- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मैथिली भाषा तथा साहित्यको संवृद्धिका लागि राज्यबाट हुनुपर्ने सहयोग गराउनका लागि आफू तयार रहेको बताएका छन् ।
अध्यक्ष नेपालले मैथिली भाषा तथा संस्कृतिको इतिहास ५ हजार वर्ष पुरानो रहेकोसमेत बताए । बुधबारदेखि जनकपुरधाममा मैथिली विकास कोषको आयोजनामा शुरु भएको “जनकपुर साहित्य, कला तथा नाट्य महोत्सव” को उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाललेअधिकारको प्राप्तिका लागि घृणा नभइ सद्भाव एवं सहकार्यको आवश्यकता भएको बताए ।
अध्यक्ष नेपालले यसको विकासका लागि यस्ता प्रकारको महोत्सव महत्त्वपूर्ण भएको जानकारी गराए। नेपालले आफू प्रधानमन्त्री भएको बेलामा नै विद्यापति कोषको स्थापना गरेको जानकारी गराउदै भने, मुलुकको विविधतालाई सही किसिमले व्यवस्थापन गर्न आवश्यक रहेकोमा जोड दिए ।
त्यस्तै महोत्सव कार्यक्रममा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संविधान प्रदत्त अधिकार अनुरुप मधेस सरकारले प्रदेशको कामकाजी भाषाको घोषणा छिट्टै गर्न लागेको बताए ।
प्रदेशको कामकाजी भाषा सम्बन्धी विधेयक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले एक महिनाभित्र विधेयक प्रदेश सभामा दर्ता हुने र प्रदेश सभाबाट पारित भए लगतै मधेश प्रदेश आफनै भाषामा सरकारी कामकाज शुरु गर्ने ठोकुवा गरे।
मधेस सरकार प्रदेश भित्रका भाषा संस्कृतिको संरक्षण सम्बद्र्धन गर्न प्रतिबद्ध रहेको बोल्दै मुख्यमन्त्री राउतले मधेश भाषा साहित्य प्रज्ञा प्रतिष्ठान गठनको तैयारी अन्तिम चरणमा समेत पुगेको जानकारी गराए।
मधेश प्रदेशका प्रमुख भाषाहरु मैथिली , भोजपुरी, बज्जिका लगायतका भाषा संस्कृतिको संरक्षण गठन गर्न लागेको प्रतिष्ठानले गर्नेमा आफू विश्वस्त रहेको बताए ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश अध्यक्ष जितेन्द्र सोनल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, योजना आयोगका सदस्य डा सुरेन्द्र लाभ, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले मैथिली भाषा तथा साहित्यका बारेमा बोलेका थिए ।
उद्घाटन कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले मैथिली विकास कोषले प्रदान गर्दै आएको डा धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७७ भाषा वैज्ञानिक डा रामअवतार यादव र सलहेश सांस्कृतिक पुरस्कार २०७७ डा। आभास लाभलाई प्रदान गरेका छन् ।
त्यसैगरी डा धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७८ साहित्यकार महेन्द्र मिश्र र सलहेश सांस्कृतिक पुरस्कार २०७८ गायक रामा मण्डललाई प्रदान गरे। दुवै पुरस्कारमा ५१ हजार नगद, सम्मान पत्र तथा दोसल्ला रहेका हुन्।
२५ गतेसम्म चल्ने कार्यक्रममा विभिन्न प्रकारका गीत सङ्गीत, नृत्य, झाँकी प्रदर्शन हुनेछ ।