arrow

भिजन र भ्युज बिनाका भ्यु टावर

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७८ चैत १९ शनिबार
rajendra-panthi-article-31.jpg

हिजोआज सामाजिक सञ्जालसँगै मिडिया जताततै नेपालमा बनेका भ्यु टावरको चर्चा परिचर्चा छ । देशका जिम्मेवार नेतालाई यस्ता बनाइएका भ्यु टावर उद्घाटन गर्न भ्याइ नभ्याइ छ । करोडौं खर्चेर अनुत्पादक तरिकाले ठड्याइएका यस्ता डोजरे टावरलाई राजनैतिक व्यवस्थाको परिणामको सूचकको रुपमा व्याख्या गरिएको छ ।

जनयुद्धको आधार इलाका मानिने रोल्पामा भर्खरै चार करोड ७७ लाख खर्चेर निर्मित त्यो भ्यु टावरबाट भोको पेट र नाङ्गो शरीर भएका रोल्पाली देखिँदैन । त्यहाँबाट देखिने भनेका चाकरी र चाप्लुसीमा रमाउने झोले र टीकेहरू नै हुन् । हाम्रो देशमा प्रकृतिले आफैं थुप्रै टावर बनाइदिएको छ, जहाँ अर्को कृत्रिम टावरको आवश्यकता नै छैन । 

आफ्नो घरको उचाइ भन्दा कम उचाइ भएको भ्यु टावरको के अर्थ रहला । नेपालका हिमाल र पहाडी जिल्लामा भन्दा तराईको जिल्लामा योजनागत, व्यवस्थित, व्यापारिक र पर्यटकीय प्रयोजनको लागि बनाउन सक्ने हो भने त्यसको उपादेयता पक्कै हुन्छ । अहिलेसम्म विना प्रयोजन जति बनाइएका छन् ती सबै बालुवामा पानी खन्याएसरि नै भए । 

यसरी बहुलठ्ठी पाराले बजेट खर्चेर नै जनताका खास समस्या समाधान हुन सकेका छैनन् । वास्तवमा जनप्रतिनिधि भनेको जनताको एउटा सजीव टावर पनि हो । तर उसका अहिलेसम्मका यी र यस्तै किसिमका विकासका क्रियाकलाप देख्दा सजीव टावरको अंश वा भूमिका देखिँदैन ।

अहिलेका केही भ्यु टावरको दृश्य हेर्दा आफू बच्चा हुँदा रुखको टुप्पोमा पुगेर वनमा चराउन लगेका गाईवस्तु कुन कता छन् भनेर हेरेको याद आएको छ । अहिले बनेका कतिपय ती भ्यु टावरको उचाई त म चढेको रुखको उचाइ भन्दा कम देखिन्छन् । अझै कतिपय त पहाडतिर बाँदर धपाउनको लागि बारीको छेउँमा कुकुर बाँध्नको लागि बनाइएका थर्कु जस्तै छन् । 

तिनीहरूमा टावरमा हुनुपर्ने कुनै विशेषता नै छैन । ती आवश्यकताका आधारमा बनाइएका नै होइनन् । टावरका तस्बिरका दृश्य बच्चाबच्चीले एकछिन खेल्नको लागि बनाइएका कागजका खेलौना जस्ता देखिन्छन् । यस्तो विकासले के सन्देश दिन्छ होला ? आश्चर्य लाग्छ । नेपालका प्रायः स्थानीय तहमा कम्तीमा पनि एउटा भ्यु टावर बनाइएको छ । अझ त्यसैमा पनि कतिपय पालिकामा पाँच वटासम्म बनाइएको छ भनेर विभिन्न संचार माध्यममा सुनिएको छ ।

विभिन्न स्रोतका अनुसार यो वर्ष स्थानीय, प्रदेश र संघबाट ११७ वटा भ्यु टावर बनाइँदै छ र करिब १७ अर्ब रुपैयाँ खर्चिने भएको छ । यस्तै बहुवर्षीय योजनाका भ्यु टावर बनिरहेका नै छन् । हाम्रो भौगोलिक बनावटलाई हेर्ने हो भने थुप्रै हिमाल र पहाडका भ्यु टावर आफैँ बनेका छन् । ती टाकुराबाट नै दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँ त्यसको सौन्दर्य नै बिग्रने गरी अर्को कृत्रिम टावर बनाउन पर्ने आवश्यकता छैन । 

नेपालको विकासको प्रक्रिया हेर्दा प्राथमिकताका आधार भनेर सोचका साथ कुनै पूर्वाधार बनाइएका छैनन् । स्थानीय तहमा गएको श्रोत र साधनलाई योजनाविहीन तरिकाले कनिका बाँडेसरि बाँडिएको छ । कुनै पनि योजनाहरू पूर्ण रुपमा सम्पन्न हुन सकेका छैनन् । सबै अधकल्चो छन् । शुरु र अन्त्य विनाका सडक खनिएका छन् । 

बाटो बनाइएको छ । सवारी साधन चल्दैनन् । पाइप छ तर ट्याङ्की बनाउन सकिएको छैन । शिक्षक छ तर विद्यालय भवन छैन । यस्ता थुप्रै अधकल्चा काम स्थानीय निकायमा भएका छन् । जनप्रतिनिधिको लहड र निजी स्वार्थका आधारमा काम भएका छन् । वातावरणीय प्रभाव र मूल्यांकन तथा अध्ययन नै नगरी सम्भावित विपद्लाई बेवास्ता गरी निर्माण गरिएका कतिपय पूर्वाधारले झन् क्षति पुर्याएका छन् ।

भ्यु टावरको महत्व छ । तर जहाँ उचाइ छ त्यहाँ आवश्यक छैन । भ्यु टावरको पनि आफ्नै सौन्दर्य हुन सक्नु पर्छ । भ्यु टावरमा ऐतिहासिकता, वास्तुकला वा कुनै विशेष चिज झल्कने हुनुपर्छ र मात्र त्यसको अर्थ रहन्छ । भ्यु टावरको आवश्यकता भनेको धेरै क्षेत्रफल देखियोस् ताकि त्यसबाट भौगोलिक, प्राकृतिक र अन्य थुप्रै दृश्यहरू एकै ठाँउबाट अवलोकन गर्न सकियोस् ।

आफ्नो घरको उचाइ भन्दा कम उचाइ भएको भ्यु टावरको के अर्थ रहला । नेपालका हिमाल र पहाडी जिल्लामा भन्दा तराईको जिल्लामा योजनागत, व्यवस्थित, व्यापारिक र पर्यटकीय प्रयोजनको लागि बनाउन सक्ने हो भने त्यसको उपादेयता पक्कै हुन्छ । अहिलेसम्म विना प्रयोजन जति बनाइएका छन् ती सबै बालुवामा पानी खन्याएसरि नै भए । 

संसारमा थुप्रै टावर बनाइएका छन् । ती टावरहरू बहुप्रयोजनका लागि बनेका छन् । विश्वका प्रसिद्ध भ्यु टावरमा पार्किङको व्यवस्थासहित अस्पताल, चमेना गृह, पसल आदि थुप्रै सेवामुखी, व्यापारिक, व्यावसायिक केन्द्रहरू सञ्चालन हुन्छन् जुन भ्यु टावरले आम्दानी पनि प्राप्त गर्छ । यस्ता भ्यु टावरलाई थुप्रै प्रयोजनको रुपमा प्रयोग गर्न सकिन्छ ।

दुबईको बुर्ज खालिफा टावर, जापानको टोकियो टावर, फ्रान्सको आइसफल टावर, अमेरिकाको न्युयोर्क टावर आदिको बनोट, शिल्पकला, इन्जिनियरिङ, आश्चर्य, उचाई जस्ता दृष्टिले पनि प्रसिद्ध छन् । काठमाडौंमा रहेको धरहरा र दामनमा रहेको भ्यु टावरको एउटा ऐतिहासिक महत्व छ । त्यसबाहेक नेपालमा जति बनाइएका छन् ती अधिकांश भिजन नभएका, खास भ्युज नै देख्न नसकिने र खास प्रयोजनका लागि नभएर लहडै लहडमा बनाइएका छन् ।

जनप्रतिनिधिले राजनीतिलाई पेशा बनाए र विकासलाई भ्यु टावरमा सीमित बनाए जहाँबाट जनताको कुनै समस्या अवलोकन गर्न सकिँदैन । आफ्नो पालिकाको कार्यालयबाट जनताका आधारभूत आवश्यकता के के छन् होला भनेर अवलोकन नगरी आफ्नो स्वार्थ सिद्ध गर्न यस्ता भ्यु टावर जस्ता थुप्रै ठाउँमा बजेट खर्चिएको छ ।

देश रोग, भोक र शोकले आक्रान्त छ । जनतालाई सामान्य शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था छैन । ती योजनाविहीन तरिकाले अर्बौं खर्चेर बनाइएका भ्यु टावरले जनतालाई के दियो ? जनतालाई स्वस्थ्य खानेपानी छैन । बाटोघाटो छैन । विद्यालय छैन । स्थास्थ्य चौकी छैन । तर जनताले तिरेको करलाई यस्तो मनपरि तरिकाले खर्च गरिएको छ कि उपलब्धि शून्य छ ।

जनप्रतिनिधिहरूको अनुत्तरदायीपन, जनताप्रति अनुदार, असक्षम, अदूरदर्शी र भ्रष्टाचारी प्रवृत्तिले यस्ता दीर्घकालीन सोच विनाका भ्यु टावरजस्ता संरचना निर्माणमा विकासको बजेट दुरुपयोग भएको छ । नेपालका अधिकांश स्थानीय तहमा यस्तै डोजरे विकास भएका छन् । जनप्रतिनिधि आफैं इन्जिनियर र आफैं ठेकेदार बनेका कारण शून्य प्रतिफलमुखी विकास हुन पुगेको देखिन्छ ।

जनप्रतिनिधिहरू वास्तवमा जनताका प्रतिनिधि बन्न सकेनन् । दलका मात्र प्रतिनिधि बने । नेपाली जनताको सुख दुःखमा साथ दिन सकेनन् । उनीहरूका अन्तरमनको टावरबाट जनताको पीडा अवलोकन गर्न सकेनन् । अहिले पहाडको टुप्पोमा बनाइएका निर्जीव टावरजस्ता भए । 

देशको सामाजिक, आर्थिक, शैक्षिक रुपान्तरणको लागि कुनै किसिमको भ्युज नै छैन । जनताको खास समस्या के छ भनेर अवलोकन गर्न सक्दैनन् । जनयुद्ध र जनआन्दोलनको परिणाम भनेका यिनै भ्यु टावर हुन् भनी घोक्रो सुकाइ सुकाइ फलाकिएको छ । 

जनप्रतिनिधिले राजनीतिलाई पेशा बनाए र विकासलाई भ्यु टावरमा सीमित बनाए जहाँबाट जनताको कुनै समस्या अवलोकन गर्न सकिँदैन । आफ्नो पालिकाको कार्यालयबाट जनताका आधारभूत आवश्यकता के के छन् होला भनेर अवलोकन नगरी आफ्नो स्वार्थ सिद्ध गर्न यस्ता भ्यु टावर जस्ता थुप्रै ठाउँमा बजेट खर्चिएको छ ।

योजनाविहीन तरिकाले जथाभावी डोजर लगाउँदा गाउँबस्ती पहिरोको जोखिममा परेका छन् । मनपरि ढंगले बाटो खन्दा उत्पादनशील जग्गा र वनजङ्गल मासिएको छ । स्थानीय तहमा अधिकारको उपयोग गर्दा दिगो विकासको अवधारणालाई बेवास्ता गरिएको पाइन्छ । 

अब देशको समृद्धिको लागि नेपालीको भोको पेट र नाङ्गो शरीर अवलोकन गर्न सक्ने भ्यु टावरवाला जनप्रतिनिधि चाहिएको छ । अहिलेको वर्तमान परिस्थितिमा पहाडको टुप्पोमा फलाम, गिट्टी, सिमेन्ट र बालुवा मिश्रित खेलौना जस्तो भिजन विनाका निर्जीव भ्यु टावर चाहिएको छैन । 

नेपाली जनतालाई अवलोकन गर्न सक्ने हाड र छालाबाट बनेको निस्वार्थी, त्यागी, इमान्दार सजीव भ्यु टावर चाहिएको छ । जसले गरिब र दुःखी जनताको भ्युज अवलोकन र मनन् गर्न सकोस् । आशा गरौं आगामी निर्वाचनबाट एउटा सक्षम भिजन भएको जनताका भ्युज देख्न र बुझ्न सक्ने सजीव भ्यु टावर बनोस् । (लेखक पन्थी अमेरिकाको भर्जिनियामा बस्छन्) 
 



नयाँ