arrow

कांग्रेस हेटौंडाले समाजवादी मेयर नमान्ने, निर्णय नसच्याए एक्लै चुनाव लड्ने

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ वैशाख ७ बुधबार
congress nagar samiti.png

हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका समितिले हेटौंडाको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय सच्याउन माग गरेको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै कांग्रेस हेटौंडा नगर समितिका अध्यक्ष उत्सव इटेनीले ५ दलीय गठबन्धनको केन्द्रले गरेको निर्णय पुनरावलोकन गर्न माग गरेका हुन् ।

यदि केन्द्रले हेटौंडाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय नसच्याए मित्रवत् प्रतिस्पर्धा गर्दै कांग्रेस एक्लै चुनावमा जाने उनले जानकारी दिए ।

'नगरको गठबन्धनमा आबद्ध दलहरूमध्ये सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको नेतृत्वमा चुनावमा सहभागी हुन गठबन्धनका दलहरू समेत तयारी रहेको अवस्थामा केन्द्रीय स्तरबाट भएको भागबन्डाले गठबन्धनको आवश्यकता र औचित्यसमेत पूरा गर्न नसक्ने गरी भएको यस निर्णयलाई पुनरावलोकन गरी गठबन्धनको वास्तविक आवश्यकता र औचित्यसमेत पुष्टि गर्ने गरी नेपाली काँग्रेस पार्टीले मेयर पद पाउने गरी गठबन्धन दलहरुबीच सहमति, सहकार्य र एकताको साथ अघि बढ्ने वातावरण तयार गरिदिनुहुन पार्टी नेतृत्वसमक्ष जोडदार माग गरिन्छ' । जारी विज्ञप्तिमा भनिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको बस्तुगत अवस्थाबारे यसअघि नगर समितिका तर्फबाट पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई जानकारी गराए पनि बेवास्ता भएको इटेनीको भनाइ छ ।

सोमबार गठबन्धनको केन्द्रको बैठकमा भागवण्डाको ड्राफ्ट जाँदा हेटौंडाको मेयर एकीकृत समाजवादीको भागमा पर्नासाथ कांग्रेस नगर समितिले बैठक नै बसेर कुनै हालतमा मेयर पद नछोड्ने निर्णय गरेको थियो । बैठकबाट हेटौंडाको मेयरमा कांग्रेसबाहेक अन्य दललाई स्विकार्न नसकिने निर्णय भएको थियो । 

त्यसअघि समितिले मेयरका लागि आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम क्षेत्रीय र जिल्ला समितिमा सिफारिस गर्ने निर्णय गरेको थियो । तर मङ्गलवार राती गठबन्धनको बैठकले हेटौंडा समाजवादीको भागमा राखेपछि कांग्रेस भित्र चरम असन्तुष्टि बढेको छ ।

उता नगर समितिको निर्णयमाथि कुनै प्रतिक्रिया नदिएको कांग्रेस जिल्ला समिति भने पार्टीको निर्णय मान्नुपर्ने अडानमा छ । नगर समितिले मेयर नछोड्ने बरु गठबन्धन नै नगर्ने निर्णय मङ्गलवार गरे पनि कांग्रेस जिल्ला समिति भने केन्द्रीय गठबन्धनको निर्णय मानेर अघि बढ्नुपर्नेमा अडिग छ ।

कांग्रेस जिल्ला सचिव भीमसेन महत केन्द्रको निर्णय मान्नुको विकल्प नरहेको बताउँछन् । उता हेटौंडा नगर समितिले भने एक्लै चुनावमा जाने बताएको छ । यसले  कांग्रेस नगर समिति र जिल्लाबीच टकराब देखिएको छ ।

हेटौंडाको मेयरमा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष श्रीधर पोख्रेल र उपाध्यक्ष तथा वर्तमान उपमेयर मिनाकुमारी लामाको नाम सिफारिस भैसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ