arrow

गठबन्धनका नाममा पेल्न खोजे सामूहिक विद्रोह गर्ने डडेल्धुरा कांग्रेसका नेताहरूको चेतावनी

logo
राम धामी,
प्रकाशित २०७८ चैत २२ मंगलबार
dadheldhra-congres.jpg

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराले सत्तारुढ गठबन्धनसँग चुनावी एकता गरेर स्थानीय तहको निर्वाचनमा होमिन निकै लचकता देखाइरहेका बेला जिल्लाका अधिकांश नेता कार्यकर्ताहरूले गठबन्धनका नाममा पेल्न खोजिएमा तत्काल सामूहिक विद्रोह गर्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस डडेल्धुराको सातौँ जिल्ला अधिवेशनका बेला जिल्लाभरिका चार सय ६० जना क्रियाशील सदस्यको नामावली काटेर माओवादीबाट समायोजनका नाममा तीन सय १२ क्रियाशील सदस्यता केन्द्रबाटै थप गरिएपछि छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिले निर्णय गरेर असन्तुष्टि जनाउँदै सातौँ जिल्ला अधिवेशनमा भाग लिएको थिएन ।

तत्कालीन जिल्ला कार्यसमितिको सहभागिता बिनै सातौँ जिल्ला अधिवेशन सम्पन्न गरिएकाले डडेल्धुरामा नेपाली कांग्रेस दुई खेमामा बाँडिएको छ । छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित सभापति कर्णबहादुर मल्लसहितका जिल्ला स्तरीय नेताहरूले पार्टी एकताका लागि अन्तिम अवस्थासम्म पहल गरिरहेको जनाएका छन् । 

तत्कालीन जिल्ला कार्यसमितिको सहभागिता बिना एकलौटी रूपमा सातौँ जिल्ला अधिवेशनबाट घोषित नेपाली कांग्रेस डडेल्धुराका सभापति भिमबहादुर साउँदले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीलगायतका दलहरूसँग मिलेर गठबन्धन गरेर निर्वाचनमा जाने तयारी थालेका छन् । यसअघि सात स्थानीय तहमध्ये चार स्थानीय तहको नेतृत्वमा रहेको नेपाली कांग्रेसले हाल तीन स्थानीय तहको नेतृत्व लिनेगरि गठबन्धन गर्ने सहमति भइरहेको राजनीतिक दलका नेताहरू बताउँछन् । यसअघि एक स्थानीय तहको नेतृत्व गरेको माओवादी केन्द्रलाई हाल तीन स्थानीय तह र एकीकृत समाजवादीलाई एक स्थानीय तहमा नेतृत्व दिने सहमति भइसकेको जनाइएको छ ।

कांग्रेसका इमानदार नेता कार्यकर्ताहरूलाई पाखा लगाएर गठबन्धनका नाममा अन्य राजनीतिक दलहरूसँग मिलोमतो गर्ने काम भएको भन्दै छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा जिल्ला स्तरीय नेताहरूले आसन्न स्थानीय तह निर्वाचनका लागि छुट्टै अभियान सञ्चालन गरिरहेका छन् । असन्तुष्ट नेता कार्यकर्ताहरूले आइतबार जिल्लाको भित्र मधेस क्षेत्रस्थित परशुराम नगरपालिका, सोमबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिका रहेको गन्यापधुरा र मङ्गलवार सदरमुकामस्थित अमरगढी नगरपालिकामा कार्यकर्ता भेलाको आयोजना गरेर गठबन्धनका नाममा थप पेल्न खोजिएमा सामूहिक विद्रोह गर्ने चेतावनी दिएका हुन ।

हालसम्म पार्टीलाई विधिसम्मत सञ्चालन गर्न पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवालाई पटक पटक आग्रह गरे पनि कुनै सुनवाइ नभएको र हाल आएर स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसँग गठबन्धन गर्ने नाममा पार्टीका इमानदार कार्यकर्ताहरूलाई पाखा लगाइएकोले समानान्तर गतिविधि सञ्चालन भइरहेको नेपाली कांग्रेस डडेल्धुराका नेता हरिप्रसाद भट्टले बताए । 

सातौँ जिल्ला अधिवेशनका बेला सभापति पदका प्रत्याशी रहेका भट्टले पार्टी नेतृत्वले विधि विधान मिचेर इमानदार कार्यकर्ताहरूलाई पेलेर लैजान खोजेकाले सामूहिक विद्रोहको विकल्प नभएको जिकिर गरे । उनले पार्टी नेतृत्वले टिकट नदिए पनि आफुले अमरगढी नगरपालिकाको नगरप्रमुखका लागि उम्मेदवारी घोषणा गरेर चुनावी अभियान सञ्चालन गरिरहेको बताए ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सहयोग पाएर पनि नेपाली कांग्रेस डडेल्धुराको छैटौं जिल्ला अधिवेशनमा पराजित भएर पार्टीका नेता कार्यकर्ता माझ अलोकप्रिय साबित भएका र २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा नराम्ररी पराजित भएर मतदाताहरूका बीचमा साख जोगाउन नसकेका पूर्व सभापति रघुबर भट्टले सातौँ जिल्ला अधिवेशनका क्रममा क्रियाशील सदस्यता विवादका कारण असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताहरूलाई गठबन्धनमा सहभागी नभए कारबाही गर्ने चेतावनी दिएका छन् । भट्ट सभापति देउवाका विश्वासपात्र नेता हुन ।

पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बेलामा गृह जिल्लामा गुटबन्दी चलाएर नेता कार्यकर्ताहरूमाथि अन्याय भइरहेकाले इमानदार नेता कार्यकर्ताहरू धर्मसंकटमा परिरहेको नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान उपसभापति करुणाकर भट्टले बताए । उनले कांग्रेसका नेता कार्यकर्ताहरू एक ढिक्का भएर स्थानीय तहको निर्वाचनमा होमिएमा डडेल्धुराका सात वटै स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ