arrow

मभित्रको रेडियो र रेडियोभित्रको म

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० फागुन १ मंगलबार
tarkaraj-bhatta-2080-11-01.jpg

जब म ६–७ वर्षको थिएँ २०५७–०५८ सालदेखि नै रेडियो सुनेको अलि अलि सम्झना छ । रेडियो नेपाल । त्यति बेला देशमा ‘नेपाल अधिराज्यको संविधान २०४७’ जारी भएको थियो । मुलुकमा राजाको शासन थियो । रेडियोले राजा र सरकारकै समाचारलाई उच्च प्राथमिकता दिन्थ्यो ।

रेडियोमा त्यसबेला तत्कालीन ‘शाही सेना’ र ‘माओवादी’ का खुब समाचार आउँथे । देशमा सशस्त्र युद्ध चलिरहेको थियो । हाम्रो घरमा एउटा ठूलो रेडियो सेट थियो । छिमेकी काका–बाजेहरू साँझपख प्रायः हाम्रो घरमा आउँथे । ७ बजेको रेडियो नेपालको समाचार सुन्न । 

चिया पिउँदै समाचार सुन्नुहुन्थ्यो, ७ बजेको समाचार, घटना र विचार अनि कहिलेकाहिँ भने राति ९ बजेको समाचार पनि सुनेर घरतिर लाग्नुहुन्थ्यो । त्यस बेला रेडियो नै राज्यमा हुने गरेका घटनाक्रम र गतिविधिको जानकारी दिने एउटै मात्र माध्यम थियो । 

मलाई भने कता कता यो रेडियो भन्ने बस्तु कसरी बोलिरहेको छ ? रेडियो नेपालमा समाचार वाचन गर्ने हरिशरण लामिछाने, पदमराज कार्की, गोपाल बस्नेत, कोमल वली लगायतका मान्छे कस्ता होलान् ? भन्ने जिज्ञासा हुन्थ्यो । 

कहिलेकाहिँ रेडियो बिग्रिदा बुबाले रेडियो सेट खोल्नुहुन्थ्यो, सेट भित्र रहेका एक एक पाटपूर्जा देखाएर मलाई भन्नुहुन्थ्यो, यो कोमल वली...., यो गोपाल बस्नेत...., यो पदमराज कार्की....भनेर । सायद त्यतिबेला म पत्याउँथे होला, यिनै हुन् रेडियोमा बोल्ने भनेर ।

समयको क्रमसँगै बुझी नबुझी रेडियो सुन्ने बानी बस्यो । प्रसारण हुने हरेक समाचार, कार्यक्रम र साहित्यिक कार्यक्रमहरू अझ बढी सुन्न थालेँ । 

पाँच ओटा विकासक्षेत्रमा रेडियो नेपालका क्षेत्रिय प्रसारणहरू थिए । जस अन्तर्गत दिपायल प्रसारणबाट देउडा गीत बज्थे । देउडाकै कार्यक्रम ‘हजारी माला’ त्यतिखेर दिपायलबाट बज्ने लोकप्रिय कार्यक्रम थियो । नबिराई म पनि सुन्थेँ । लाग्थ्यो, यो रेडियोमा बोल्न पाए नि हुने..... । यसरी, मभित्र रेडियो थियो । मेरो मनभित्र रेडियो थियो ।

विस्तारै जिल्लामै सामुदायिक रेडियो खुल्न थाले । डडेल्धुरामा २०६४ सालमा पहिलो पटक सामुदायिक रेडियो प्रसारणमा आयो । त्यो समय म कक्षा ६ मा पढ्थेँ । त्यतिबेलासम्म रेडियोको बारे खासै जानकारी थिएन । आफैँले सोचेँ, हामी जस्तै मान्छे एउटा कोठाभित्र माइकमा बोल्छन् होला, त्यो कुनै प्रकारको प्रविधिले रेडियोसम्म जोडिएको हुन्छ होला भनेर । 

पछि जिल्लामै अन्य थुप्रै रेडियोहरू खुले । विस्तारै रेडियोको प्रसारण हरेक गाउँबस्तीसम्म पुग्न थाल्यो । हरेक गाउँबस्तीका आवाज रेडियोको माध्यमबाट प्रसारण हुन थाल्यो । एफएमहरूबाट प्रसारण हुने कार्यक्रममा सहभागिता जनाउन थालेँ, चिठीपत्रका कार्यक्रम र फोन इन कार्यक्रमहरूमा ।

२०६७ सालमा डडेल्धुराबाट सामुदायिक रेडियो अमरगढी ९७.४ मेगाहर्ज प्रसारणमा आयो । छोटो समयमा रेडियो अमरगढी लोकप्रिय बन्यो । म जस्तै धेरै रेडियो अमरगढीका श्रोता बने । रेडियोमा प्रसारण हुने साहित्यका कार्यक्रमहरू नछुटाई सुन्थे । रेडियो सुनेर नै मैले गजल र मुक्तक लेख्न सिके ।

रेडियो सुन्ने लत बस्यो । विस्तारै लाग्न थाल्यो, रेडियोमै काम गर्न पाए पनि हुने । २०७० सालमा म १२ कक्षा पढ्दै गर्दा रेडियो अमरगढी एफएम मा रेडियोमा काम गर्ने कर्मचारी आवस्यकता सम्बन्धीको सुचना प्रसारण भयो । त्यो अमरगढी एफएमकै लागि कर्मचारी मागिएको थियो । आवेदन दिए, छनोट पनि भए । मार्केटिङमा एक महिना जति काम गरे । विविध समस्याका कारण पछि केही समय रेडियोबाट टाढा रहे । 

पुनः २०७६ आषाढबाट रेडियो अमरगढी एफएममै निरन्तर रुपमा कार्यरत छु । बजार ब्यवस्थापन, रेडियो प्राविधिक, कार्यक्रम सञ्चालक हुँदै अहिले रेडियोमा समाचार वाचन गर्ने र समाचार लेख्ने जिम्मेवारीमा रहेको छु । 

रेडियोमा पहिलो चोटी ‘अन इएर’ जाँदाको सम्झना छ, रेडियो अमरगढीबाट साँझ ५ बजे प्रसारण हुने ५ मिनेटको छोटो समाचार ‘अमरगढी खबर रप्तार’ पढ्न गएको । मनमा अलि अलि डर भए पनि रेडियो नियमित सुन्ने भएर होला रेडियोमा बोल्न त्यति असहज भएन मलाई । 

पहिल्यैबाट रेडियो अमरगढी श्रोता माझ लोकप्रिय थियो । लोकप्रिय रहेको अझ पुष्टि भयो जब हरेक फोन इन कार्यक्रमहरूमा निरन्तर टेलिफोनका घण्टी बजिरहन्छन् । सूचना प्रसारण गर्दा ‘अमरगढी एफएम धेरैले सुन्छन् भनेर श्रोताहरूले सूचना टिपाउनु हुन्छ, भर परेरै ग्रामीण स्तरबाट आफ्ना समस्या बताउनु हुन्छ, भइगरेका गतिविधि हामी समाचारको माध्यमबाट रेडियोमा प्रसारण गरिरहन्छौँ ।

अहिले सामुदायिक रेडियोमा काम गर्दा समुदायसँग जोडिएर कार्यक्रम उत्पादन तथा समाचार संकलन गर्दा केही हदसम्म भए पनि गाउँका आवाज, गाउँका समस्या, गाउँका सम्भावनाहरू रेडियोबाट प्रसारण गरी आम श्रोतामाझ पुर्याउन पाइएको छ ।

रेडियोमा कार्यक्रम सञ्चालन गर्दा र समाचार वाचनकै कारण धेरैसँग परिचय बढेको छ । कार्यक्रम उत्पादन गर्न गाउँमा पुग्दा अथवा समाचार संकलनका लागि ग्रामीण स्तरहरूमा पुग्दा धेरैले विश्वास दिएका छन् । माया दिएका छन् । साथ दिएका छन् ।

अहिले विभिन्न प्रविधिहरूले रेडियोहरूलाई चुनौती दिइरहे पनि गाउँमा अझै रेडियो नै खबरको प्रमुख मात्रै होइन, विश्वसनीय माध्यमको रुपमा रहेको छ । 

अहिले रेडियो सबैको पहुँचमा छ । गाउँघरमा पत्रपत्रिका पुग्न कठिन छ । अझै पनि गाउँतिर सबैका घरमा रेडियो बज्छन्, रेडियो सुन्ने थुप्रै श्रोताहरू छन् । कोही रेडियो सेटबाट सुन्छन् त कोही मोबाइल सेटबाट । अरु फेसबुकमा आउने र अनलाइनमा आउने भन्दा एफएम रेडियोबाट प्रसारण हुने समाचार विश्वसनीय हुने श्रोताहरूको प्रतिकृया रहने गर्छ । 

साँच्चिकै गाउँका आवाज बोकेजस्तो लाग्छ । ग्रामीण स्तरका नागरिकको सुख, दुःख रेडियोबाट प्रसारण गर्न पाउँदा । रेडियोमा बोलिरहँदा आम श्रोताको माया पाइएको छ । 

पहिले जसरी मभित्र, मेरो मनभित्र रेडियो थियो । आज म रेडियोभित्र छु । 

रेडियोको हरेक घटना परिघटनामा अत्यन्त महत्वपूर्ण भूमिका रहने गर्दछ । नेपालमा कोरोना प्रकोप शुरु भएर लकडाउन लागेपछि रेडियोले खेलेको भूमिका अतुलनीय छ । त्यतिबेला कोरोना संक्रमणको डर एकातिर थियो, एकातिर सूचना प्रवाह गर्न तल्लीन हुनुपथ्र्यो  । 

कोरोनाकालका बेला सन्देशमुलक रेडियो कार्यक्रममात्र होइन, अमरगढी एफएमले सञ्चालन गर्ने हरेक फोनइन कार्यक्रमहरूमा सरसफाइ र स्वास्थ्यका कुरा जोड्यो । जनस्तरका नागरिक माझ सचेतना फैलाउने काम गर्यो । 

कोरोनाको बेला रेडियोले सचेतनामूलक जिंगल प्रसारण गर्याे, सचेतनामूलक रेडियो कार्यक्रमहरू सञ्चालन गर्यो । सचेतनाका सामग्री बजायो । स्थानीय, प्रदेश र संघ सरकारको निरन्तर खबरदारी गर्ने काममा रह्यो रेडियो त्यतिबेला । 

यतिमात्र होइन रेडियोले बेलाबेला विभिन्न गाउँटोलमै गएर नागरिकका कुरा सुन्छ । समस्यालाई सम्बन्धित निकायमा पुर्याएर समाधान गर्ने प्रयास गर्छ र त लोकप्रिय बनेको छ रेडियो ।

विनाशकारी भूकम्प, बाढी र पहिरोका घटना तथा विभिन्न रोगका प्रकोप फैलिएका स्थानका लागि रेडियो नै विश्वासिलो माध्यमका रुपमा रहेको हुन्छ । तसर्थ पनि रेडियो अझै लोकप्रिय छ, विश्वसनीय छ । 

अझै पनि रेडियोले विकट गाउँका कुरा, विकट गाउँका आवाजलाई आफ्नो माध्यमबाट सम्बोधन हुने गरी प्रसारण गर्नु आवश्यक छ । 

रेडियोका आम श्रोता माझ अझै लोकप्रिय भइरहन र विश्वसनीय रहिरहन श्रोताको चाहनालाई प्राथमिकतामा राखेर रेडियोलाई आवाजविहीनहरूको आवाज बनाउन सक्नु पर्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ