arrow

उम्मेदवार तय गर्दै कांग्रेस कार्यसम्पादन समितिको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १० शनिबार
congress-karyasampadan-committee.jpg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले ११ बजेदेखि बस्दैछ । यसअघि हिजो दिउँसो २ बजे बस्ने भनिएको बैठक सरेर आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बस्ने गरी सारिएको हो । 

हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पटक पटक बैठकमा बस्नु परेका कारण सम्भव हुन सकेको थिएन । आजको बैठकमा स्थानीय तह निर्वाचनको महानगरपालिकाका मेयरका उम्मेदवारको टुङ्गो लगाउने छ । 

सहमहामन्त्री बद्री पाण्डेका अनुसार कांग्रेसको भागमा परेका तीन महानगरका मेयरका उम्मेदवारको टुङ्गो यो बैठकले लगाउने छ । सत्ता गठबन्धनबीचको सहमतिअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयरमा उम्मेदवारी दिनेछ । त्यस्तै बाँकी महानगरमा उपमेयरमा उम्मेदवारी दिनेछ । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि कांग्रेसले निर्देशानुसार अनुरोधसमेत गरेको छ । 

सकस छ उम्मेदवारी चयनमा
कांग्रेसको केन्द्रले महानगरका उम्मेदवार मात्रै चयन गर्ने हो । त्यो काम सजिलो भइहाल्यो । तर उपमहानगरदेखि नगरपालिका र गाउँपालिकामा उम्मेदवार चयन गर्न कांग्रेसलाई सकस छ । महानगरकै सवालमा समेत ६ मध्ये ३ महानगर छाड्नु परेकामा आफूहरुले किन छाड्ने भन्दै कांग्रेसका स्थानीय नेताहरु विद्रोहमा उत्रिएका छन् भने यो श्रृंखला गाउँपालिका र वडातहसम्मै पुगेको छ । 

कांग्रेसका अधिकांश नेता कार्यकर्ताको चाहना बिना गठबन्धन नै चुनाव लड्ने रहेको छ । तर केन्द्रबाट जारी गरिएको निर्देशन तोड्न उनीहरुलाई मुस्किल परिरहेको छ । जुन ठाउँमा कांग्रेसले प्रमुख पाउने भयो त्यहाँ केही हदसम्म पार्टीका नेता कार्यकर्ता नरम भएको भए पनि नेतृत्व नै गठबन्धनका अन्य दललाई सुम्पनु पर्ने र कांग्रेस कार्यकर्ताले उनीहरुलाई मतदान गर्नुपर्ने भएपछि निराश छन् । 

र पनि केन्द्रको निर्णय तोड्न उनीहरुलाई कठिन भइरहेको छ । अर्कातर्फ उम्मेदवार चयन गर्न पार्टीलाई सकस परेको छ । सहमहामन्त्री पाण्डे भन्छन्, ‘जिल्लातिर साथीहरु निराश छन् । उनीहरुलाई मिलाउन नेतृत्व जाँदैन । हामीहरु नै खटिनु परेको छ । मुस्किल छ । कसरी मिलाउने हो ।’

निर्वाचन आयोगले यही बैशाख ११ र १२ गतेलाई उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ । तर गठबन्धनबीचको तालमेल पूर्णरुपले हुन नसकेको स्थितिमा आकांक्षीहरु निकै चिन्तामा छन् । 
 



नयाँ