वरिष्ठ उपाध्यक्ष ढकाल भन्छन् – समृद्धिको यात्रामा सबैको ऐक्यबद्धता आवश्यक छ
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २८ शनिबार
462
Shares
रत्ननगर । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिसँग जोडिने विषयमा सबैको ऐक्यबद्धता हुनु आवश्यक रहेको बताएका छन् ।
उद्योग वाणिज्य सङ्घ चितवनको ५५औँ वार्षिक साधारणसभा एवं अधिवेशनको शनिबार यहाँ उद्घाटन गर्दै उपाध्यक्ष ढकालले व्यवसायी, राजनीतिक दल र सरकारको एकमत भएमा आर्थिक समृद्धितर्फ अघि बढ्न सहज हुने बताए ।
सबैको सहकार्यमा संसारको सबैभन्दा राम्रो पर्यटकीयस्थलका रूपमा चितवनलाई स्थापित गराउन सकिने सम्भावना रहेको समेत ढकालले बताए ।
“यहाँका सम्भावित सबै प्रकारका उद्योगमा मेरो व्यक्तिगत, नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत तथा म अध्यक्ष रहेको बैंकको तर्फबाट जोडिन तयार छु”, ढकालले भने, “अहिलेको विषम परिस्थितिबाट माथि उठ्नका लागि सबैको साथ र सहयोग आवश्यक छ ।” कोभिड–१९ को सङ्क्रमण तथा दुई देशको युद्धका कारण सबै क्षेत्रमा मूल्यवृद्धि भइरहेको ढकालको भनाइ छ ।
“आगामी दिन अझ कठिन हुन सक्नेतर्फ हामी सबै सचेत हुनु जरुरी छ”, ढकालले भने, “यो अवस्थाबाट पार हुन सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नुपर्छ ।”
उद्योग वाणिज्य सङ्घ चितवनको साधारणसभा उद्घाटनका क्रममा व्यवसायी, पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।