- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ग्रेगोरियन क्यालेन्डर अनुसारको अप्रिल १ मा अप्रिल फुल भन्दै केही देशमा केही मानिसहरुले ठग्ने वा व्यावहारिक ठट्टाहरू गर्ने गरेका छन् । तर खासमा अप्रिल फुल भनेर किन ठट्टा गर्नु पर्याे ? किन ठग्नु पर्याे ? र यसको शुरुआत कसरी भयो ? भन्ने कुनै स्पष्ट ऐतिहासिक जानकारी छैन ।
उसो त केही सिमित क्षेत्रका सिमित मानिसहरुले मात्रै हुन् अप्रिल फुल भन्दै नानाभाँती उत्फट्याङ गर्ने । कुनै अर्थ नराख्ने अप्रिल फुल्सडे अर्थात् अप्रिल मूर्खहरूको दिनमा मूर्खहरु अन्य मानिसहरुलाई मुर्ख बनाउन खोजे झैं देखिन्छ ।
केही सञ्चारमाध्यम र केही ब्राण्डले पनि अप्रिल फुट भन्दै भाषिक उत्फट्याङ गर्ने गर्छन् । अब यो अप्रिल फुल्सडे भनेर काम नपाएकाहरुले भाषिक या व्यावहारिक ठगी गर्ने काम कहिले र कसरी भयो भनेर जानौं । वास्तवीक इतिहास थाहा नभए पनि यस्ता छन् केही अनुमान
ग्रेगोरियन र जुलियन क्यालेन्डरको सन्दर्भ
अप्रिल फुल डे १५८२ तिरबाट शुरु भएको केही इतिहासकारहरूको अनुमान छ । १५६३ मा क्याथोलिक चर्च को १९ औं विश्व परिषद्को आह्वानमा फ्रान्सले जुलियन क्यालेन्डर छोडेर ग्रेगोरियन क्यालेन्डर प्रयोग गर्न थालेको थियो ।
सौर्य प्रणालीमा आधारित ग्रेगोरियन क्यालेन्डरमा नयाँ वर्ष जनवरी १ लाई मानिन्छ । यद्यपि जुलियन क्यालेन्डरले हिन्दू पात्रो अनुसार अप्रिल १ को नजिकतिर मितिमा नयाँ वर्ष मान्छ ।
फ्रान्सले जुलियन क्यालेन्डर छोडेर ग्रेगोरियन क्यालेन्डर प्रयोग गर्न थालेको समाचार प्राप्त गर्न ढिलो भएर अप्रिल १ मै नयाँ वर्ष मनाउन जारी राखेका व्यक्तिहरूमाथि मजाक हुन थालेपछि त्यतिबेलादेखि नै मूर्खहरुको दिन भन्न थालिएको यो किसिमको एकथरी आंकलन छ ।
मानिसहरुको पछाडि कागजले सजिलै समात्न सकिने माछोको चित्र टासेर मूर्ख माछा भन्ने किसिमको अर्थलेसमेत त्यतिबेलादेखि मजाक गर्न थालिएको मानिन्छ ।
प्राचीन रोममा मनाइने हिलारिया
केही इतिहासकारहरूले अप्रिल फुल्स डेलाई हिलारिया (मार्च इक्विनोक्समा मनाइने पुरातन रोमन धार्मिक उत्सव) जस्ता चाडपर्वहरूसँग पनि जोडेका छन् ।
पुरातन रोममा मार्चको अन्त्यमा साइबेले (एनाटोलियन अर्थात हालको टर्की आसपास क्षेत्रकी मातृ देवी) को अनुयायीहरू हिलारिया मनाउथे । एक किसिमको भेषको लुगा लगाएर खिल्ली उडाउने गरिरिन्थ्यो र सोही प्रवृति अघि बढेर अप्रिल फुल्स डे भन्न थालिएको अनुमान छ ।
वर्नल इक्विनोक्स
दिन र रात बराबर हुने वर्नल इक्विनोक्ससँगसमेत अप्रिल फुल्स डेको सम्बन्ध जोडिएको छ । उत्तरी गोलार्धमा वसन्त ऋतुको पहिलो दिनमामा प्रकृतिले अप्रत्याशित रुपमा मौसम परिवर्तन गर्दै मानिसहरूलाई मूर्ख बनाएपछि अप्रिल फुल्स डे भन्न थालिएको एक थरी अनुमान छ ।
पछिल्लो इतिहास
खासगरी १८ औं शताब्दीमा बेलायतमा अप्रिल फुल्स डे फैलिएको मानिन्छ । त्यतिबेला स्कटल्याण्डमा मानिसहरूलाई मूर्खको प्रतीक मानिने गौक चराको सिकारका लागि पठाउने र अर्काे दिन मजाक गर्ने गरी दुई दिन अप्रिल फुल्स डे मान्ने गरेको ठानिन्छ ।
आधुनिक समय
आधुनिक समयमा मानिसहरूले अप्रिल फुल्स डे भन्दै हदसम्मका हर्कत गर्न थालेका छन् । हुँदाहुँदा अखबार, रेडियो र टिभी स्टेशनहरूदेखि विभिन्न वेबसाइटहरूले अप्रिल फुल भन्दै आफ्ना दर्शकहरूलाई मूर्ख बनाउनेसम्मका गतिविधि गर्न थालेका छन् ।
वास्तवममा कुनै फाइदा नै नभएको र सकारात्मक पक्ष एउटा पनि नदेखिने अप्रिल फुल्स भनिने यो दिनले बरु उल्टै समस्या उत्पन्न गराउन सक्ने देखिन्छ । भ्रामक कुराहरु र गतिविधिले सामान्यदेखि गम्भीर दुर्घटना निम्त्यिाउने सक्ने चिन्तासमेत बढ्दो छ । त्यसमाथि यो दिनको कुनै विशेष इतिहास र अस्तित्वसमेत छैन ।