arrow

कास्कीमा ९ को मातृ मृत्यु, पोखराका मात्रै ५ जना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
deth-pregnant-women.jpg

पोखरा । आर्थिक वर्ष २०८०/८१ मा कास्कीमा नौ जना मातृ मृत्यु भएको छ । जसमा पोखराका मात्रै पाँच जना छन् । गर्भवतीदेखि सुत्केरी भएको ४२ दिनसम्मका महिलाको मृत्युलाई मातृ मृत्यु भन्ने गरिन्छ ।

पोखरा महानगर स्वास्थ्य महाशाखाकी नर्सिङ निरीक्षक सविना श्रेष्ठका अनुसार पोखरा-१६ की २५ वर्षीया नीलम पुन, पोखरा-१४ की ३५ वर्षीया रुपा लामा, पोखरा-३० की १८ वर्षीया सम्झना विक, पोखरा-८ की रोशनी क्षेत्री र पोखरा २९ की सावित्री सुनारको मृत्यु भएको हो ।

पुुन र लामाको अपरेसन गरी बच्चा निकालिसकेपछि जटिलता भएपछि मृत्यु भएको हो । गर्भवती अवस्थामा सम्झना विकको घर नजिकैको बारीबाट लडेर मृत्यु भएको हो ।

रोशनीको आँफैले पेट्रोल खन्याएर आगो लगाएको र सुनारले कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

उनका अनुुसार चालुु आवको साउन यता एक महिलाको मृत्यु भएको छ । पोखरामा गत आव २०८०/८१ म ६ हजार महिला सुुत्केरी हुने अनुमान गरिएकोमा १० हजार आठ सय २० जना सुत्केरी भएका थिए ।

पोखरा महानगरको मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समितिको हालै सम्पन्न बैठकले मातृ मृत्यु दर न्यूनीकरण र २८ हप्ताको गर्भदेखि जन्मेको एक हप्तासम्मको नवजात शिशुको मृत्यु दर घटाउने र आमा तथा शिशुको सुरक्षाबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको निरीक्षक श्रेष्ठले जानकारी दिइन् ।

पहिलो प्राथमिकता आमा तथा शिशुको सुरक्षामा ध्यान दिने गरी योजना बनाएर समुदायमा कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत समितिले गरेको छ । उनले मातृ मृत्युलाई कम गराउन स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्वि गर्ने र पूूर्वाधारयुक्त बनाउन जनशक्ति थप गर्नुपर्ने कार्यमा समितिले पहल गर्नुपर्ने बताइन् ।

गभर्वतीको मृत्यु हुने बित्तिकै त्यसका बारेमा अध्ययन गर्ने, चिकित्सकले गर्भवतीको मृत्युको कारण पत्ता लगाउने र समितिसमक्ष प्रतिवेदन प्रस्तुत गरेपछि आगामी कार्ययोजना तयार गर्ने निर्णयसमेत भएको श्रेष्ठले बताइन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रसुती तथा स्त्री रोग विभागका प्रमुख डा. डेला सिंहले सूचीकृत स्वास्थ्य संस्थाबाहेक अन्य ठाँउबाट गर्भपतन गराउन नहुने बताइन् । यसका लागि अझै पनि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताइन् ।

गण्डकी मेडिकल कलेजकी डा. ऋचा श्रेष्ठले जनशक्तिको अभावले सेवा प्रवाहमा समस्या रहेको भन्दै जनशक्ति थप गर्नुुपर्ने खाँचो औँल्याइन् ।

नेपाल परिवार नियोजनका संघका नवराज तिवारीले परिवार नियोजन सेवा कार्यक्रम किशोर-किशोरीसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ