- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । पाँचथरमा स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा ९०६ जनाले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय फिदिमका अनुसार १४ वटा वडा रहेको फिदिम नगरपालिकामा सबैभन्दा बढी २३७ जनाको उम्मेदवारी परेको छ । फिदिम नगरपालिकामा नगर प्रमुख पदमा छ जना र उपप्रमुख पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै १४ वटा वडाका वडाध्यक्षको पदमा ५६ जनाले उम्मेदवारी दिएका छन् १४ जना महिला सदस्य पदमा ४४ जना, दलित महिला सदस्य पदमा ३० जना तथा प्रत्येक वडामा दुई-दुई जनाका दरले रहने सदस्य पदमा ९७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सात वडा वडा रहेको जिल्लाको फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष पदमा पाँच जना, उपाध्यक्ष पदमा चार जना, वडाध्यक्ष पदमा २४ जना, महिला सदस्य पदमा १६ जना, दलित महिला सदस्य पदमा १५ जना र खुला सदस्य पदमा ३५ जनाले उम्मेदवारी दिएका छन् । फाल्गुनन्दमा कूल ९९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष पदमा छ जना, उपाध्यक्ष पदमा चार जना र आठ वटा वडाका वडाध्यक्ष पदमा ३० जनाले उम्मेदवारी दर्ता गराउका छन् । मिक्लाजुङमा महिला सदस्य पदमा १९ जना, दलित महिला सदस्य पदमा १८ जना तथा खुल्ला सदस्य पदमा ४८ जना गरी कूल १२५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
पाँच वटा वडा रहेको जिल्लाको कुम्मायक गाउँपालिकाको अध्यक्ष पदमा चार जना तथा उपाध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ पाँच जना वडाध्यक्षका लागि १८ जना, महिला सदस्य पदमा १३ जना, दलित महिला सदस्य पदमा ११ जना र खुला सदस्य पदमा ३२ जना गरी कूल ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सबैभन्दा कम मतदाता रहेको जिल्लाको तुम्बेवा गाउँपालिकाको अध्यक्ष पदमा तीन जना तथा उपाध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । पाँच वटा वडा रहेको यहाँ वडाध्यक्ष पदमा १७ जना, महिला र दलित महिला सदस्य पदमा समान १०–१० जना तथा खुला सदस्य पदमा २७ जना गरी कूल ६९ जना उम्मेद्वार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय फिदिमले जनाएको छ ।
यस्तै हिलिहाङ गाउँपालिकाको अध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी दिँदा उपाध्यक्षमा दुई जनाको मात्रै उम्मेदवारी परेको छ । सात वटा वडा रहेको यो गाउँपालिकामा वडाध्यक्ष पदमा २२ जना, महिला र दलित महिला सदस्य पदमा समान १४/१४ जना र खुल्ला सदस्य पदमा ३३ जना गरी कूल ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
याङवरक गाउँपालिकाको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका छन् । छवटा वडा रहेको यस गाउँपालिकामा वडाध्यक्ष पदमा १८ जना, महिला सदस्य पदमा १५ जना, दलित महिला सदस्य पदमा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । खुला सदस्यमा ३१ जनाले उम्मेदवारी दिएको यस गाउँपालिकामा कूल ८५ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका फालेलुङ गाउँपालिकाको अध्यक्ष पदमा पाँच जना तथा उपाध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् । आठ वटा वडा रहेको यस गाउँपालिकामा वडाध्यक्ष पदमा ३० जनाको उम्मेदवारी परेको छ । महिला सदस्य पदमा २१ जना, दलित महिला सदस्य पदमा १४ जना र खुला सदस्य पदमा ४३ जना गरी यस गाउँपालिकामा कूल ११७ जना उम्मेदवार छन् ।
जिल्लाका आठ स्थानीय तहको प्रमुखमा ३७ जना तथा उपप्रमुख पदमा २७ जनाले उम्मेदवारी दिएका छन् । साठी वडामा एक/एक जना निर्वाचित हुने वडाध्यक्ष पदमा २१५ जना, महिला सदस्य पदमा १५२ जना, दलित महिला सदस्य पदमा १२६ जना उम्मेदवार बनेका छन् । १२० जना वडा सदस्य पदमा ३४६ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आठ वटा स्थानीय तह रहेको पाँचथरमा नेकपा (एमाले) र सत्तारुढ गठबन्धनवीच तीव्र प्रतिस्पर्धा हुँदैछ । पाँचथरमा एक लाख ४० हजार २२४ मतदाता छन् । उनीहरूले आसन्न स्थानीय तहको निर्वाचनमा १०१ मतदानस्थलमा रहेका १७६ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । रासस