arrow

एक महिनाभित्रमा उद्योगलाई करिब ३५ मेगावाट विद्युत्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
asssaaaddf.JPG

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगन्ज क्षेत्रमा सञ्चालित अम्बे स्टील्स् उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत् दिने भएको छ । प्राधिकरणले अहिले स्टील्स् उद्योगलाई करिब आठ मेगावाट विद्युत् आपूर्ति दिइरहेको छ ।

उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत् माग गरेको छ । प्राधिकरणले उद्योगसम्म विद्युत् पुर्‍याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिना भित्रमा थप २७ मेगावाटसहित अम्बे स्टील्सलाई ३५ मेगावाट विद्युत् दिन लागेको हो ।

उद्योगसम्म विद्युत् पुर्‍याउनका लागि कोहलपुर सब स्टेसनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगले पनि थप विद्युत् आपूर्ति लिनका लागि आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारलाई काम अन्तिम चरणमा पुर्‍याएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिवार स्थलगत अवलोकन भ्रमण गरी नेपालगन्ज तथा कोहलपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगहरूलाई विद्युत् आपूर्ति दिन निर्माण गर्नु पर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ ।

टोलीले नेपालगन्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत् खपत गर्ने अम्बे स्टील्स्को भ्रमण गरी एक महिनाभित्र विद्युत् आपूर्ति लिने गरी आफूले गर्नु पर्ने सम्पूर्ण पूर्व तयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ ।

‘विद्युत् खपत बढाउन उद्योगहरूलाई मागे जति विद्युत् दिइरहेका छौं, औद्योगिक कोरिडोरमा विद्युत् खपत बढाउन नयाँ पूर्वाधारको निर्माण र भइरहेका संरचनाको सुदृढीकरण तथा स्तरोन्नति अभियानकै रूपमा अगाडि बढाइएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘अम्बे स्टील्स्ले विद्युत् जडानका लागि आफ्ना पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको देखिएको छ, उद्योगले आवश्यक तयारी पूरा गर्नासाथ विद्युत् आपूर्ति दिन सकिन्छ, हाम्रोतर्फबाट कुनै समस्या छैन ।’

उनले अम्बे स्टील्स् सञ्चालित क्षेत्रमा अन्य उद्योग पनि खुल्ने र उक्त क्षेत्र औद्योगिक करिडोरका रूपमा विकास हुन लागेकोले त्यहाँ १३२ केभीको सबस्टेसन निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको छ । एसियाली विकास बैङ्कसँग सहुलियतपूर्ण ऋण सम्झौता भइसकेको छ ।

अहिले रहेको पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनबाट करिब १० किलोमिटर चार सर्किट १३२ केभी लाइन बनाएर १३२ केभीको सब स्टेसनमार्फत आगामी दिनमा उद्योगहरूलाई विद्युत् आपूर्ति दिइने छ ।

‘खपत बढाउन र आन्तरिक रूपमा खपत गरेर जगेडा हुने विद्युत् भारतमा बिक्री गर्न सकेनौँ भने बर्खामा दैनिक करिब पाँच सय मेगावाट विद्युत् खेर फाल्नु पर्ने भयावह अवस्था आयो भने के होला ? त्यसैले ठुला उद्योगमा विद्युत् खपत बढाउन केन्द्रित हुनपर्छ’, कार्यकारी निर्देशक घिसिङले भने । 

‘यसका लागि औद्योगिक करिडोरहरुमा विद्युत् आपूर्तिका लागि विद्युतीय संरचनाको पूर्वाधार निर्माण योजनाबद्ध रूपमा अगाडि बढाएका छौं ।’

कोहलपुर क्षेत्रका औद्योगिक तथा घरायसी ग्राहकलाई भरपर्दो, गुणस्तरीय र चाहिए जति विद्युत् दिन हाल रहेका वितरण प्रणालीको क्षमतालाई दोब्बर बनाउन लाइन र ट्रान्सफर्मर थप गर्ने योजनाअनुरूप काम भइरहेको कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले बताए ।

प्राधिकरणले ठुला औद्योगिक हब बन्ने सम्भावना भएका बारा-पर्सा क्षेत्र, भैरहवा, सुनवल, परासीलगायतका क्षेत्रमा उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ