arrow

विराटनगर विमानस्थलमा आगोको मुस्लो !

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
biratnagarairport.JPG

मोरङ ।  विराटनगर विमानस्थलमा आज बिहान आगोको ठूलो मुस्लोसहितको धुँवा, वारुणयन्त्र र एम्बुलेन्सको साइरनले यस क्षेत्रका वरिपरि बस्ने नागरिकलाई ठूलो दुर्घटना भएको आशङ्काले त्रसित बनाएको थियो । 

विमानस्थलमा आज बिहान गरिएको ‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास कार्यक्रमले यस क्षेत्रका वरिपरि बस्ने नागरिकलाई ठूलो दुर्घटना भएको आशङ्काले त्रसित बनाएको थियो । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास गरिएको नागरिक उड्ययन कार्यालय विराटनगरले जनाएको छ ।  

यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देखिएको थियो । ‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास गरिएको थाहा पाएपछि स्थानीयवासीले राहत गरेका थिए । विराटनगरबाट उडान भरेको विमान आकाशमा चरासँग ठोक्किदाँ पुनः विराटनगर आकस्मिक अवतरणको क्रममा भएको दुर्घटनामा यात्रुहरुलाई उद्धार, उपचार र अस्पतालसम्म पुर्‍याउने कार्यक्रमको पूर्वअभ्यास गरिएको नागरिक उड्ययन कार्यालयले जनाएको छ । 
    
पूर्व  पूर्णकालीन अभ्यासमा विमानका यात्रुहरुको जीवन रक्षा, उद्धार कार्यका लागि विमानस्थलको दुई थान वारुणयन्त्र, विभिन्न अस्पतालका छ एम्बुलेन्स, चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, उड्डयन कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । 
    
अभ्यासका क्रममा एउटा स्थानमा आगो लगाई एउटा बसलाई विमान बनाएर सोमा रहेका यात्रुको जीवन बचाउने, उद्धार गर्ने, आवश्यक उपचार दिने सम्बन्धमा प्रयोगात्मक अभ्यास कार्य गरिएको थियो । सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दुर्घटनामा पर्ने यात्रुको जीवनरक्षाका लागि सम्बन्धीत सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । 
    
विमानस्थलका कार्यालयका प्रमुख उत्सवराज खरेलले यस प्रकारको अभ्यासले आकस्मिक दुर्घटना हुँदा यात्रुको जीवन रक्षामा सहयोग पुग्ने विचार व्यक्त गरे। यस प्रकारको पूर्व पूर्णकालीन अभ्यास प्रत्येक दुई-दुई वर्षमा काठमाडाँै बाहिर विराटनगर, पोखरा, भैरहवा नेपालगञ्ज, धनगढीलगायतका विमानस्थलमा हुने गरेको कार्यालयका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ