- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) भित्रको विवाद तत्काललाई थाती राखिएको छ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमजोरी गरेको विषय तल्लो तहसम्म छलफल र बहस गर्न लैजानु पर्ने शर्त राखेपछि अहिलेलाई सो विवाद थाती राखिएको हो ।
‘दुई नेताहरुबीच विशेष महाधिवेशनमा छुट्टै प्रस्ताव पेश गर्ने विषयमा कुरा मिलेको थियो तर श्रेष्ठले यसलाई तल्लो तहसम्म बहस र छलफलमा लैजानुपर्छ भनेपछि अहिलेलाई थाती राखेर अर्को बैठकमा छलफल गर्ने भनिएको छ’, माओवादीका एक केन्द्रीय सदस्यले भने । अर्को बैठक आगामी जेठ २० गतेमात्रै बस्नेछ । ती सदस्यका अनुसार अहिलेको बैठकमा प्रचण्डको निकै आलोचना भएपछि सोमबार केन्द्रीय सदस्य मनोनयन र जिम्मेवारी बाँडफाँडको प्रस्तावलाई अघि सारिएको थियो । पदाधिकारी चयनको प्रस्तावलाई पनि पछि धकेलिएको थियो ।
बैठक चलिरहेको बेला पार्टी हेडक्वार्टरको तर्फबाट भन्दै प्रचण्डले केन्द्रीय समितिमा ९७ जनालाई मनोनित गर्ने प्रस्ताव गरेका थिए । त्यसमा ५० जनाको नाम मात्रै केन्द्रीय समिति बैठकबाट पारित भएको छ । प्रस्तावित नाममा गम्भीर विवाद भएपछि ५० जनाको मात्रै नाममा सहमति जुटेको छ ।
बैठकमा शशी श्रेष्ठ, नरबहादुर विष्ट, ओम शर्मा, सुदन किराँती र रामदीप आचार्यसहित २० जना नेताहरुले प्रस्तावित नाममा असहमति राख्दै विरोध गरेपछि प्रचण्ड पछि हटेका थिए । प्रचण्डले ९७ जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
उनकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यसमेत थिए । आचार्यलाई प्रदेश १ बाट केन्द्रीय सदस्यको प्रस्ताव गरिएको थियो । केन्द्रीय समिति सदस्यहरूले दाहाल र आचार्यलगायत ४७ जनालाई कुन आधारमा केन्द्रीय सदस्यमा मनोनित गर्न खोजेको भन्ने प्रश्न गरेपछि प्रचण्ड पछि हटेका थिए ।
उनीहरूको विरोध भएपछि ५० जनाको नाम मात्रै पारित भएको हो । जसमा महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेका ३७ जना, ९ जना मधेसी र ४ जना दलित समूहबाट मनोनित भएका छन् । ५० जना मनोनित भएसँगै माओवादी केन्द्रीय समिति सदस्य संख्या २ सय ९७ पुगेको छ । यसअघि २ सय ४७ सदस्यीय केन्द्रीय समिति थियो ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु तोकेको छ । सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो ।
जसअनुसार प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे तोकिएका छन् । लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन् ।
प्रदेश इन्चार्ज तोकिए पनि पार्टी हेडक्वार्टरले पदाधिकारीको टुंगो भने लगाएको छैन । खासगरी महासचिवमा कुरा नमिलेपछि पदाधिकारी टुंगो नगाएको हो । महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनको बलियो दावेदारी रहेपछि पदाधिकारी चयन नभई टुंगिएको हो । महाधिवेशन भएको तीन महिना पूरा हुँदा पनि माओवादी केन्द्र महासचिवविहीन भएको हो ।
सोमबारकै बैठकले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरेर गठबन्धनसँग तालमेलका लागि कार्यदल बनाउने निर्णय पनि गरेको छ । माओवादीको केन्द्रीय समिति बैठकले गठबन्धनसहित निर्वाचन जाने विषयमा टुंगो लगाउन कार्यदल बनाउने निर्णय गरेको हो ।
आफ्नै नेतृत्व वा कुन पार्टीसँग तालेमल गर्दा फाइदा हुन्छ त्यसरी नै तालमेल गर्ने गरी अघ बढ्ने निर्णय गरेको छ । ‘आफ्नै एकल शक्तिमा निर्वाचनमा जाने तयारी गर्ने तथा गठबन्धन भएमा राम्रो, नभए आफैं लड्ने तयारी गर्ने निर्णय भएको र सबै पालिका र वडासम्मका लागि निर्वाचन तयारी समिति बनाइसकेको र गठबन्धनसँग तालमेलका लागि निर्णय गर्ने अनि त्यसरी नै तालमेल हुने गरी अघि बढ्ने निर्णय भएको छ’, बैठकपछि वर्षमान पुनले बताए ।