arrow

घोषणापत्रमा उल्लेखित ८० प्रतिशत काम सुन्दरहरैँचामा पूरा : मेयर ढकाल

logo
विवेक मिश्र,
प्रकाशित २०७९ वैशाख ११ आइतबार
sivaprasad-dhakal.PNG

मोरङ । सुन्दरहरैँचा नगरपालिकाले २०७४ सालमा जनप्रतिनिधि आएपछि नगरमा भएका कामहरूको विवरण आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । ५ वर्षमा भएका काममध्ये नगर प्रमुख शिवप्रसाद ढकालले मुख्य ४९ वटा काम सार्वजनिक गरेका हुन् । त्यसका साथै भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका कामहरू उनले सार्वजनिक गरेका हुन् ।

 नगर प्रमुख भएपछि जिम्मेवारी पूरा गर्ने क्रममा आग्रह-पूर्वाग्रह नराखी आफूले काम गरेको हुनाले कार्यसम्पादनमा आफूलाई कुनै दलबाट पनि बाधा नभएको हुनाले आफ्नो कार्यकाल स्मरणीय रहेको उनले उल्लेख गरे । चुनावमा गरिएका घोषणापत्रका ६४ बुँदामध्ये ४९ बुँदा कार्यान्वयनमा आएको र केही बुँदा प्राविधिक कारणले कार्यान्वयनमा समस्या भएको उनले जानकारी दिए ।

जनप्रतिनिधि आएपछि ३५ बेड क्षमताको नगर अस्पताल सञ्चालन हुनु, ४ वटा वडा कार्यालयको भवन निर्माण हुनु, ५ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनु, प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास हुनु, १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्रलाई ५० बिघा जग्गा उपलब्ध गराई तालीम केन्द्र निर्माणका लागि पहल गर्नु महत्त्वपूर्ण उपलब्धि भएको बताइएको छ ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठ गाउँमा ल्याउन समन्वय गर्नु, सुविधा सम्पन्न कृषि बजार भवन निर्माणका लागि शिलान्यास हुनु, कोल्ड स्टोर भवन निर्माणका लागि शिलान्यास हुनु, इन्द्रपुर रङ्गशाला निर्माणका लागि डीपीआर निर्माण भई पूर्वाधार निर्माण हुँदै गर्नु, सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्‍याउनुजस्ता महत्त्वपूर्ण काम गत ५ वर्षमा भएको नगरप्रमुख ढकालले जानकारी दिए ।

कोभिड सङ्क्रमणको महामारीको समयमा संक्रमितलाई घरमै औषधी पुर्‍याउन सक्नु, अक्सिजनको अभाव हुन नदिनु, अस्पताल भर्नामा समन्वय गरी औषधोपचारमा कमी हुन नदिनु महत्त्वपूर्ण काम रहेको उनले बताए । हालसम्म नगरमा १ लाख ७७ हजार २ सय ४२ डोज कोभिडविरुद्धको खोप आएको र सो खोप नगरवासीलाई लगाइसकिएको पनि उनले जानकारी दिए ।

पछिल्लो ५ वर्षको अवधिमा १७७ किलोमिटर बाटोमा पेवल्स बिछ्याउने वा कालोपत्रे गर्ने काम भएको, १५३ किलोमिटर सडक एजिङ भएको तथा १३ किलोमिटर पक्की ड्रेन निर्माण भएको उनले जानकारी दिए । पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका विषयमा भएका उपलब्धि मेयर ढकालले सो अवसरमा सार्वजनिक गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ