arrow

महाकालीको धार परिवर्तन गर्न नेपालतिर आएको स्काभेटरको चाबी सशस्त्रले थुत्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
mahakali-dhar.jpg

दार्चुला । महाकाली नदीको धार परिवर्तन गर्न नेपाल पट्टि पुगेको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले थुतेको छ । विना अनुमति नदीबाट नेपाल पट्टि पुगेको स्काभेटरको चाबी पेट्रोल गस्तीमा रहेको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । 

नेपालसँग समन्वय नगरी भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी थुतिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । सो क्षेत्रमा नेपाल प्रहरी पनि खटिएको थियो । चाबी खोसिएपछि चालकले ‘डाइरेक्ट स्टार्ट’ गरेर स्काभेटर पारि पट्टि लगेको छ । 

अनुमति मागेको कुनै एक दिनको पत्र देखाउँदै दिनदिनै भारतीय स्काभेटर नेपालतिर आउने गर्दछ । भारतीय पक्षले समन्वय नगर्दा बेलाबेला स्थानीयहरू आन्दोलित बन्ने गरेका छन् । 

अहिले भारतले महाकाली नगरपालिका-१ कलौन क्षेत्र महाकाली नदीमा तटबन्धको काम गरिरहेको छ । आइतबार सो क्षेत्रका स्थानीयहरूले जिल्ला प्रशासनलाई ज्ञापनसमेत बुझाएका छन् । 

भारतीय स्काभेटर नेपालतर्फ आउनबाट रोक्ने, कलौन क्षेत्रमा बाँध नबाँधिएकाले अबको एक हप्ताभित्र बाँधको निर्माण कार्य थाल्नुपर्ने जस्ता माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाइएको स्थानीय अनिल कुमार जोशीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ