- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। स्वावलम्बन विकास केन्द्रको संयोजनमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आगामी चैत २८ र २९ गते काठमाडौँ हुँदै छ। सम्मेलनमा लघुवित्त कार्यक्रम सञ्चालन गरेका २ सय वटा संस्थाहरूबाट ६ सय जना सदस्य तथा संस्था प्रतिनिधिहरूको सहभागिता रहने केन्द्रले जनाएको छ। सम्मेलनमा ७९ वटा लघुवित्त वित्तीय संस्था र १ सय ५० वटा सहकारी संस्थाहरूले ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरी रहेको र उनीहरू सम्मेलनमा सहभागी हुने केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताए।
अध्यक्ष श्रेष्ठका अनुसार लघुवित्त वित्तीय संस्थाहरूको मात्र ४ सय ३० अर्ब रुपैँया भन्दा बढी कर्जा लगानीमा भएको र जसमध्ये ३ सय ७१ अर्ब रुपैयाँ खुद्रा र ६९ अर्ब थोक कर्जा प्रदायक लघुवित्त संस्थाहरूले लगानी गरेका छन्। २०७५ साल सम्म २७ लाख मानिसले लघुवित्त सेवा प्राप्त गरेको दाबी केन्द्रको छ।तीन वर्षको अवधिमा लघुवित्त सेवा प्राप्त गर्नेहरूको सङ्ख्या सत प्रतिशत भन्दा धेरै बढेको जनाइएको छ। करिब ५४ लाख ५० हजार महिला तथा १ लाख ५० हजार पुरुषहरूले यो सेवा प्राप्त गरेका छन्। मुलुकभर ४ हजार ९ सय ६५ शाखा मार्फत २३ हजार २ सय ८१ लघुवित्तकर्मीहरू लघुवित्त सेवामा संलग्न रहेको दाबी संस्थाको रहेको छ। ‘घर घरमा उद्यम फैलाऊँ, गरिबिलाई शून्य बनाऊँ’ भन्ने मूल नारासहित तेस्रो सम्मेलनको आयोजना गरिन लागेको श्रेष्ठले बताए।
शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागी सदस्यहरूलाई कार्यक्रम पश्चात् स्वच्छ लघुवित्त अभियानमा सहभागी गराई गाउँ गाउँमा परिचालन गरिने जनाइयो। केन्द्रले समाजका विपन्न र पिछडिएको वर्गको आर्थिक तथा सामाजिक उत्थानका लागि भूमिका निर्वाह गर्दै आएको जनाएको छ।
केन्द्रले सामुदायिक विकास कार्यक्रमको माध्यमबाट मुलुकभरका दुर्गम तथा विकट जिल्लाका बासिन्दाहरूको आर्थिक तथा सामाजिक उत्थानमा सहयोग पुर्याउँदै समेत जनाएको छ। यसका साथै बैङ्किङ सुविधाबाट वञ्चित भई आफ्नो सीप परिचालन गर्ने अवसर पाउन नसकेका विपन्न परिवारका मानिसहरू, खास गरी महिलाहरूलाई स्वावलम्बन बैङ्किङ कार्यक्रमको माध्यमबाट विभिन्न आयमूलक कार्यक्रमका लागि बिना धितो स–साना कर्जा सेवा उपलब्ध गराउँदै आएको जनाइएको छ।
केन्द्रले सन् २०११ मा आफ्नो सम्पूर्ण लघुवित्त कार्यक्रम बैङ्कलाई हस्तान्तरण गरिसकेको छ। गुणस्तरीय, माग आधारित र सुलभ मूल्यमा नेपालको लघुवित्त क्षेत्रलाई तालिम प्रदान गर्ने यस केन्द्रको मुख्य रणनीति रहेको जनाएको छ। आफ्नो कार्यविधिमा बदलाव ल्याउँदै प्रत्यक्ष रूपमा लघुवित्त सेवा प्रदान नगरी ग्रामीण तथा सामुदायिक विकासमा संलग्न संस्थाहरूका जनशक्तिहरूको क्षमता वृद्धिमा टेवा पुर्याउने, विभिन्न विषयमा तालिम प्रदान गर्ने एक सबल संस्थाका रूपमा आफूलाई स्थापना गर्ने गरी संस्थालाई अगाडी बढाएको बताइएको छ।
वर्तमान समयमा यस केन्द्रले लघुवित्त क्षेत्रेलाई सुदृढीकरण गर्ने आफ्नो कार्य योजना विस्तार गर्दै विभिन्न विकास बैङ्क, लघुवित्त विकास बैङ्क, सहकारी संस्था एवं वित्तीय मध्यस्थता गर्ने गैरसरकारी संस्था तथा ‘क’ वर्गका बैङ्कहरूलाई लक्षित गरी समय समयमा तालिम प्रदान गर्दै आइरहेको छ। यसका साथै विभिन्न अन्तर्राष्ट्रिय सघं सस्थाहरुमा अध्ययन÷अवलोकन भ्रमणका कार्यक्रमहरू सचालन समेत गर्दै आइरहेको छ।
लघुवित्त क्षेत्रमा बढ्दै गइरहेको अनियमितता र विकृतिहरूलाई मध्यनजर गर्दै सोही सम्बन्धमा लघुवित्त क्षेत्रका सरोकारवालाहरूसँग वार्ता कार्यक्रमहरू सचांलन गर्दै आएको समेत जनाएको छ।
आगामी दिनहरूमा केन्द्रले उच्च गुणस्तरीय तालिम प्रदान गर्ने, समय सापेक्ष वार्ता कार्यक्रमहरू सचांलन गर्ने तथा लघुवित्त क्षेत्र सम्बन्धी विभिन्न अनुसन्धान गर्ने दृढ सङ्कल्पका साथ अगाडी बढिरहेको अध्यक्ष श्रेष्ठको भनाई छ। सोही अवधारण अनुसार तीन वर्षमा ३० लाख विपन्न परिवारमा लघुवित्त सेवा विस्तार गरेको समेत जनाइएको छ। लघुवित्तको सिद्धान्त मर्म, एवं भावना अनुरूप विपन्नहरू पनि ऋण योग्य हुन सक्छन्, विपन्नलाई कर्जा सेवाबाट आर्थिक समुन्नति तिर उन्मुख बनाउन, आत्म सम्मान र स्वाभिमानसँग बाँच्न सक्ने हैसियत बनाउन सकिन्छ भन्ने कुरा प्रमाणित भैसकेको अध्यक्ष श्रेष्ठको दाबी छ।
कर्जाको सदुपयोग गरी विपन्न वर्ग पनि आफ्नो सीप, साधन र दक्षता अभिवृद्धि गर्दै उद्यमी वनेका र आत्मनिर्भर भई उन्नतिको खुड्किलो चढ्न सक्षम बनाउने यो केन्द्रको उद्देश्य हो। सेवा विस्तारको नाममा कतिपय ठाउँमा विपन्न वर्ग भन्दा टाठाबाठा र हुनेखानेले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लघुवित्त सेवाको फाइदा लिई रहेको जनाउँदै यसरी दिएको कर्जा टाठाबाठाहरूले दुरुपयोग गर्ने गरेकालाई नियन्त्रण गर्न समेत सहयोग केन्द्रले उनले बताए।
लघुवित्तकर्मी, लघुवित्त सदस्य र नीति निर्माता तथा नियामक निकाय एउटै थलोमा भेला भएर अन्तर्कथा हुनु जरुरी ठानेर हरेक २ वर्षमा राष्ट्रिय स्तरको सम्मेलन गर्ने तय गरिएको जनाइएको छ। कोभिडका कारण यसअघि हुन नसकेको सम्मेलन केन्द्रले आयोजना गर्न लागेको हो।
राष्ट्रिय स्तरको यो सम्मेलनपछि बाँकी रहेका प्रदेशहरूमा पनि गरिने अध्यक्ष श्रेष्ठले बताए। यसअघि प्रादेशिक रूपमा दुई वटा प्रदेशमा सम्मेलन आयोजना गरिसकेको केन्द्रले जनाएको छ।