arrow

चैत्र छठ मनाइँदै : भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
chitra-chhat.PNG

जनकपुर । आज जनकपुरधामसहित मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक चैत्र छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको तेस्रो दिन आज बर्तालुले विभिन्न जलाशयमा गई अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिन्छन् भने भोलि शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।

कार्तिकमा मनाइने छठ पर्व जतिको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू नभए पनि बिस्तारै बिस्तारै चैत्र छठ पर्व गर्नेहरूको सङ्ख्या पनि बढ्दै गएको नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व अध्यक्ष उमेश साहले बताए । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ ।

व्रतालुहरूले ‘नहाय-खाय’ विधिबाट छठ पर्वको प्रारम्भ गरेका र पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन रहेका छन् । 

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व रहेका हुन् । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेस प्रदेशको प्राचीन छठ जनजन परिचालन हुने महापर्व मानिन्छ जानकारहरू बताउँछन्।

पर्वको पहिलो दिन ‘नहाय-खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिर मात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोबलिएर अर्घ्य्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अर्घ्य्य दिएर पर्व सम्पन्न गरिन्छ । यो विधिलाई ‘भोरका अरख’ भनिन्छ ।

छठ पर्वमा ठकुवा, भुसुवा (कसार)सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री बर्तालुले अर्घ्यका बेला सूर्यतर्फ देखाउने गर्छन् । छठ सूर्य र सूर्य पत्नी षष्टिको उपासनाको पर्व हो । 

यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्ठरोग निवारणका लागि गरेका र त्यसै बेलादेखि प्रारम्भ भएको मानिन्छ ।व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास रहेका छन् ।

चैत्र छठजस्तै चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवरात्र (चैते दशैँ) पनि सुरु भएको छ । चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म वसन्ती नवरात्र मनाइन्छ ।

सम्पूर्ण ऊर्जाको श्रोत मानिने सूर्यको उपासना गरि धार्मिक आस्थाको चैत्र छठ पर्व आज जनकपुरधामको गंगासागर, धनुषसागर र अङ्गराज सर लगायत पवित्र जलाशयको घाटमा श्रद्धा एवं भक्ति पूर्वक मनाइँदै छ । 

प्रकृति प्रति ठुलो आस्था रहेको प्राचीन मिथिलाको छठ महापर्व प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी र चैत्र शुक्ल षष्ठी तितीका दिन जनकपुर लगायत तराई मधेसको विभिन्न नदी तलाउको पवित्र जलाशयमा कठोर व्रत बसी उत्साह पूर्वक मनाउने गरिन्छ । 

जीवनको मुख्य आहार मानिने मुख्यतः धान र गहुँ बाली भित्र्याउनु पूर्व, यी बालीको उत्पादनमा प्रकृतिको मुख्य भूमिका र योगदान प्रति आस्थावान् कृषिसँग प्रत्यक्ष अप्रत्यक्ष आबद्ध तथा सरोकार राख्ने व्यक्ति र परिवारले विशेष गरी यो पर्व मनाउने गरेको पाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ