मछिन्द्र क्लब एएफसी कप छनोटको पहिलो चरणबाटै बाहिरियो
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
2.7k
Shares
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप २०२२ छनोटको पहिलो चरणबाटै बाहिरिएको छ । मछिन्द्र मंगलबार श्रीलंकन सुपर लिग च्याम्पियन टोली ब्लु स्टार क्लबविरुद्ध घरेलु मैदानमा २–१ अन्तरले पराजित भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको २४औं मिनेटमा मोहम्मद इसानले ब्लु स्टारलाई अग्रता दिलाए । मोहम्मद फजलले क्विक फ्रिकिक प्ले गर्दै इसानलाई बल दिएका थिए । जसमा इसालने कुनै गल्ती गरेनन् ।
२८औं मिनेटमा सेनल सन्देशले घरेलु टोलीविरुद्धको अग्रता दोब्बर पारे । मध्यभागबाट आएको बलमा सन्देशले रन्जित धिमाललाई बिट गर्दै १८ यार्ड बक्सको बायाँतर्फबाट सहजै जाली दिशा दिए ।
इन्जुरी समयमा मनिष डांगीको क्रसमा कप्तान सुजल श्रेष्ठले सान्त्वना गोल फर्काएका थिए । त्यसअघि नवौं मिनेटमा नुर्लान नोभ्रुजोभले गोलको सुनौलो मौका खेर फाले । मैदानको मध्यभागबाट विमल घर्तीमगरले निकालेको पासमा नुर्लानले वान अन वानमा गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।
१५औं मिनेटमा ब्लु स्टारले पाएको पेनाल्टी रोक्दै गोलकिपर विशाल श्रेष्ठले मछिन्द्रको ठुलो संकट टारे । डिफेन्डर ओमोलाजा करिमले सेनल सन्देशमाथि पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि ब्लु स्टारले पेनाल्टी पाएको थियो । ब्लु स्टारका जेरी ओमबेबेले दाहिनेतर्फ गरेको प्रहार विशालले पन्च गरिदिए ।
दोस्रो हाफमा निरन्तर आक्रमण बुनेका मछिन्द्रले बललाई जाली चुमाउन भने सकेन ।