजन, च्यानल नेपाल र सरकारी टेलिभिजन नेपाल टेलिभिजन प्रसारणमा थिए ।
त्यस समय ठूला–ठूला काँधमा बोकेर दृष्य खिच्नुपर्ने क्यामेराको विकल्पमा भर्खर भर्खरै साना हाते क्यामेरा प्रयोगमा आउन थालेका थिए । ईमेज च्यानलले ‘वन म्यान रिपोर्टिङ’ को अवधारणा अनुसार हामी केहीलाई साना ह्याण्डी क्याम क्यामेरा चलाउन दिएको थियो । यस स्तम्भकारलाई नेपाली कांग्रेसको समाचार संकलन गर्ने बिट अर्थात् जिम्मेवारी दिइएको थियो ।
त्यसैअनुसार सधैझैँ कांग्रेसको गतिविधि नियाल्नु काम थियो । माघ महिना हुनुपर्छ कांग्रेसको केन्द्रीय समिति बैठक बोलाइएको थियो । गिरिजाबाबु सभापति थिए । पार्टी कार्यालय थियो, काठमाडौँको टेकुमा । समय माओवादी सशस्त्र द्वन्द्व र राजा ज्ञानेन्द्र शाहको शासनको चेपुवामा थियो । एक हिसाबले भन्ने हो भने संसदीय राजनीतिक फाँटका दलहरू चरम अलोकप्रिय बनाइएको समय थियो ।
कोइरालाको सभापतित्वमा बैठक शुरु भयो । मुख्यसचिवले क्यामेराम्यानहरूलाई दृष्य खिच्नका लागि बैठक कक्षमा बोलाए । अरु टेलिभिजनबाट ठूला क्यामेरा बोकेर क्यामेराम्यानहरू बैठक कक्षमा छिरे । हाम्रो टेलिभिजनबाट क्यामेराम्यान र रिपोर्टर दुवै म (यो पङ्तिकार) नै थिएँ । म पनि अरु क्यामेराम्यानको साथ बैठकभित्र छिरेँ । बैठक कक्ष पनि अहिलेको पार्टी कार्यालयको जस्तो थिएन । साँघुरो ।
नेताहरू कुर्सी मिलाएर बल्ल –बल्ल बसेका । केन्द्रीय समितिको आकार पनि सानो भएकाले नेताहरू सकसका साथ अटाएका । दृष्य खिच्न पनि निकै सकस हुनेझैँ । म पनि बैठकको दृष्य एकपछि अर्काे गर्दै अरुलेझैँ खिच्दै थिएँ । तर म सिकारु थिएँ । अटोमा राखेर भर्खर क्यामेरा चलाउन थालेको मात्र थियो । लङ (लामा) सट, प्यान (घुमाउने) सट लिँदै मिड (मध्य) सट खिच्दै सभापति कोइराला भएको नजिक पुगेँ ।
त्यही बेला सभापतिको आसनमा रहेका गिरिजाबाबुले मेरो क्यामेरातर्फ हेर्दै भने, ‘अहो, कति सानो क्यामेरा रैछ हगि, त्यो त म पनि चलाउन सक्छु होला । मलाई पनि चलाउन सिकाइदिनुस् है’ भने । मैले हवस् भनेँ । तर पर्यो फसाद ! मैले भर्खरै क्यामेरा अटोमा राखेर खिच्न मात्रै जानेको थिएँ । अब कसरी गिरिजाबाबु जस्तो ‘टावरिङ पर्सनालिटी’ लाई क्यामेरा चलाउन सिकाउनु ?
बाँकी समय मैले के खिचेँ मलाई नै पत्तो भएन । असिन पसिनझैँ भैसकेको थिएँ । अरु क्यामेराम्यानले आफूलाई चाहिने दृष्य संकलन गरिसकेका थिए । मुख्यसचिवले ल अब भयो, तपाईहरू जानुस्, भने । म चाहिँ बैठकमै रहँे । अब मैले गिरिजाबाबुलाई क्यामेरा चलाउन सिकाउनु थियो । ‘आफू त महादेव उत्तानो पर् कसलाई दिने वर’ भने जस्तो अवस्था थियो मेरो । तैपनि मैले कांग्रेसका सभापतिलाई क्यामेरा चलाउन सिकाउनु नै थियो ।
उनी बसेको कुर्सी नजिक गएँ । क्यामेरा उनको नजिक लगेर कसरी दृष्य खिचिन्छ भनेर देखाउँदै अन बटम थिच्न लगाएर क्यामेरा यसो दायाँबायाँ घुमाउन लगाएँ । उनले आफैँले हातमा लिएर क्यामेरा चलाए । त्यसपछि मैले अब बन्द गर्न यो अफ बटम थिच्नुपर्छ भनेँ । उनले उसैगरी अफ बटम थिचे । मलाई लाग्यो ठूलो सकसबाट उत्रिएँ । लगत्तै प्रफुल्ल मुद्रामा बैठकका सबैतिर हेर्दै गिरिजाबाबुले भने, ‘अहो, मैले पनि क्यामेरा खिचेँ है ।’
सबै जनाले समर्थन जनाए । त्यति नै बेला उनले थपे, ‘अनि नि यो अहिले मैले खिचेको कस्तो भएछ, देखाउनुस् त ।’ अब मेरो हंसले ठाउँ छोड्यो । आफूले टेकेको धर्ती नै भासिए झैँ पो लाग्यो । कारण थियो, मलाई खिचेको दृष्य रिप्ले अर्थात् फर्काएर देखाउन नआउनु । म भर्खर अन अफ गरेर अटोमा राखेर खिच्न सिकेर क्यामेरा बोक्न मात्रै थालेको थिएँ । अब रिप्ले गरेर कसरी देखाउनु ? परेन फसाद ! अब मैले अघि उनले खिचेको दृष्य देखाउन सक्ने अवस्थै थिएन । केही न केही बहानाबाजी गर्नु नै थियो । अर्थात् झूठ बोलेरै भए पनि उम्कनु थियो ।
म अँ उँ गर्दै त्यो त भन्दै थिएँ । बैठकको सामुन्ने केन्द्रीय सदस्य, नेता अर्जुननरसिंह केसी थिए । उनले मेरो मुहारको भाव पढ्दै अप्ठेरोमा परेको देखिसकेछन् । हत्तपत्त केसीले भने, ‘गिरिजाबाबु यो त उनीहरूले अहिले यहाँ खिच्ने मात्रै हुन् । देखाउन त अफिस गएर कम्युटरमा सारेपछि एडिट गरेर बल्ल देखाउने हुन् । अहिले हेर्न मिल्दैन ।’
मैले पनि उनको यही भनाइमा हो मा हो मिसाएँ । आफूलाई शिरमाथिको ठूलो चट्टान उतारेझैँ लागेको थियो । नेता केसीले त्यसो भनेपछि कोइरालाले थपे, ‘ए, त्यसो भए यो मैले अहिले खिचेको पनि भरे देखाउनु है । म हेर्छु नि ।’ आफूलाई कतिखेर उम्किउँ जस्तो भैसकेको थियो । म हुन्छ भनेर बैठकबाट बाहिरिएँ ।