arrow

छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप : प्रदर्शनले उग्र रूप लिँदा विद्यालयमा ठूलो क्षति

logo
सन्जय भट्टराई,
प्रकाशित २०७९ वैशाख ५ सोमबार
222222.jpg

नवलपुर । नवलपुरको गैँडाकोटमा रहेको जनक माध्यमिक विद्यालय आइतबार एकाएक रण मैदान बन्यो । विद्यालयले क्षतिको विवरण सार्वजनिक नगरे पनि करोडको हाराहारीमा भौतिक क्षति भएको घटना पछि विद्यालय हातामा गएर हेर्दा अनुमान लगाउन सकिन्छ ।

विद्यालयका प्रधानाध्यापक र घटनाका आरोपित शिक्षकको मोटरसाइकलमा आगजनी भयो, विद्यालयको विज्ञान प्रयोग शाला, कम्प्युटर प्रयोगशालामा पूर्ण रूपमा क्षति पुगेको छ भने विद्यालयका डेस्क बेन्च, पङ्खा, गमला, कुर्सी टेबल, शौचालय , खानेपानीको धाराहरूमा ठूलो क्षति पुगेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६० सेल अश्रुग्याँस प्रहार गर्नु पर्‍यो भने प्रहरी निरीक्षक सहित ८ जना प्रहरी सामान्य घाइते भए ।

घटना के थियो त ?
गत चैत २८ गतेका दिन विद्यालयमा अध्यापन गराउने शिक्षक कपिल घिमिरेले सोही विद्यालयकै कक्षा १२ मा पढ्ने १७ वर्षीय छात्रालाई अश्लील भिडियो देखाएको र अश्लील शब्द प्रयोग भएको आरोप लाग्यो । जुन आरोप आइतबार विद्यालय प्रशासनमा आइसके पछि दुवै पक्ष राखेर छलफल गर्ने क्रममा विद्यार्थीहरूले शिक्षकलाई कारबाहीको माग गर्दै प्रदर्शन शुरु गरे, विद्यार्थीको प्रदर्शन चर्किँदै गए पछि इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी बोलाइयो, प्रहरी विद्यालय हातामा प्रवेश गरे पछि विद्यार्थीको प्रदर्शनले चर्को रूप लियो तोडफोड र आगजनीको घटना घट्यो ।

शिक्षक माथि यौन दुर्व्यवहारको आरोप लागे पछि कानुनी प्रक्रिया नबढाईकन छलफलबाट टुङ्गो लगाउन लागिएको र आरोपित शिक्षकलाई उन्मुक्ति दिन लागिएको भन्दै विद्यार्थीले विद्यालय हाता भित्र प्रदर्शन गर्दा एकाएक प्रहरी आए पछि तोडफोड र आगजनी भएको एक जना स्थानीयले बताए । "आरोपित शिक्षकलाई कानुनी कारबाहीको लागि प्रहरीको पठाएको भए घटनाले उग्र रूप लिने थिएन, विद्यालयको सम्पत्ति जोगिने थियो," उनले भने ।

विद्यालयको तर्फबाट क्षतिको विवरण सार्वजनिक नगरे पनि करोडको हाराहारीमा क्षति भएको विद्यालयका शिक्षकहरू बताउँछन् । "प्रशासनमा उजुरी आइसके पछि समयमै सम्बोधन गरेको भए विद्यालयको भौतिक संरचना जोगाउन सकिने थियो तर ढिलो गरेर छलफल गराइयो, त्यसै माथि विद्यालय हातामा प्रहरीको प्रवेश भए पछि आक्रोशित विद्यार्थी तोडफोडमा उत्रिए" ती शिक्षकले बताए ।

आरोपित शिक्षक कपिल घिमिरेलाई आइतबार नै जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको नवलपुर प्रहरी प्रवक्ता सन्तोष पाठकले बताए । उनका अनुसार सोमबार (आज) पीडितको पक्षबाट जाहेरी आउने र म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने तयारीमा नवलपुर प्रहरी रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ