दार्चुला । दार्चुला जिल्लामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङ जिल्लामा सिँचाइ परियोजनाको निर्माणका लागि भारत सरकारले ७ करोड ८ लाख आर्थिक सहयोग गर्ने भएको छ ।
जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनाको निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् क्रमशः दुहुँ गाउँपालिका, दार्चुला, नौगाड गाउँपालिका, दार्चुला र गल्छी गाउँपालिका, धादिङ्काबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
भारत सरकारको आर्थिक सहयोगमा भारत-नेपाल विकास सहकार्य अन्तर्गत निर्माण हुन लागेका सामुदायिक विकास परियोजनाहरूको कूल अनुमानित लागत ७ करोड ८ लाख रहेको छ । ३ करोड ३७ लाख लागतमा जनविकास माध्यमिक विद्यालय, २ करोड ५३ लाख लागतमा इरकोट स्वास्थ्य चौकी भवन र १ करोड १७ लाख लागतमा महेशफाँट सिँचाई परियोजनाको निर्माण गरिनेछ ।
यी परियोजनाहरूको निर्माणले स्थानीय बासिन्दाहरूलाई राम्रो शिक्षा र राम्रो स्वास्थ्य सेवा सुविधा प्रदान गर्नुका साथै कृषि र बाली उत्पादन बढाउन स्थानीय किसानहरूलाई मद्दत गर्नेछ । यसबाट स्थानीयहरूलाई जीवन निर्वाह गर्न सजिलो हुनुका साथै उनीहरूको आर्थिक स्थितिमा पनि सुधार आउनेछ ।
नेपालका सातै वटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा अन्य सार्वजनिक संरचनाहरूको निर्माण जस्ता विविध क्षेत्रहरूमा सन् २००३ यता भारतले ५२४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरू सम्पन्न गरिसकेको छ ।
त्यसमध्ये दार्चुला जिल्लामा ६ वटा परियोजनासहित प्रदेश ७ मा ३२ वटा परियोजनाहरूलाई अघि बढाइएको छ भने धादिङ जिल्लामा ३ वटा परियोजनासहित प्रदेश ३ मा १०२ वटा परियोजनाहरूलाई अघि बढाइएको छ ।