- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले तीन महानगरपालिकामा मात्रै मेयरको उम्मेदवार उठाउने भएको छ। पाँच दलीय गठबन्धनबीच भागबन्डा मिलाउँदा काँग्रेसको भागमा काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिका परेको हो। जहाँ यसले मेयरका लागि मात्र उम्मेदवारी दिन पाउनेछ।
त्यस्तै तीन उपमेयरका लागि उम्मेदवारी दिन पाउनेछ। वीरगन्ज, पोखरा र भरतपुर महानगरपालिकामा काँग्रेसको भागमा उपमेयर परेको छ। यस हिसाबले ६ वटा महानगरमा काँग्रेसले तीन महानगरमा मेयर र तीन महानगरमा उपमेयरको सिट पाएको हो।
जबकि २०७४ सालको स्थानीय तह निर्वाचनमा काँग्रेसले ललितपुर र विराटनगर महानगरपालिकामा मेयर र उपमेयर दुबैमा जितेको थियो। त्यस्तै पोखराबाहेक सबै महानगरपालिकामा उपमेयर जितेको थियो।
२०७४ को निर्वाचनमा महानगरमा मेयर र उपमेयर गरी सात जना जितेको काँग्रेसले २०७९ को स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर गरी ६ सिट पाएको छ। त्यसमा पनि सबै सिटमा जित हात पार्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन। जति सिट पाएको छ ती सबैमा जिते पनि काँग्रेस महानगरमा अघिल्लो चुनावको तुलनामा कम सिटमा जित्नेछ।
काँग्रेसले २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका मेयर र उपमेयर दुबैमा जितेको थियो। मेयरमा चिरिबाबु महर्जनले २४ हजार ६ सय ४२ मत लिएर जितेका थिए। एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार ३२६ मतान्तरले पराजित भएका थिए। उनले २४ हजार ३१६ मत पाएका थिए।
उपमेयरमा पनि काँग्रेसकै गीता सत्याल १९ हजार ८१९ मत पाएर विजयी भएकी थिइन् । साझा पार्टीकी शोभा शाक्य ५ हजार ५७९ मतान्तरले पराजित भएकी थिइन् । उनले १४ हजार २४० मत ल्याएकी थिइन् । ललितपुरमा २०७४ सालको निर्वाचनमा एक लाख १२ हजार ९२३ मतदाता थिए । अहिले एक लाख २२ हजार ८९० मतदाता छन् ।
काठमाडौँ महानगरपालिकामा २०७४ सालका निर्वाचनमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य विजयी भएका थिए । उनले ६४ हजार ९१३ मत पाएका थिए । काँग्रेस उम्मेदवार राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए । विद्यासुन्दरले १९ हजार बढी मतान्तरले जोशीलाई पराजित गरेका थिए ।
उपमेयरमा भने काँग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी थिइन् । उनले ५८ हजार ९५२ मत पाउँदा उनका प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका थिए । काठमाडौँ महानगरपालिकामा २०७४ सालमा दुई लाख ७९ हजार ३०९ मतदाता थिए । अहिले तीन लाख २४२ मतदाता छन् ।
त्यस्तै काँग्रेसले मेयरमा दाबी गरेको अर्को महानगर हो, विराटनगर । विराटनगर महानगरपालिकामा मेयर र उपमेयर दुवै काँग्रेसले जितेको थियो । मेयरमा काँग्रेसका भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की (इन्दु) विजयी भएका थिए । पराजुलीले २३ हजार ३१ मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत पाएका थिए ।
उपमेयरमा कार्की २० हजार १४६ मत पाएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५२४ मत पाएकी थिइन् । २०७९ को निर्वाचनका लागि विराटनगरमा काँग्रेसले मेयरको लागि मात्र सिट पाएका छ । उपमेयर भने जसपाले पाएको छ । २०७४ को निर्वाचनमा एक लाख १३ हजार ७६१ मतदाता थिए भने अहिले एक लाख ३३ हजार १४२ मतदाता छन् ।
२०७४ को निर्वाचनमा मेयर र उपमेयर एमाले विजयी भएको पोखरा महानगरपालिकामा यसपालि काँग्रेसको भागमा उपमेयर परेको छ । एकीकृत समाजवादीको भागमा मेयर परेको छ । जसले गर्दा त्यहाँ अहिले पनि विवाद चलिरहेको छ । काँग्रेस नेता कार्यकर्ताहरूले पार्टी कार्यालयमा तालाबन्दी नै गरेका छन् ।
वीरगन्ज महानगरपालिकाको उपमेयर काँग्रेसको भागमा परेको छ । २०७४ सालको निर्वाचनमा काँग्रेसकै शान्ति कार्की १९ हजार ६०० मत पाएर विजयी भएकी थिइन् । मेयरमा भने तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी विजयी भएका थिए । उनी अहिले एमाले प्रवेश गरेका छन् । एमालेको तर्फबाट उनले नै टिकट पाउने प्रबल सम्भावना छ । सत्तारूढ गठबन्धनबाट भने जसपाको भागमा मेयरको सिट परेको छ ।
महानगरमा घाटा, उपमहानगरमा फाइदै
११ वटा उपमहानगरपालिकाको भागबन्डा पनि टुङ्गो लागिसकेको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच उपमहानगरको भागबन्डा मिलेको छ।
भागबन्डा अनुसार ७ वटा उपमहानगरको मेयर काँग्रेसको भागमा परेको छ। त्यस्तै चार उपमेयर काँग्रेसको भागमा परेको छ। २०७४ सालको निर्वाचनमा सुरुमा काँग्रेसले दुई वटा उपमहानगरमा मात्र मेयर जितेको थियो। तीन उपमेयरमा विजयी भएको थियो । पछि उपनिर्वाचनमा काँग्रेसले धरानको मेयर पनि जितेको थियो।
२०७४ सालको निर्वाचनमा काँग्रेस धनगढी र कलैया उपमहानगरको मेयरमा विजयी भएको थियो। धनगढी, नेपालगन्ज र कलैयामा उपमेयर जितेको थियो। धनगढी र कलैया काँग्रेसले मेयर र उपमेयर दुवै पदमा जितेको थियो।