arrow

कांग्रेसको निर्णयले प्रचण्ड खुशीले गदगद्, छोरी रेणु फेरि मेयर !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
prachanda-may-1.jpg
तस्बिर– फाइल

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेसले गठबन्धन गरेर जाने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि पनि चितवनस्थित भरतपुर महानगरपालिकाको मेयर दाबी गरेका छन् । 

नेपाली कांग्रेसले मंगलबार स्थानीय तहमा गठबन्धन गरेर जाने निर्णय गरेसँगै उत्साही भएका प्रचण्डले भरतपुर महानगरपालिको मेयर दाबी गरेका हुन् । गत २०७४ सालको निर्वाचनमा कांग्रेसको मतले निर्वाचित भएकी आफ्नी पुत्री रेणु दाहाललाई नै दोहोर्याउने गरी प्रचण्डले सो दाबी गरेका हुन् । 

बुधबार चितवन नपुगेका प्रचण्डले बिहीबार बस्ने गठबन्धनको बैठकबाट महानगरपालिकाहरुमा तालमेलको निर्णय हुने दाबी गर्दै भरपुर महानगरपालिकामा माओवादीको दाबी प्रस्तुत गरेका छन् । 

अध्यक्ष प्रचण्डले महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धन गर्ने निर्णय केन्द्रबाटै हुने बताउँदै आएका छन् । ‘महानगर र उपमहानगरलाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भनेर छलफल चलिरहेको छ, गठबन्धनको बैठक बस्दैछ, सम्भवतः महानगरपालिकाको बारेमा केही न केही निर्णयमा हामी पुग्छौं, तालमेलकै निर्णय हुन्छ,’ अध्यक्ष प्रचण्डले भनेका छन् । 

आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा देशभरका स्थानीय तहमा कांग्रेससँग माओवादी र नेकपा एस पार्टीले गठबन्धन गरेर जाँदैछन् । 

बुधबार चितवन पुगेका प्रचण्डले भरतपुरको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताएका थिए । भरतपुरमा यसअघिको स्थानीय तल निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । त्यहाँबाट प्रचण्ड पुत्री रेणु नै मेयरमा निर्वाचित भएकी थिइन् । प्रचण्डले कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरिसकेपछि गठबन्धनका बीचमा आवश्यकता अनुसार तालमेल हुने पक्का भएको दाबी गर्दै कांग्रेससँगको सहकार्य नटुट्ने बताएका थिए । 

‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरिसकेपछि गठबन्धनका बीचमा आवश्यकता अनुसार तालमेल हुन्छ भन्ने कुरा क्लियर भएकै छ, खाली तालमेल, गठबन्धन कस्तो हुन्छ भन्ने थियो, हाम्रो पार्टीले आफ्नो शक्तिलाई सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्ने कुरा गरेकाले आवश्यक तालमेलसहित चुनाव हुन्छ,’ बुधबार प्रचण्डले भनेका थिए । 

प्रचण्डले गठबन्धन नभए पनि एक्लै निर्वाचनमा भाग लिने भन्दै आएका बेला कांगे्रेसले गठबन्धन गर्ने निर्णय गरेपछि उत्साही हुँदै प्रचण्डले भरतपुरको मेयर दाबी गरेका थिए । 

तर कांगे्रसले भरतपुरको मेयरमा अब माओवादीले सहयोग गरे मात्रै सहकार्य हुने बताउँदै आएको छ । ‘प्रचण्डको गृह जिल्ला भएका कारण सबै स्थान छाडेर भए पनि माओवादीले यसपटक पनि भरतपुरको मेयर छाड्ने अवस्था छैन’, प्रचण्ड निकट रहेका एक नेताले भने । 

उनका अनुसार अहिले पनि छोरी रेणु दाहाललाई नै मेयरमा उठाउने प्रचण्डको दाउ रहेको छ । ‘अहिले पनि छोरीकै व्यवस्थापनको कुरा छ, रेणु दाहाल मेयर नहुने अवस्था आएमा भरतपुरमा माओवादीको दाबी रहन्न’, ती नेताले भने । 

उता माओवादीका पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले एमालेलाई साइजमा ल्याउन गठबन्धन गर्नु परेको बताएका छन् । उनले माओवादी कमजोर भयो वा अन्य विषयहरु सोचेर गठबन्धन गर्दै हिँड्यो भन्छ भने त्यो कमजोरी हुने बताउदै अहिलेलाई एमालेलाई साइजमा ल्याउन मात्रै गठबन्धन गर्नुपरेको बताएका हुन् । 

‘माओवादी कमजोर भयो र गठबन्धन गर्यो भन्दै हिँड्यो भने त्यो पूरै गलत हुन्छ । त्यस्तो कसैले सोच्नु हुँदैन । माओवादी कमजोर भएका कारणले भन्दा पनि अहिलेको आवश्यकता र औचित्यको आधारमा भएको हो । फेरि, गठबन्धन प्रतिगमनको विपक्षमा एउटै मोर्चामा उभिएको हो । सडक संघर्ष गरेको हो । यतिबेला एमालेलाई साइजमा ल्याउनु एक मात्र उदेश्य हो’, पूर्व स्थायी समिति सदस्य गजुरेलले भने । 

गठबन्धन हुँदा एमालेले जितेका महानगरपालिका र नगरपालिकामा बाँडफाँड गरेर जाने योजना माओवदीले बनाएको छ । कुनै नगरपालिका एक्लै जित्ने अवस्था नभएको माओवादीले यसपटक कम्तीमा दुई वटा महानगरपालिका लिने दाउ गरेको छ ।
 



नयाँ