arrow

कैलालीमा एमालेलाई सिट जोगाउन सकस, नेकपा एस पछिपछि, कांग्रेस बलियो 

logo
सुनील आउजी,
प्रकाशित २०७८ चैत २१ सोमबार
congress-uml-maobadi-as-jasapa.jpg

धनगढी । निर्वाचनको मिति नजिकिदै जाँदा कैलालीमा स्थानीय तह निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेको छ । दलहरुले आ–आफ्नो पकड बढाउनका लागि सबै क्षेत्रमा चुनावी गतिविधिलाई तीव्रताका साथ सञ्चालन गर्न थालेका छन् । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा सकेसम्म बढी पालिकामा आफ्नो जित हासिल गर्न नेताहरु चुनावी प्रचारप्रसारमा जुटेका हुन् । 

जिल्लामा क्रियाशील ठूलासहित नयाँ साना दलले पनि चुनावी गतितिविधिलाई तीव्रताका साथ अगाडि बढाएका छन् । दलहरुले टोल कमिटी गठन गर्ने, सदस्यता वितरण गर्ने र विभिन्न एजेण्डा लिएर जनतामाझ पुग्ने कार्य गरिरहेका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कैलालीमा सबैभन्दा बढी सात पालिकामा नेकपा एमालेले जित हात पारेको थियो । 

नेपाली कांग्रेसले तीन, माओवादी केन्द्रले दुई पालिकामा जित दर्ता गरेको थियो । एउटा पालिकामा तत्कालीन थरुहट पार्टीले जितेको थियो । १३ मध्ये नेकपा एमालेले गोदावरी नगरपालिका, गौरीगङ्गा, घोडाघोडी, टीकापुर, लम्कीचुहा नगरपालिका, मोहन्याल र चुरे गाउँपालिकामा प्रमुख जितेको थियो । 

यसैगरी नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा जित हात पारेको थियो ।  माओवादी केन्द्रले कैलारी गाउँपालिका र भजनी नगरपालिकामा जितेको थियो । जानकी गाउँपालिकामा भने थरुहटले बाजी मारेको थियो । यो पार्टी कांग्रेसमा समाहित भएको छ । 

दलहरुले १३ वटै पालिकामा आ–आफ्ना चुनावी गतिविधि गरिरहेका छन् । एमालेलाई प्रभुत्व जोगाउने र थप बाजी मार्ने चुनौती छ । तर एमाले विभाजनसँगै कैलालीमा एमालेलाई जित हासिल गरेका पालिका जोगाउन सकस छ । 

कांग्रेसका उम्मेदवारसँग झिनो मतले विजय हासिल गरेका पालिकामा यसपालि एमालेले जित दाहोर्याउने सम्भावना कम देखिन्छ । कैलालीमा धनगढी उपमहानगरपालिका बाहेक अन्य पालिकामा एमाले पार्टीकै हाराहारीमा एमालेबाटै फुटेर खडा भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी देखिन थालेको छ । 

कांग्रेस र माओवादीले पहिलेको भन्दा राम्रो नतिजा ल्याउने प्रयासका साथ अगाडि बढेका छन् । नेकपा एस र नवगठित नागरिक उन्मुक्ति पार्टी पनि विभिन्न पालिकामा बाजी मार्ने दाउमा छ । 

त्यस्तै जनता समाजवादी पार्टीको गतिविधि पनि सञ्चालन भइरहेको छ । २०७४ को निर्वाचनमा सबैभन्दा बढी पालिकामा जित हात पारेको एमालेलाई यस पटक नतिजा रक्षा गर्न अप्ठेरो पर्ने देखिएको छ । सो पार्टी विभाजन भएपछि अब पहिलेको जस्तो बलियो छैन । 

नेकपा एसका उम्मेदवारले पनि एमालेको भोट काट्न सक्ने सम्भावना रहेको छ । यद्यपि स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी पालिकामा आफ्नो उम्मेदवार जिताउनका लागि एमालेले विभिन्न रणनीतिका साथ तयारी गरिरहेको सो पार्टीका नेता रणबहादुर चन्दले बताए । 

उनले एमाले कमजोर भएको पालिकामा चुनावी गठबन्धन गरेर अगाडि बढ्ने भन्ने कुरा पनि भइरहेको उल्लेख गरे । स्थानीय तहको अघिल्लो निर्वाचनमा तीन पालिकामात्रै चित्त बुझाएको नेपाली कांग्रेस यस पटक पहिलेको भन्दा राम्रो नतिजा ल्याउने कसरतमा जुटेको छ ।

जितेको पालिमामात्रै हैन हारेका पालिकामा सो पार्टीले चुनावी गतिविधिलाई व्यापक पारेको छ । धनगढी उपमहानगरपालिकालाई प्राथमिकतामा राखेर चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको कांग्रेस ‘घर घर जाउँ, कांग्रेस जिताउँ’ अभियान लिएर जनतासम्म पुगिरहेको छ । 

कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले चुनावलाई मध्यनजर गरेर जिल्लाको १२६ वटै वडामा प्रतिनिधि खटाइसकेको बताए । उनले बाहिर चुनावी प्रचारप्रसार तीव्र रुपमा भइरहेको उल्लेख गरे । 

अघिल्लो निर्वाचनमा दुई पालिकामामात्रै जित हात पारेको माओवादी केन्द्रले पनि विभिन्न पालिकामा आफ्नो चुनावी गतिविधिलाई व्यापक पारेको छ । 

सो पार्टीले पनि वडा, टोल कमिटी गठन गर्ने, जनतामाझ आफ्नो एजेण्डा राख्ने कार्य गरिरहेको छ । यस पटक २०७४ को चुनावको भन्दा पनि राम्रो परिणाम निकाल्ने उद्देश्यका साथ माओवादीले चुनावी गतिविधि गरिरहेको सो पार्टीका प्रदेश अध्यक्ष हरिप्रसाद चौधरी ‘उत्सव’ ले बताए । 

‘हिजोको भन्दा पनि राम्रो परिणाम ल्याउने गरी चुनावी गतिविधि गरिरहेका छौं’, उनले भने । त्यसो त कांग्रेस, माओवादी केन्द्र, नेकपा एस लगायतका दलको चुनावी गठबन्धनको कुरा पनि अगाडि बढाइएको छ । 

सबैको सहअस्तित्वलाई स्वीकारेर आवश्यकताअनुसार चुनावी गठबन्धन गरिने माओवादीक प्रदेश अध्यक्ष चौधरीले बताए । 

सरकार घटक गठबन्धन दलहरुबीच स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेरै अगाडि बढ्ने वा के गर्ने भनेर छलफल भइरहेका बेला यी दलहरुले चुनावी प्रचारप्रसार भने छुट्टाछुट्टै गरिरहेका छन् । 

त्यस्तै रेशम चौधरी समर्थित नागरिक उन्मुक्ति पार्टीले पनि कैलालीको विभिन्न पालिकामा कमिटी, संगठन विस्तारदेखि लिएर प्रसारप्रसारलाई तीव्रता दिएको छ ।

चौधरी जेलमा भए पनि उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा सो पार्टी यसै वर्ष गठन भएको हो । रेशम चौधरीको पकड क्षेत्र मानिने टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिकामा आफ्नो गतिविधिलाई व्यापक पारेको छ । 

यो पार्टीले कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिकामा पनि वडा, टोल समिति गठन गरेको छ । दलहरुले गाउँ गाउँमासमेत आफ्नो चुनावी प्रचारप्रसारलाई अगाडि बढाइसकेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ