arrow

कांग्रेस कास्कीले गठन गर्‍यो संसदीय समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
pokhara-congres-kaski.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीले संसदीय समिति गठन गरेको छ । पार्टीको शुक्रवार बिहान सम्पन्न बैठकले सभापति किशोरदत्त बरालको सभापतित्वमा संसदीय समिति गठन गरेको हो । 

संसदीय समितिमा उपसभापति द्वय युवराज कुँवर, रामबाबु भण्डारी, सचिवद्वय देवेन्द्र रानाभाट र भानु ढकाल, सहसचिवद्वय शङ्कर ढुङ्गाना र नवीन सिग्देल छन् ।

जिल्ला सदस्यहरु मध्येबाट सुदीप मोहन भट्टराई, गंगाधर पराजुली, बाबुराम गिरी, चौबहादुर गुरुङ, सीता शर्मालाई समिति सदस्यमा मनोनीत गरिएको छ । जिल्ला संसदीय समितिलाई स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको टिकट वितरण गर्ने अधिकार विधानले दिएको छ । 

यस्तै, गाउँ, नगर वडाका अध्यक्ष र सदस्यको उम्मेदवारी प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले तय गर्छ । कांग्रेसको विधानअनुसार जिल्ला कार्यसमितिका सभापति जिल्ला संसदीय समितिका सभापति र सचिव जिल्ला संसदीय समितिको सचिव हुन्छन् । जिल्ला कार्यसमितिका पदाधिकारी भने जिल्ला संसदीय समितिका पदेन सदस्य हुन्छन् । 

जिल्ला सभापतिले जिल्ला कार्यसमितिका सदस्यमध्येबाट प्रस्ताव गरी जिल्ला कार्यसमितिले अनुमोदन गरेका बढीमा पाँच जना सदस्य समितिमा रहने व्यवस्था छ । 

बैठकले युवक लामिछानेको संयोजकत्वमा अनुशासन समिति पनि गठन गरेको जिल्ला सदस्य पराजुलीले जानकारी दिए । उनका अनुसार बैठकले समितिमा रामजी कोइराला र चन्द्रमाया गुरुङलाई सदस्य मनोनीत गरेको छ ।  

बैठकमा सभापति बरालले गठबन्धनमा रहेका दलहरूसँगको चुनावी तालमेल र हालसम्मको प्रगति र अन्य दलसँग गरिएको बैठक र दलहरूले पालिका र वडामा गरेको दाबी बारे जानकारी गराएका थिए ।



नयाँ