arrow

बाँके ट्राफिकद्वारा लक्षभन्दा बढी राजश्व सङ्कलन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
banke-traffic.jpg

नेपालगञ्ज । बाँकेमा साढे तीन महिनाको अवधिमा ५८ सवारी साधन दुर्घटनामा परेका छन् । गत पुस १ गतेदेखि चैत्र १७ गते सम्मको अवधिमा साना तथा ठूला गरी ५८ सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । यो दुर्घटनाको सङ्ख्या पहिलाको तुलनामा कम हो । 

यो अवधिमा ट्रक ७ , टिपर ३, बस २, माइक्रो १, जिप ६, ट्याक्टर २, ट्याम्पो ३, मोटरसाइकल २९ र अन्य ४ सवारी साधन दुर्घटनामा परेको तथ्याङ्क ट्राफिक प्रहरीसँग छ । यी दुर्घटनाहरूमा १६ पुरुष, ४ महिला र २ बालकको ज्यान गएको छ । यस्तै २६ जना गम्भीर घाइते भएकोमा १९ पुरुष र ७ महिला छन् । १७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २ चौपायाको मृत्यु हुँदा ४ घाइते भएका छन् । दुर्घटनामा ३ लाख ८४ हजार रुपैयाँ क्षति भएको छ । 

पुस यता अहिलेसम्म १० हजार ९ सय सवारी साधन कारबाहीमा पर्दा ६० लाख २३ हजार रुपैयाँ राजश्व उठेको छ । मापसे गरेर कारबाहीमा परेको सङ्ख्या पनि उल्लेख्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । पुसमा ६४ जना सवारी चालक मापसे कारबाहीमा पर्दा ६४ हजार, माघमा २४ जनाबाट २४ हजार, फागुनमा ५२ जना मापसे कारबाहीमा पर्दा ५२ हजार र चैतको १७ गतेसम्म ५ जनाबाट ५ हजार राजश्व सङ्कलन भएको छ । 

बाँके जिल्लाभर अहिले १२ वटा ट्राफिक पोस्ट छन् । नेपालगञ्ज ट्राफिक पोस्ट, नेपालगञ्ज बसपार्क, फुल्टेक्रा, गनापुर, कोहलपुर हाइस्कुल, चप्परगौडी, शमशेरगञ्ज, उत्तर चिसापानी, कुसुम, सम्झना चोक, मदन चोक र खजुरा ट्राफिक पोस्ट बाँकेमा छन् । जिल्लाका सबै पोस्टहरूले सोचे अनुरूप नै काम गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए । 

दैनिक रुपमा चालक, सहचालक तथा पैदल यात्रीलाई समेत ट्राफिक सचेतना कार्यक्रम दिँदै आएको ट्राफिक प्रमुख शाहले बताए । "पहिले धेरै दुर्घटना हुन्थे, अहिले हामीले सचेतनाका कार्यक्रम गरिरहँदा दुर्घटनामा कमी आएको छ," शाहले भने । दैनिक मापसे जाँचमा कडाइ, नियमित चेकिङ भइरहेको शाहको भनाई छ । ट्राफिक प्रमुखमा शाह आएपछि ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गएको देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ