arrow

उपभोक्ताको स्वास्थ्यमा खेलबाड, पालिकाहरु बेखबर, म्याद गुज्रेका सामग्री छ्यापछ्याप्ती

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७८ चैत २५ शुक्रबार
bazar-anugaman-syangja.jpg

स्याङ्जा । दैनिक उपभोग्य सामग्री व्यवसाय गरेका २३ पसलमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन भएको छ । म्याद गुज्रेका सामग्रीहरुको बिक्री वितरण गरेको जनगुनासो आएपछि प्रशासनले जिल्ला सदरमुकाम पुतलीबजारमा अनुगमन गरेको हो । 

सदरमुकामस्थित उपभोक्ताले दैनिक उपभोग गर्ने कृषि, पशु र खाद्यान्न बिक्री गर्ने पसलहरु अनुगमन गरेको थियो । खाद्यान्नका १४, तरकारी १, मासुजन्य ५, रेष्टुरेन्ट २ गरी २३ पसलहरुमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । 

अनुगमनबाट प्रशासनले म्याद गुज्रेका दैनिक उपभोग्य सामग्री बरामद गरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीको नेतृत्वमा उपभोक्ता हित मञ्च, स्वास्थ्यकर्मी, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी लगायतको सहभागितामा पसलहरु अनुगमन गरिएको प्रशासनले जनाएको छ । 

मासु पसल, फलफुल पसल र खाद्यान्नका पसलहरुमा अनुगमन गरी म्याद गुज्रेका सामग्रीहरु बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिइन् । 

बजारको अवस्था सामान्य देखिएको छ प्रजिअ रेग्मीले भनिन्, ‘पहिलो प्राथमिकता नागरिकको स्वास्थ्यसँग जोडिएकाले कृषि, पशु र खाद्यान्नमा हाम्रो जोड हो ।’ 

‘यसको दायरा बढाउदै अन्य पसलहरुमा पनि हाम्रो अनुगमन हुनेछ’, उनले भनिन् । अनुगमन गरिए पनि प्रशासनले कारबाही भने अहिलेसम्म कसैलाई गरेको देखिएको छैन । सुझाव दिने कामले मात्र बजारमा उपभोग्य बस्तुमाथि व्यवसायीको मनोमानी देखिने गरेको छ । 

यसको नियन्त्रण र दैनिक अनुगमन गर्ने अधिकार पाएको स्थानीय पालिकाहरु भने बेखबर जस्तै बनेका छन् । 

स्थानीय निकायले बजार अनुगमन गरी उपभोक्ताहरुलाई स्वास्थ्य सामग्री र चर्को मुल्य असुलीबाट बचाउनु आवश्यक देखिएको उपभोक्ता हित मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले बताए । 

व्यवसायीक र उपभोक्त विच सचेतना कार्यक्रम गर्नुपर्ने अवस्था देखिएको उनले बताए । जनताको नजिकको सरकार भनेको स्थानीय निकाय हो उनले भने, ‘स्थानीय निकाय नै उपभोक्तमुखी नभएको देखिँदा नागरिकको स्वास्थ्यमा खेलवाड भएको छ ।’ 

‘प्रशासनको भूमिका राम्रो भए पनि ऐनले स्थानीय सरकारलाई बजार अनुगमनको अधिकार दिएको छ’ उनले भने । बजारमा पेय पदार्थ, बिष्कुट, चाउचाउ लगायतका दैनिक उपभोग्य हुने बस्तुहरुको म्याद गुज्रेको पाइएको बताइएको छ । 

दुई मासु पसललाई भने बिक्रीस्थल सुधार गरी ७ दिनभित्र जिल्ला प्रशासनमा हाजिर हुन निर्देशन दिएको जनाएको छ । 

अन्य अनुगमन गरिएका पसलहरुमा भने सचेत गराइएको प्रशासनले जनाएको छ । यसमा खरिद बिक्रीकर्ताहरु नै चनाखो हुनुपर्ने अवस्था देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ