- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेको घरघर जाऔँ, काँग्रेस जिताऔँ अभियान सफल रहेको बताएको छ। एक महिने अभियान सकिएपछि मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा.प्रकाश शरण महतले एक महिने अभियान अत्यन्तै सफल रहेको बताए।
'धेरै भ्रम फैलाइएको थियो। एमसीसीबारे ठुलो खालको भ्रम छरिएको रहेछ। विकास निर्माणका कामबारे पनि भ्रम फैलाइएको थियो। त्यो सबै भ्रम चिर्न सफल भयौँ,' उनले भने।
पाँच वर्षे म्यान्डेट पाएर अधुरै छोडेका केपी ओली नेतृत्वको पार्टीलाई किन जिताउने भन्नेबारे पनि जनधारणा बुझ्ने मौका मिलेको उनको भनाइ छ।
'घरघरमा गएर जनताको धारणा नजिकबाट बुझ्नै मौका पायौँ। चुनावी तालमेलका विषयमा पनि उहाँहरूको धारणा कस्तो छ ? त्यो बुझ्ने मौका मिल्यो,' डा. महतले भने। स्थानीय तह निर्वाचनका लागि पार्टीको अवस्था कस्तो छ भन्ने विषयमा पनि नजिकबाट बुझ्ने मौका मिलेको उनको भनाइ छ।
स्थानीय तह लक्षित गरेर काँग्रेसले गत २९ फागुनदेखि एक महिने अभियान सञ्चालन गरेको थियो। अभियानमा काँग्रेसका केन्द्रीय प्रतिनिधिहरू गाउँघर केन्द्रित भएका थिए। अभियानको क्रममा केन्द्रीय प्रतिनिधिहरूलाई गाउँघरमा काँग्रेसबारे जनताको धारणा, पार्टीबारे फैलाइएका भ्रम चिर्ने, चुनावी तालमेल गरेर अघि बढ्ने विषयमा जनताको धारणालगायतका विषय बुझ्ने म्यान्डेट पाएका थिए।
एक महिने अभियान सकेर केन्द्रीय प्रतिनिधिहरू सबै काठमाडौँ फर्किँदै छन्। उनीहरूले आफूलाई खटाइएको जिल्लाको वस्तुस्थितिबारे प्रतिवेदन बुझाउनुपर्ने छ।