arrow

गठबन्धन गर्ने तयारीमा मोरङ काँग्रेस

logo
विवेक मिश्र,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
morang1.PNG
फाइल तस्बिर

मोरङ। स्थानीय निर्वाचनमा एक्लै चुनावी मैदानमा लड्न तयार रहेको भन्दै अधिकांश पालिकामा एक्लै जित्ने दाबी गर्दै आएको नेपाली काँग्रेसले अहिले गठबन्धन गर्ने मनस्थिति बनाएको देखिएको छ। २०७४ सालको निर्वाचनको मत भार र हालको सङ्गठनको वास्तविक अवस्थाको बारेमा अध्याय गरेर गठबन्धन गर्न सकिने नेपाली काँग्रेस मोरङका सचिव ललित श्रेष्ठले बताए।

सत्ता गठबन्धनका दलहरूको बुधवार बसेको बैठकले गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरेको छ। जसमा काँग्रेसले पनि गठबन्धन गर्ने विषयमा सहमति जनाएको अन्य पार्टीका नेताहरूले बताएका छन्। बैठकले पालिकामा कसको अवस्था के भन्ने विषयमा अध्ययन गर्न र कसलाई नेतृत्व दिँदा ठिक हुन्छ भन्ने विषयमा सुझाव पेस गर्न एक कार्यदल पनि बनाएको छ। कार्यदलमा माओवादी केन्द्रका मोरङ संयोजक विजय विश्वास, काङ्ग्रेसबाट जिल्ला उपसभापति भक्ति नाथ माझी, एकीकृत समाजवादीबाट डाक्टर उद्धव पोखरेल र जसपाबाट जिल्ला अध्यक्ष राजकुमार यादव रहेका छन्।

कार्यदलले दुई दिनभित्रमा जिल्लाका १७ वटै पालिकाको अवस्थाबारे रिपोर्ट तयार पार्ने र त्यस आधारमा पालिका विभाजनको सुझाव दिने कार्यादेश पाएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका प्रदेश सचिव महेश रेग्मीले जानकारी दिए। उनले भने, ‘कार्यदलको सुझावबारे यहाँका पार्टीहरू फेरि बसेर माथिल्लो समितिमा सिफारिस गर्नेछ।’

सोही अनुसार कार्यदलका तर्फबाट आफूहरू छलफल गरिरहेको र रिपोर्ट निर्माणको क्रममा रहेको माओवादी मोरङका संयोजक विजय विश्वासले जानकारी दिए। यसअघि काँग्रेसका केही साथीहरूले गठबन्धनमा इच्छा नदेखाएजस्तो देखिएको भए पनि बुधबारेको बैठक र त्यसले लिने निर्णयपछि मोरङमा चारदल बिचमै तालमेल हुने प्रस्ट भएको उनले बताए।

जनता समाजवादी पार्टीका नेता जयराम यादवले बैठक निक्कै सकारात्मक भएको बताए। उनले काँग्रेसको केन्द्र बाटै जिल्लालाई निर्देशन आएजस्तो लागेको बताउँदै भने,‘अरू दिनको भन्दा राम्रो ढङ्गले उहाँहरू प्रस्तुत हुनुभएको थियो।’काँग्रेस गठबन्धनभन्दा दायाँबायाँ हुने सम्भावना नरहेको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ