arrow

काठमाडौँ महानगर : सिर्जना सिंहका सात सङ्कल्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
sirjana-singh-ktm-mayor.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले सात सङ्कल्प अघि सारेकी छिन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सात सङ्कल्प अघि सारेकी हुन् । 

उनले सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित सहरको सङ्कल्प अघि सारेकी छिन् । त्यस्तै संस्कृति, सम्पदा र सभ्यता, सबल र समुन्नत पूर्वाधार, सबल युवा स्वावलम्बी महिला र सृजनशील महानगरवासीको सङ्कल्प अघि सारेकी हुन् । 

उनले काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएको खण्डमा फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा राख्ने बताइन् । त्यसका लागि उनले जिरो वेष्ट म्यानेजमेन्ट अवधारणा अघि सारेकी छिन् । ‘घरबाट निस्किएको फोहोर घरभित्रै व्यवस्थापन गर्न सकियो भने सयमा सय म्यानेजमेन्ट गरियो भने फोहोर जिरो हुनेछ ,’ सिंहले भनिन् । 

काठमाडौँ महानगरभित्र देखिएको बाटोघाटो समस्या पनि समाधान गर्ने उनको प्रतिबद्धता छ । ‘काठमाडौँलाई हिँड्न योग्य सहर बनाउनेछु । प्रदूषणरहित सहर, ट्राफिक जाममुक्त सहर बनाउनेछु । जताततै खाल्टाखुल्टी रहेको सडक व्यवस्थापन गर्नतिर लाग्नेछु,’ सिंहले आफ्नो प्रतिबद्धतामा भनिन् । 

आफू महिला प्रतिनिधि भएकाले महिलाको पीडा देखेको र भोग्दै आएको भन्दै ती समस्या समाधानका लागि प्राथमिकता दिने बताइन् । ‘एउटा महिला प्रतिनिधि भएकाले महिलाहरूको लागि विशेष योजना अघि सार्नेछु । काठमाडौँमा विभिन्न किसिमका महिलाहरू छन् । आर्थिक विपन्नता भएका महिलाहरू पनि छन्,’ उनले भनिन्, ‘विपन्न वर्गका महिलाहरूलाई लक्षित गरेर श्रमको सम्मान गर्दै विशेष राहत प्याकेज ल्याउनेछु । घरमा बस्ने महिलाको श्रमको कुनै सम्मान छैन । उनीहरूका लागि विशेष प्याकेज ल्याउनेछु ।’ 

काठमाडौँमा रहेका विदुर पुरुषहरू पनि समस्या रहेको भन्दै उनीहरूको लागि समेत विशेष राहतको प्याकेज ल्याउने बताइन् । सबैभन्दा पहिला काठमाडौँलाई मध्यरातमा पनि झिलिमिली सहरको रूपमा विकास गर्ने उनको प्रतिबद्धता छ । ‘महिला दिदीबहिनीलाई राति एक्लै हिँड्न सुरक्षा छैन । काठमाडौँमा सबैभन्दा पहिला झिलिमिली बनाउनेछु । राति पनि काम गर्ने महिलाहरूलाई सुरक्षित छ भन्ने बनाउँछु,’ उनले भनिन् ।

आफू एक दिन रातभर एक्लै काठमाडौँमा हिँडेर मध्यरातमा पनि महिलाको लागि सुरक्षित छ भन्ने सन्देश दिने उनले बताइन् । बालबच्चासहितका श्रमिक महिलाहरूको लागि समेत विशेष व्यवस्था गर्ने उनको योजना छ । ‘काठमाडौँमा सामुदायिक स्कुलसँग समन्वय गरेर शिशु स्याहार केन्द्र स्थापना गर्नेछु । जसले गर्दा आमालाई आफ्नो बच्चा सुरक्षित छ भन्ने हेक्का हुनेछ,’ उनले भनिन् ।   

महानगरमा बेरोजगार युवाहरूको सिप अनुसारको स्वरोजगार बनाउने उनको भनाइ छ । खेलकुद क्षेत्रमा पनि विशेष कार्य योजना बनाउने उनको भनाइ छ । त्यस्तै ज्येष्ठ नागरिकहरूलाई रिफ्रेस हुनको लागि रिफ्रेसमेन्ट सेन्टर बनाउने उनको योजना छ । उनीहरूको स्वास्थ्यमा पनि विशेष योजना अघि सार्ने उनको भनाइ छ । 

त्यस्तै विपन्न परिवारहरूलाई वडा वडाहरूमा निःशुल्क स्वास्थ्यको व्यवस्था गराउने उनको भनाइ छ । सुविधा सम्पन्न अस्पताल निर्माण गर्नतिर पनि ध्यान दिने बताइन् ।  

प्रत्येक सार्वजनिक स्थलमा शुद्ध खानेपानीको व्यवस्था गर्ने उनको योजना छ । काठमाडौँमा शौचालयको समस्या विद्यमान रहेको भन्दै त्यसका लागि सार्वजनिक स्थलमा निःशुल्क शौचालयको व्यवस्था गर्ने बताइन् ।  



नयाँ