- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
‘देश भन्नु त के रैछ र चार किल्लाको माटो ।
त्यही माटो नि उनकै मात्र जो छन् टाठोबाठो ।।’
–पीर गीत, प्रकाश सपुत
माथि प्रस्तुत पङ्तिहरू गीतकार प्रकाश सपुतद्वारा भर्खरै रिलिज गरिएको म्युजिक भिडियो पीरका महत्त्वपूर्ण अंश हुन् । यतिबेला यस म्युजिक भिडियोले देशको राजनीतिक र साङ्गीतिक बजार तताएको छ । यसका बारेमा प्रशंसा, चर्चा, परिचर्चा, बहस, टीकाटिप्पणी भैरहेका छन् ।
१६ मिनेटको उक्त भिडियोमा नेकपा माओवादीद्वारा १० वर्षे जनयुद्धमा लागेका जनमुक्ति सेनाको गणतन्त्र नेपाल बनेपछि भोग्नु परेको जीवन भोगाइको वास्तविक यथार्थलाई बिम्बात्मक तरिकाले चित्रण गरिएको छ । भिडियोमा प्रस्तुत गरिएको गीत, कथावस्तु, घटना, प्रस्तुति आदि अत्यन्तै मर्मस्पर्शी रहेको छ ।
यस म्युजिक भिडियोमा खासगरी जनयुद्ध कालमा माओवादीले बाँडेको सपनामा विश्वास गरी जनसेनामा आबद्ध भएका एक जोडीको गणतन्त्र प्राप्तिपछिको यथार्थपरक जीवन भोगाइको पीडालाई देखाइएको छ । नेकपा माओवादीले २०५२ सालमा देश र जनताको आमूल परिवर्तन गर्ने भनेर जनयुद्ध शुरुआत गरेको थियो । दश वर्षको जनयुद्धमा विद्रोही र राज्यबाट करिब १७ हजार नेपाली मारिएका थिए ।
यस जनयुद्धमा हजारौं अङ्गभङ्ग भए भने सयौं बेपत्ता भएका छन् । सरकार र माओवादीबीचको शान्ति सम्झौता भएपछि पनि जनयुद्धको नेतृत्व गर्ने दुई प्रमुख व्यक्तिहरू प्रचण्ड र बाबुराम पटक पटक देशको प्रमुख कार्यकारी प्रधानमन्त्री बन्दा पनि प्राणको बाजी लगाएर रगतको खोलो बगाएका ती अधिकांश जनयुद्धका जनमुक्ति सेनाको व्यवस्थापन हुन सकेन । उनका जीवनयापनका समस्यालाई माओवादीले बुझ्न सकेन ।
नेतृत्व तह सत्ता र कुर्सीको जोड घटाउमा लागरह्यो । जनयुद्ध समापन भएको १५ वर्षमा जनमुक्ति सेनाको प्रमुख कमान्डर प्रचण्ड नै नेपालको राज्य संचालन प्रमुख भूमिकामा कुनै न कुनै तरिकाले देखा परेका छन् । तर तिनै कमान्डरका जनमुक्ति सेनाले आफ्नो देश पाउन सकेका छैनन् ।
गीतमा भनेजस्तै आज देश भनेको तिनै पूर्व कमान्डर र तिनैका टीके र झोलेहरूको मात्र हो कि जस्तो बनाइएको छ । नेपाल देश आफ्नो बन्न नसक्दाको आम जन अभिव्यक्ति गीतमा प्रस्तुत गरिएको छ । नेपालमा बहुदलीय प्रजातन्त्रको पुनः बहाली भएको ३२ वर्ष र गणतन्त्र आएको १४ वर्ष बितिसक्दा पनि अवस्था जस्ताको त्यस्तै रहेको देखिन्छ ।
व्यवस्था परिवर्तन भए पनि अवस्था जस्ताको त्यस्तै नै छ । गरिबी, अन्याय, अत्याचार, भ्रष्टाचार र राजनीतिक अस्थिरताले नेपाली जनताले व्यवस्था परिवर्तन भए पनि राहतको अनुभूति गर्न सकेका छैनन् । आज नेपाली जनतालाई जनयुद्ध र जनआन्दोलन सफल भयो, गणतन्त्र पनि आयो है भनेर भन्ने हो भने आक्रोशात्मक शैलीमा ‘इस् नाप्पियो’ भन्ने लोप्पा पाइन्छ ।
व्यवस्था परिवर्तनका नाममा नेपाली जनताले पीरै पीर भोगेर ऐया ऐया भनेर बाँच्नुपर्ने अवस्था छ । यसैलाई उतारेर गीतकार, रचनाकार एवं निर्देशक प्रकाश सपुतले म्युजिक भिडियोमा देखाएका छन् । उनको यो मर्मस्पर्शी कलालाई राजनीतिक गन्ध दिएर युट्युबबाट हटाउन चेतावनी पनि दिइएको छ । एउटा कलाकारले सिर्जना गरेको मानवीय जीवन्ततालाई हटाउन लगाउनु भनेको कलालाई मार्न खोज्नु हो । उनको यो सिर्जनालाई कलात्मक र सन्देशात्मक दुवै तरिकाले मनन गर्न सक्नुपर्छ र उनको यो कला र प्रस्तुतिलाई सम्मान गर्नुपर्छ । कलाकार भनेका देशका महत्वपूर्ण गहना हुन् । गणतन्त्रमा पनि सर्जकको सिर्जनालाई प्रोत्साहन गर्नुको सट्टा विरोध र बन्देज लगाउन खोज्नु गणतन्त्रकै उपहास गरिनु हो ।
साहित्य, कला, गीत, सङ्गीत भनेका समाजका ऐना हुन् । समाजको यथार्थ र वास्तविकतालाई गीत र सङ्गीतमा प्रस्तुत गरिएको हुन्छ । गीत र सङ्गीतले आफ्नो जीवन्तता प्राप्त गर्न समाजको यथार्थ पस्किनु पर्छ । यस गीतमा पनि त्यही देशको पीडाको यथार्थता पस्किएको छ । देशमा गणतन्त्रको आगमन हुँदासमेत नेपाली जनताले राज्य भए नभएको महसुस गर्न सकेका छैनन् । देशभित्र रोजगार पाउन नसक्दा दिनहुुँ करिब २५ सय नेपाली विदेशिनु परेको छ ।
केही सीमित वर्गले मात्र सधैभरी देश लुटिरहेका छन् । जनतामा निराशामात्र छाएको छ । आजका नेताहरूले राजनीतिलाई पेशा बनाई मागी खाने भाँडो बनाउँदा प्रकाश सपुतजस्ता गीतकारहरूले आफ्नो कलामार्फत पीर, व्यथा र आक्रोश अभिव्यक्त गरेका छन् । प्रकाश सपुतको पीर पूर्व जनमुक्ति सेनाका अलावा अधिकांश नेपाली जनताको पीर पनि हो ।
पञ्चायती व्यवस्था विरुद्ध गीत गाउने सर्जक वा जनवादी गायकहरू रामेश, रायन, जीवन शर्मा आदिले जनताको आक्रोश ओकल्दा राज्यबाट प्रतिबन्ध लगाइन्थ्यो । चेतनामूलक र सन्देशमूल गीतहरू गाउँदा राज्य विरोधी र देश विरोधीको पगरी गुथाइन्थ्यो ।
आज गणतन्त्रमा पनि त्यही बेथिति देखेर प्रकाशले साँच्चिकै प्रकाश लिएर आएका छन् । जनयुद्ध र जनआन्दोलनको परिणामबाट आएको गणतन्त्रमा पनि जनताको पीर पस्किदा सिर्जना र वाक् स्वतन्त्रतामाथि नै बन्देज लगाउन खोज्नु निकै नै आपत्तिजनक छ ।
देशभित्र भित्र्याइएको यो सामाजिक, आर्थिक र राजनीतिक विकृतिलाई सम्बन्धित दलले स्वीकारेर सच्चिनुको विकल्प छैन । नेपालका आम नागरिकलाई राज्यले नेपाली भएको अनुभूति गराउन सक्नुपर्छ । जनयुद्धका नाममा कति धेरै सपनाहरू बाँडिएका थिए । कलिला बालबालिकालाई विद्यालयमा पढ्न नदिइ जनसांस्कृतिक अभियानका नाममा मर्न लगाइएको ताजै छ ।
जनयुद्धमा गीत गाउँदा गाउँदै र नाच्दानाच्दै कति कलिला किशोरकिशोरी दोहोरो भिडन्तमा मारिएका थिए । सांस्कृतिक क्रान्तिमार्फत व्यवस्था परिवर्तन गर्न सकिन्छ भनी जबर्जस्त होमिन लगाइएका ती योद्धाको मनमा गणतन्त्र आउँदा पनि नेपाली भएर आफ्नै देशमा बाँच्न पनि नसक्दा उनीहरूमा अत्यन्तै पीडा र निराशा छ ।
एउटा सर्जकले आफ्नो सिर्जनामार्फत पस्किएको जनसंवेदनालाई अंकुश लगाउन खोज्नु अत्यन्तै खेदजनक हो । नेकपा माओवादीले प्रकाश सपुतद्वारा प्रस्तुत गरिएका यी मार्मिक भावनालाई मनन गर्नुपछ । वर्तमान परिस्थितिमा त्यही जनयुद्धबाट आएका कतिपयले राज्यको सम्पत्तिमा रजगज र ब्रम्हलुट गरेका छन् भने कतिपय बिहान बेलुका दुई छाक खान देहव्यापार र विदेशिनु पर्ने वास्तविक यथार्थ नै हो ।
यो वास्तविकता लुकाउन खोजेर अथवा बन्देज लगाउन खोजेर लुक्दैन । आज नेपाली जनतामा राजनैतिक चेतना जागृत भइसकेको छ । परिवर्तनका वाहक नेपाली जनतालाई राज्यले गाँस, बास, कपास, शान्ति, सुरक्षा र रोजगारीको व्यवस्था मिलाउनु पर्छ । नेतामात्र सुकिला मुकिला भएको वर्तमान परिस्थितिलाई अन्त्य गर्नुपर्छ । यस्ता नेपाली जनताको पीरको आवाजलाई बुलन्द गर्ने प्रकाश र प्रकाशजस्ता तमाम नेपालीको अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोज्नेलाई जनताले बेलैमा चिनेर सजाय र दण्ड दिनुपर्छ । सपनाको संसार बाँडेर भ्रमको खेती गर्ने कुनै पनि राजनीतिक दल वा नेतालाई सजाय दिनुपर्छ ।
लोकतान्त्रिक परिपाटीमा गलत र बदमासीलाई दण्ड दिने एउटा प्रमुख माध्यम निर्वाचन हो । नजिकै आइरहेको आगामी निर्वाचनमा दलहरूका कुकृतलाई चिरफार गरी स्वच्छ छवि भएको उम्मेदवारलाई चिनेर मतदान गर्नुपर्छ । अब हिजो जस्तै झुक्काइयो वा झुक्कियो भनेर समयले माफी दिँदैन र हामी धेरै पछि पर्नेछौँ । हिजो एउटा राजालाई हटाएर गाउँगाउँमा सिंहदरवार बनाउनु पर्छ भन्दै कुर्लिएका नेताहरू आज आफैं राजा बनेर देशलाई लुटेको परिवेशमा जनताको पीर व्यथा बोकेका यस्ता धेरै प्रकाश आउनुपर्छ र यस्ता राजा बनेकालाई नाङ्गेझार पार्नुपर्छ । यो देशलाई सम्पूर्ण नेपालीको देश बनाउनु पर्छ नकि टाठाबाठाको मात्र । (लेखक पन्थी अमेरिकाको भर्जिनियामा बस्छन्)